सामाजिक सञ्जालमा फरक मत राख्ने वा सरकारको आलोचना गर्नेहरूलाई लक्षित गरी ‘डिजिटल लिन्चिङ’ गर्ने प्रवृत्ति बढेको छ । यस्ता आक्रमणले समाजमा एउटा डरलाग्दो ‘चिलिङ इफेक्ट’ सिर्जना गरिरहेको छ।
What you should know
काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारले १४ चैतमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरबाटै पक्राउ गर्यो। यसको विरोधमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिए। त्यही भीडमा थिइन्—अमिसा पराजुली। उनले ‘ओलीलाई पक्राउ गर्नु गैरकानुनी हो’ र ‘कानुनभन्दा माथि कोही पनि छैन’ भन्दै अभिव्यक्ति दिइन्। अमिसाको यही बोली सामाजिक सञ्जालमा फैलियो।
अमिसाको भनाइमा सामाजिक सञ्जालमा क्रिया र प्रतिक्रिया त हुने नै भयो। तर यही अभिव्यक्तिकै कारण उनीमाथि घृणा गर्ने, धम्की दिने र अश्लील गाली गर्ने प्रवृत्ति पनि देखियो। सामाजिक सञ्जालमा भाइरल अमिसाको भिडियोको कमेन्ट सेक्सनमा हिंस्रक र अश्लील प्रतिक्रियाहरू समेत थिए। उनको यही भनाइमा अश्लील अर्थ लाग्ने ‘मिम’हरू पनि बनाइए।
‘कमेन्टमा आएका प्रतिक्रियाहरू अत्यन्तै डरलाग्दा र सहनै नसक्ने थिए। फरक मतको साटो मैले अश्लील गालीगलौज, चरित्रहत्या र बलात्कारसम्मका धम्कीहरू सामना गर्नुपर्यो,’ अमिसाले कान्तिपुरसँग भनिन्, ‘ती आलोचनाभन्दा पनि धेरै डिजिटल हिंसाजन्य प्रतिक्रिया थिए।’
फरक मतको साटो मैले अश्लील गालीगलौज, चरित्रहत्या र बलात्कारसम्मका धम्कीहरू सामना गर्नुपर्यो -अमिसाउनको विरुद्धमा अश्लील गाली मात्रै गरिएन। एमाले अध्यक्ष ओली जस्तो देखिने व्यक्तिले सिन्दूर हाल्दै गरेको तस्बिरहरू पनि सामाजिक सञ्जालमा फैलाइए। ती तस्बिरहरू सबै एआई निर्मित थिए। त्यस्तै केही प्रयोगकर्ताहरूले ‘यसरी बोल्दै हिँडिस् भने तलाई बलात्कार गरेर फालिदेला’ सम्मका पर्सनल ‘थ्रेट’हरू पनि दिन थाले। अमिसामाथिको गाली सामाजिक सञ्जालमा मात्रै सीमित थिएन। उनलाई व्यक्तिगत रूपमा त्यस्ता धम्कीपूर्ण म्यासेजहरू आउन थाले। उनले खाली आफ्नो आवाज राखेकी थिइन्, तर उनको विरुद्धमा आएका आवाजहरू सबै उनलाई व्यक्तिगत रूपमा हानि गर्ने खालका नै छन्।
‘यसले मलाई गहिरो रूपमा असर गर्यो। यस्ता हिंसात्मक धम्कीहरू पढेर बेवास्ता गर्न सकिने अवस्था हुँदैन। यसले मलाई अनलाइन मात्र होइन, वास्तविक जीवनमै पनि असुरक्षित महसुस गरायो। जब मानिसहरूले खुलेआम यौन हिंसाबारे कुरा गर्न थाल्छन्, त्यो ‘साधारण टिप्पणी’ मात्र रहँदैन। त्यो मानसिक र भावनात्मक रूपमा भारी बोझमा रूपान्तरण हुन्छ,’ उनी भन्छिन्, ‘यसले हाम्रो समाजमा फरक मत राख्नु कति असुरक्षित छ भन्ने कुरा पनि उजागर गरिदिएको छ।’
