बर्दिवासमा निर्माणाधीन प्लेटफर्म नजिक खाल्टो खनेर थुप्रिएर माटोमा बनेको ड्याममा वर्षाको पानी जमेर बस्तीमा पसेको हो ।
What you should know
जनकपुर — मोहत्तरीको बर्दिवास नगरपालिका–१४ का रेलमार्ग प्रभावित १४ घर अविरल वर्षाले डुबानमा परेको छ ।
बर्दिवासमा निर्माणाधीन प्लेटफर्म नजिक खाल्टो खनेर थुप्रिएर माटोमा बनेको ड्याममा वर्षाको पानी जमेर बस्तीमा पसेको हो ।
भारत सरकारको सहयोगमा निर्माणाधीन रेल्वे स्टेशनको अधुरो ड्याममा जम्मा भएको पानी घर–घरमा पसेपछि स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ ।
स्थानीय गणेश हमाल, सुधर्शन हमाल, जानकी शाही, आशा मल्ल र अम्बिका अधिकारी लगायतका घरहरूमा पानी पसेर क्षति पुर्याएको छ । उनीहरूको अनुसार पानी पसेर घर बस्न लायक छैन ।
पीडित परिवारहरूले रेल्वे मुआब्जा (क्षतिपूर्ति) पाएका छैनन् । मुआब्जा नपाउँदा उनीहरूले न आफ्नो घर मर्मत गर्न सकेका छन्, न सुरक्षित स्थानमा सर्न सकेका छन् ।
रेल्वे स्टेशन निर्माणस्थल नजिक ठूलो परिमाणमा माटो थुपारिँदा पानीको निकास अवरुद्ध भएको र पुराना बस्तीहरूतर्फ पानी पस्ने समस्या रहेको स्थानीयले बताए ।
पीडित सम्झना हमालले भनिन्, ‘शनिबार रातिको अविरल पानीले रेल्वे स्टेशन बन्ने ठाउँमा ३०–४० फिट माटो थुप्रिएर ठूलो ड्याम बनेको छ । सोही ठाउँबाट पानीको निकास नभएकाले घर–घरमा पानी पस्यो । हामीले रेल्वे कार्यालयमा जानकारी गरायौं तर अहिलेसम्म कुनै समाधान भएको छैन ।’
घरमा पानी पसेको पीडित जानकी शाहीले पानीले घरमा बस्ने ठाउँ नै बाँकी नरहेको बताइन् । हिजो रातिदेखि छोरीको घरमा बस्न आएको छु,’ उनले भनिन् ।
रेलवेले जग्गा अधिग्रहण गरे पनि हालसम्म मुआब्जा नदिँदा आन्दोलनरत रहेका बर्दिवास १४ का १४ घर परिवार त्यही रेलको अधुरो भौतिक संरचनाको कारण डुबानमा पनि परेको छ ।
सम्बन्धित अन्य समाचार : वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]
