इलाम पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या २३ पुग्यो

१२ जनाभन्दा धेरै बेपत्ता छन् भने माङसेबुङको पहिरोपीडितको उद्धारका लागि हेलिकोप्टर मगाउने प्रयास भइरहेको छ ।

आश्विन १९, २०८२

लक्ष्मी गौतम

Ilam landslide update: The death toll has reached 23

पाँचथर — इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका-६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ ।

यस्तै, देउमाई नगरपालिका-५ धुसेनीमा २, धारेमा १, सन्दकपुर गाउँपालिका-१ छाँगेमा १, माइजोगमाई गाउँपालिका-५ प्याङमा ४, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको सम्बन्धित पालिकाका जनप्रतिनिधि र स्थानीयले बताएका छन् ।

सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका  बेपत्ता भएकी छन् ।  त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा २ जना गम्भीर घाइते भएका छन् ।

विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ भने माङसेबुङको पहिरोपीडितको उद्धारका लागि हेलिकोप्टर मगाउने प्रयास भइरहेको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully