सशस्त्र प्रहरी बलको टोलीले अहिले ‘कोशी नदीको बहाव खतराको तह पार गरिसकेको’भन्दै अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन माइकिङ गरिरहेको छ।
काठमाडौँ — सप्तकोशी नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ। पानीको बहाव बढेर खतराको तह नाघेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।
सशस्त्र प्रहरी बलको टोलीले अहिले ‘कोशी नदीको बहाव खतराको तह पार गरिसकेको’भन्दै अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन माइकिङ गरिरहेको छ।
‘कुनै समस्या परे नजिकको सुरक्षा निकायलाई खबर गरिदिनु होला,’ सशस्त्र प्रहरीका जवानहरुले भनिरहेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार, बिहान ९ बजे पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्यूसेक मापन भएपछि ब्यारेजका सबै ढोका खोलिएका छन् ।
पानीको बहावमा निरन्तर भइरहेको वृद्धिलाई मध्यनजर गरेर ब्यारेजको पुलबाट आवतजावत गर्न समेत रोक लगाइएको सीडीओ पोखरेलले बताएका छन् । कोशीमा बाढीको सम्भावना रहेको भन्दै भारतको बिहानस्थित सुपौल जिल्लाले समेत शनिबारदेखि नै सतर्कता अपनाइरहेको छ ।
