इलाम पहिरोमा कम्तीमा ३७ को मृत्यु, उद्धारमा हम्मेहम्मे

आइतबार साँझसम्ममा इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, सन्दकपुर गाउँपालिकामा ६, माङसेबुङ गाउँपालिकामा ३, माई जोगमाई गाउँपालिकामा ८, देउमाई नगरपालिकामा ८, फाकफोकथुम गाउँपालिकामा १ गरी विभिन्न स्थानमा गएको पहिरोका कारण कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ।

आश्विन २०, २०८२

लक्ष्मी गौतम

At least 37 dead in Ilam landslide, Hammehamme in rescue

What you should know

पाँचथर — वर्षीया शारदादेवी सेढाईं, ४५ वर्षीया छोरी इन्द्रसँग सन्दकपुर–३ सुलुबुङको टारीस्थित घरमा बस्थिन् । फाँटिलो जग्गामा घर भएकाले त्यहाँ पहिरो जाला भनेर कसैले पनि सोचेका थिएनन् । १८ असोजको रातिदेखि सुरु भएको अविरल वर्षाले घरमाथिको कुलोले ढिस्को नै बगाएर घरै पुरेपछि शारदा र इन्द्र दुवैको ज्यान गयो । कुलोको पानीले जमिन खोलेर पहिरोको रूप लिएको थियो ।

‘यो ठाउँमा पहिरो जाला भनेर कसैले अनुमानै गरेका थिएनौं, विपद्ले टार र भिरालो जग्गा छुट्याउँदैन रहेछ,’ छिमेकी सीपी शर्मा गड्तौलाले भने, ‘सेढाईंको घरमाथि बाह्रैमास चलिरहने कुलो थियो, कुलो मास्तिर सानो ढिस्को लडेर पानी थुनिएछ । पोखिन थालेपछि त्यही पानीले घर मास्तिरको बाँसको झ्याङ खोतल्दै पहिरोको रूप लिएर घरै पुर्‍यो, आमाछोरीको सुतेकै ठाउँमा ज्यान गयो ।’

रातभर मेघ गर्जन र चट्याङसँगै भीषण वर्षा भएकाले छिमेकी कसैले त्यहाँ पहिरो गएको पत्तोसम्म नपाएको अर्की छिमेकी खोमादेवी गड्तौलाले सुनाइन् । ‘बिहान उज्यालो भएपछि घर पुरिएको देखें, हारगुहार गरेपछि छिमेकी र प्रहरीले पहिरो पन्छाउँदा आमाछोरी जीवित थिएनन्,’ उनले भनिन् ।

इलाम नगरपालिका–६ घोस ठाउँका विराज पाख्रिन तामाङको घर माथिदेखि आएको पहिरोले पुर्दा ६ जनाको ज्यान गयो । त्यहाँ तामाङ परिवारका ३ र पाहुना आएका ३ गरी ६ जनाले एकै ठाउँमा ज्यान गुमाउनुपर्‍यो ।

यो स्थानमा पनि कहिल्यै कसैले पहिरोको जोखिमको पूर्वानुमान नगरेको इलामका पत्रकार सटेन्द्र जबेगुले बताए । ‘वर्षौंदेखिको बसोबास थियो, पहिरो लड्छ भन्ने कहिल्यै र कसैले अनुमान गरेका थिएनौं, धेरै माथि लडेको पहिरोमा सोहोरिएर आएको ढुंगा र माटोले पुर्दा ६ जनाले ज्यान गुमाउनुपर्‍यो,’ उनले भने ।

आइतबार साँझसम्ममा इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, सन्दकपुर गाउँपालिकामा ६, माङसेबुङ गाउँपालिकामा ३, माई जोगमाई गाउँपालिकामा ८, देउमाई नगरपालिकामा ८, फाकफोकथुम गाउँपालिकामा १ गरी कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाएका मध्ये १७ पुरुष र २० महिला छन् । जसमा ८ जना बालबालिका रहेको जिल्ला प्रशासन कार्यालय इलामले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ ।

पहिरोमा परेर इलाम नगरपालिकामा १ जना बेपत्ता छन् । इलामका विभिन्न स्थानमा २० जना घाइतेमध्ये तीन जनालाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पहिरोले पुरिएर पाँचथरको तुम्वेवा गाउँपालिकामा १ जना र फाल्गुनन्द गाउँपालिकामा १ गरी २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले बताए । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन अगावै भदौ १७ देखि २० सम्म भारी वर्षासँगै बाढीपहिरो र विपद्जन्य घटनाको प्रक्षेपण गरेको थियो । सोहीअनुसार इलाम र पाँचथरका विपद् व्यवस्थापन समितिले बाढीपहिरो जान सक्ने सम्भावित स्थानहरूको पहिचान गरेको थियो । इलामको विपद् व्यवस्थापन समितिले सडक अवरोध, बाढी, पहिरो, डुबान र कटानका दृष्टिकोणले जोखिममा रहेका २० भन्दा धेरै ठाउँको पहिचान गरेको थियो ।

At least 37 dead in Ilam landslide, Hammehamme in rescue

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल शनिबार पहिरो गएका मध्ये राजदुवाली क्षेत्रबाहेक अरू कुनै ठाउँ जोखिमयुक्त क्षेत्रमा सूचीकृत नरहेको बताउँछिन् । ‘राजदुवालीमा बाढी र पहिरो दुवै दृष्टिकोणबाट खतरायुक्त रहेको भनेर स्थानीयलाई सुरक्षित रहन भनेका थियौं, बाँकी स्थानमा गएको पहिरो अनपेक्षित हो,’ नेपालले भनिन् । यस पटक रातको समयमा वर्षा हुनु र मानिसहरू सुतिरहेको स्थानमै पुरिनु पनि धेरै क्षति हुनुको कारण रहेको उनको ठम्याइ छ । इलाममा शनिबार मात्रै ३३४ मिलिमिटर पानी परेको थियो ।

उद्धारमा हम्मेहम्मे

इलामका विभिन्न स्थानमा पहिरोले एकसाथ ठूलो परिमाणमा क्षति पुर्‍याएकाले उद्धारमा हम्मेहम्मे परेको थियो । फरक–फरक स्थान र अप्ठ्यारो भूगोलमा पहिरो गएका कारण नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहकार्य गरेका थिए । सबैको सहकार्यले पुरिएका शव तथा घाइतेको उद्धार गर्न सकिएको प्रजिअ नेपाल बताउँछिन् ।

पहिरोले इलामका विभिन्न गाउँबस्तीमा सयौं घर जोखिममा परेका छन् । पहिरोले पुरिएका र जोखिममा रहेका घरका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै राहत उपलब्ध गराउन प्रक्रिया थालिएको उनले बताइन् । आइतबार साँझसम्ममा इलामको राजदुवाली क्षेत्रका २६ र माइको चेप्टी भन्ने स्थानका १५ गरी ४१ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताइन् । विस्थापितहरूलाई राहत र तत्कालका लागि बसोबासको प्रबन्ध सम्बन्धित पालिकाबाट गर्ने प्रबन्ध मिलाइएको प्रजिअ नेपालको भनाइ छ ।

माई खोलाले बगायो सिंगो बस्ती 

अविरल वर्षापछि आएको भीषण बाढीले इलाम नगरपालिका–१० राजदुवालीस्थित माई खोला किनारको सिंगो बस्ती नै बगाएको छ । मध्यराति आएको बाढीले करिब ३० घर बगाएको हो । स्थानीय डुक्पा विश्वकर्माका अनुसार बाढी आउँदा गाउँका बासिन्दा मस्त निद्रामा थिए । लगाएको कपडाबाहेक केही झिक्न नपाई भागेर ज्यान जोगाएको उनले बताए ।

माई खोलाले दिपेन राई, धनपति दुलाल, डुक्पा विश्वकर्मा, पदम राई, धनराज सुब्बा, शुक्रे तामाङ, तारामणि दर्जी, दावा शेर्पा, सुरेश गुरुङ, हिमाल मेचे, तारा थापा, अमृत राई, डम्बर राई, यामबहादुर बराइली, जंगबहादुर नेपाली, अम्बर तामाङ, मीनबहादुर थापा र विनोद पाँचकोटीसहितका ३० वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

At least 37 dead in Ilam landslide, Hammehamme in rescue

माई खोलाको बाढीले मेची राजमार्गसमेत बगाएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण मेची मध्य पहाडी र तमोर करिडोरमा यातायात सञ्चालनमा समस्या भइरहेको छ । माई खोलाको गडतीर विपद्जन्य घटनाका दृष्टिकोणले जोखिममा थियो । स्थानीय प्रशासनले सुरक्षित रहन पटक–पटक आग्रहसमेत गरेको थियो । यद्यपि स्थानीयले घर छोड्न सकेका थिएनन् । खोलामा बाढी आउन थालेपछि भयंकर आवाज सुनिएकाले भाग्न सफल भएको स्थानीय बताउँछन् ।

मनसुन बाहिरिने बेला सधैंको विपद

पाँचथर र इलामसहित कोशीका पहाडी जिल्लामा २०७८ यता मनसुन बाहिरिने बेला भएको वर्षासँगै बाढी र पहिरोले पटक–पटक दुःख दिने गरेको छ । २०७८ कात्तिक १ मा बेमौसमी झरीसँगै आएको पहिरोमा परी पाँचथरमा ३४ जनाले ज्यान गुमाएका थिए । त्यो बेला इलाम र पाँचथरमा ठूलो परिमाणको भौतिक संरचनामा क्षति पुगेको थियो ।

यस्तै २०८१ असोज १२ मा भएको वर्षासँगै आएको बाढी र पहिरोमा पाँचथरमा १२ जनाले ज्यान गुमाउनुका साथै २९ वटा पुल, १५ वटा विद्यालय र १० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । यो वर्ष असोज १९ को झरीसँगै आएको पहिरोले इलाममा ३७ र पाँचथरमा २ जनाको ज्यान लिएको हो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully