लखन्देहीको बाढीले बाँध भत्काउँदा ४ सयभन्दा बढी घर डुबानमा

बाढीले सर्लाहीमा हुलाकी सडक बगायो

आश्विन १९, २०८२

ओमप्रकाश ठाकुर

More than 400 houses were inundated when the flood in Lakhandehi broke the dam

What you should know

सर्लाही — अविरल वर्षापछि आएको बाढीले सर्लाहीको कौडेना गाउँपालिका–२ र ३ स्थित हुलाकी सडक बगाएको छ, जसले यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ डुबानमा परेको छ ।

लगातारको वर्षाका कारण लखन्देही नदीमा आएको बाढीले कौडेनास्थित हुलाकी सडक बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ । बाढीले करिब १५ मिटर पक्की हुलाकी सडक भत्काएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, नदीले बाँध भत्काउँदा शिवनगर गाउँ डुबानमा परेको छ । लखन्देही नदीले बाँध भत्काउन सुरु गरेपछि यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार बलरा नगरपालिका–२ मा पनि सयौं घर डुबानमा परेका छन् । जिल्लाका अन्य प्रभावित बस्तीहरूमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, लखन्देही नदीमा आएको बाढीका कारण जिल्लामा अत्यधिक क्षति भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र क्षतिग्रस्त क्षेत्रको तथ्याङ्क संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले प्रभावितलाई सुरक्षित स्थानमा सार्ने र अस्थायी राहत शिविर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

भारी वर्षाका कारण जिल्लामा बिजुली अनियमित बनेको छ भने विभिन्न स्थानमा मोबाइल नेटवर्कले काम नगर्दा स्थानीय समस्यामा परेका छन् ।

थप  विवरण : वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]

ओमप्रकाश

Link copied successfully