सामाजिक सञ्जालबाट हिंसा भोग्ने अमिसा न पहिलो पात्र हुन्, न अन्तिम नै हुने देखिन्छ। नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कले भन्छ, सामाजिक सञ्जालको माध्यमबाट हुने ‘ह्यारेसमेन्ट’ र ‘बुलिङ’का घटनाहरू बढ्दै गएका छन्। ब्यूरोका प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पछिल्लो ५ वर्षको तथ्याङ्कलाई हेर्दा अहिले ‘ह्यारेसमेन्ट’ र ‘बुलिङ’का घटना वृद्धि भएका छन्। आर्थिक वर्ष २०८१/०८२ मा ‘ह्यारेसमेन्ट’ र ‘बुलिङ’ सम्बन्धित उजुरीको संख्या १८ सय १ मात्रै थियो भने त्यो बढेर यो आर्थिक वर्षमा २६ सय ७८ पुगेको छ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क
समाजशास्त्रीहरूका अनुसार यस्ता निरन्तरका साइबर आक्रमणले समाजमा एउटा डरलाग्दो ‘चिलिङ इफेक्ट’ सिर्जना गरिरहेको छ। मानिसहरू ‘सेल्फ-सेन्सरसिप’ को बाटोमा गइरहेका छन्। समाजशास्त्री सम्झना वाग्ले भट्टराई पछिल्लो समय फरक मत राख्नेहरूमाथि ‘डिजिटल लिन्चिङ’ को प्रवृत्ति बढेको तर्क गर्छिन्। ‘सामाजिक सञ्जालमा फरक मत राख्ने वा सरकारको आलोचना गर्नेहरूलाई लक्षित गरी ‘डिजिटल लिन्चिङ’ गर्ने प्रवृत्ति बढेको छ,’ उनी भन्छिन्, ‘यसले गर्दा मानिसहरू आफ्ना विचारहरू स्वतन्त्र रूपमा राख्न हच्किने अवस्था सिर्जना भएको छ।’
एआई विज्ञ दोभान राईलाई पनि लाग्छ, ‘डिजिटल लिन्चिङ’ र जथाभावी गाली खाइने डरले गर्दा धेरै मानिसहरूले सार्वजनिक रूपमा आफ्ना विचार राख्दा आफैंलाई सेन्सर गर्न थालेका छन्। ‘अहिले सरकार र जनताको पहिचानलाई यसरी मिसाइएको छ कि सरकार वा नेतृत्वको आलोचना गर्नु भनेको जनताको आशा र उनीहरूको मतको अपमान गर्नु हो भन्ने भाष्य निर्माण गरिएको छ,’ उनी भन्छिन्, ‘अहिले समाजमा ‘राम्रो’ र ‘नराम्रो’ बीच स्पष्ट विभाजन देखिन्छ। नयाँ पार्टीलाई समर्थन गर्नेहरूलाई ‘राम्रो’ र समर्थन नगर्नेहरूलाई ‘नराम्रो’ वा ‘पुरानो पार्टीको झोले’ भनेर तत्कालै जजमेन्ट गरिहाल्ने प्रवृत्ति बढेको छ।’
नेपाली सामाजिक सञ्जालको वर्तमान परिदृश्य हेर्दा स्पष्ट हुन्छ—यहाँ राजनीतिक असहिष्णुता चरम विन्दुमा छ। कुनै दलविशेषको समर्थन वा आलोचना गर्नेबित्तिकै सङ्गठित ‘ट्रोल आर्मी’ परिचालन हुने प्रवृत्ति सामान्य बन्दै गएको छ। ट्रोलिङ सुरु भएपछि सामाजिक सञ्जालमा सङ्गठित रूपमा व्यक्तिको बदनामी गरिन्छ, उसलाई हैरान पारिन्छ, वा ‘क्यान्सिल’ गर्ने प्रयास हुन्छ, जसको उद्देश्य उसको प्रतिष्ठा, करियर वा मानसिक स्वास्थ्य नष्ट गर्नु हो। पश्चिमी मुलुकहरूमा पछिल्ला वर्षहरूमा यस घटनाको एउटा नाम राखिएको छ—‘डिजिटल लिन्चिङ’।
त्यसैको पछिल्लो उदाहरण अमिसा हुन्। केही समयअघि सामाजिक सञ्जालमा आफ्नो मत राखेकै कारण ‘डिजिटल भीड’ को ‘लिन्चिङ’ मा परेका थिए सञ्चारकर्मी विश्व लिम्बु। गत फागुन २१ मा निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्यहरूलाई पाँचतारे होटलमा अभिमुखीकरण कार्यक्रम गरेको भन्दै उनले आलोचनात्मक टिप्पणी गरेका थिए। उनले रास्वपाको त्यो अभिमुखीकरण कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रमस्थलमाथि प्रश्न गरेका थिए।
पर्सनल लेभलमै गएर आमा, बाबुलाई जोडेर पर्सनल म्यासेजमै थ्रेट आउन थाले-विश्व लिम्बु ‘विश्व लिम्बु पोडकास्ट’ नामक फेसबुक अकाउन्टबाट पोस्ट भएको २ मिनेट १० सेकेन्डको उक्त भिडियोमा उनीविरुद्ध गालीगलौज भयो। ‘हर्कको झोले’, ‘हर्केको हलि मुला’, ‘हर्कको पत्रकार’, ‘यो हर्केबाट परिचालित पत्रकार हो?’, ‘हर्कको गु खाऊँ’ जस्ता अप्रमाणित संलग्नतालाई लिएर प्रश्न उठाइए। त्यतिमात्रै नभई पहिचान र व्यक्तिगत कुरालाई लिएर पनि विभिन्न खालका कमेन्टहरू आएका छन्। ‘कमेन्ट सेक्सनमा त सामान्य नै हो। तर पर्सनल लेभलमै गएर आमा, बाबुलाई जोडेर पर्सनल म्यासेजमै थ्रेट आउन थाले,’ लिम्बुले सुनाए।
स्मृति तिमल्सिनासँग पनि सामाजिक सञ्जालमा सरकारको विरुद्धमा टिप्पणी गरेको कारणले गाली खेप्नुपरेको तीतो अनुभव छ। उनी कुनै दलसँग आबद्ध रहेर टिप्पणी गरिरहेकी छन्, तर फरक मत राखेकै कारण आफ्नो सामाजिक सञ्जालको कमेन्ट सेक्सनमा गाली र धम्कीको ओइरो आएको उनी बताउँछिन्। ‘कमेन्ट सेक्सनमा अश्लील गालीको त कुरै नगरौं, पर्सनली पनि इनबक्समा एकदम धेरै घृणित खालका म्यासेजहरू आउँछन्। हेर्न–पढ्नै पनि घिन लाग्ने,’ तिमल्सिनाले भनिन्।
सामाजिक सञ्जालमा भिडियो अपलोड गरेकै कारण प्रहरीले पक्राउ गरेर केरकार गरेको अनुभव तिमल्सिनासँग छ। ‘मैले सरकारका गृहमन्त्रीसँग सम्बन्धित भिडियो अपलोड गरेको थिएँ, त्यही भिडियोका कारण म पक्राउ परें,’ उनले भनिन्, ‘त्यो भिडियो कसले बनाउन लगायो भनेर मलाई ३ घण्टासम्म केरकार गरियो।’
कमेन्ट सेक्सनमा अश्लील गालीको त कुरै नगरौं, पर्सनली पनि इनबक्समा एकदम धेरै घृणित खालका म्यासेजहरू आए- स्मृतिकेही समयअघि ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारीले पनि यसैगरी सामाजिक सञ्जालमा गाली व्यहोरेका थिए। भण्डारीले आफ्नो रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा एमाले सचिव महेश बस्नेतलाई अतिथिका रूपमा बोलाएको भन्दै घृणित खालको आलोचना भएको थियो।
एमाले सचिव बस्नेतलाई कार्यक्रममा देखिनासाथ कार्यक्रम सञ्चालक तथा निर्देशक विशाल भण्डारीमाथि गालीगलौज सुरु भएको थियो। ‘रेस्ट इन पिस ब्रदर विशाल भण्डारी’, ‘झोले’ भनी गालीगलौज सुरु भएको थियो।
कतिपयले त ‘विशाल भण्डारीको छाला काढेर रोडमा ओछ्याएर बस्ने बेला भएको छ’ भन्दै हिंसात्मक टिप्पणी गरेका थिए। त्यति मात्र होइन, भण्डारीलाई अश्लील गाली पनि गरिएको छ। नेपालको झन्डा प्रोफाइल राखेका व्यक्तिहरूले समेत बाबुआमा, छोराछोरी, दिदीबहिनी जोडेर अश्लील गाली गरेका छन्।
राजनीतिक टिप्पणी गरेकै कारणले सामाजिक सञ्जालमा भीडको निशानामा परेकी अर्की कलाकार हुन् नवीना सिलवाल। ‘खुइली’ नामले परिचित उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र सर्वसाधारण ठगिएको विषयमा बोलेकी थिइन्। त्यही विषयमा बोलेका कारण उनको चरित्रहत्या गर्ने सामग्रीहरू सामाजिक सञ्जालमा वग्रेल्ती देखिन थाले। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको तस्बिर जोडेर आपत्तिजनक सन्देशसहित सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो। उनलाई बलात्कार गर्ने देखि मार्ने सम्मका धम्कीहरू आउँछन्। ‘अश्लील शब्द प्रयोग गरेर गाली गर्ने र बलात्कारको धम्की दिने त थुप्रै छन्, सिधै व्यक्तिगत सन्देशमै पनि आक्रमण गर्छन्,’ नविनाले भनिन्।
सामाजिक सञ्जालमा देखिने असहिष्णु प्रवृत्तिको भोगाइ कन्टेन्ट क्रिएटर सुरुचि बुढाथोकीसँग पनि छ। जेन–जी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि उनले ‘गो ब्याक रवि लामिछाने’ भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोमा उनले आफूहरू कुनै व्यक्तिलाई जेलबाट निकाल्न आन्दोलन नगरेको उल्लेख गर्दै जेन–जी आन्दोलनको आवरणमा कुनै व्यक्तिको रिहाइ हुनु गलत भएको धारणा व्यक्त गरेकी थिइन्।
तर, भिडियो सार्वजनिक भएपछि फेसबुक, रेडिट लगायत सामाजिक सञ्जालमा उनीमाथि गालीगलौज सुरु भयो। आक्रमण उनीमा मात्र सीमित रहेन। उनका परिवारका सदस्यहरूको तस्बिरसमेत सामाजिक सञ्जालमा छरपस्ट पारियो। ‘नेपो किड’ भन्दै ‘ट्रोल टलिवुड’ नामक पेजले परिवारको तस्बिरसहित कोलाज बनाएर सार्वजनिक गर्यो, जुन पछि ‘एनईबी नेपाल’ लगायतका पेजमार्फत भाइरल बनाइयो।
कलाकारहरूले सार्वजनिक रूपमा आफ्नो मत राखेकै कारण चलचित्र नै बहिष्कारसमेत भएका छन्। गायक प्रकाश सपुतले १९ फागुन २०८१ मा ‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचनमा केपी शर्मा ओलीको सङ्घर्षबाट सिक्नुपर्छ भन्दै प्रशंसा गर्दा उनको जात जोडेर गालीगलौज मात्र गरिएन, उनको फिल्म ‘वसन्त’ नै बहिष्कार गर्ने अभियान चलाइएको थियो। दबाब थेग्न नसकेर अन्ततः उनले सार्वजनिक रूपमा ‘मेरो गल्ती भयो’ भन्नुपर्यो। त्यस्तै, निर्वाचनको समयमा एउटा दलको गीतमा अभिनय गरेकै कारण मोडल स्मारिका ढकालले भिडियो रिलिज नहुँदै हात जोडेर माफी माग्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो।
‘सेल्फ-सेन्सरसिप’: मौनताको नयाँ युग
डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलका अनुसार, यो प्रवृत्ति लोकतन्त्रका लागि गम्भीर खतरा हो। ‘राजनीतिक दलहरू प्रश्न र फरक मत सुन्न तयार छौं भनेर अघि नबढ्ने हो भने खुला समाज र लोकतन्त्रको प्रवर्द्धन हुँदैन,’ उनी भन्छन्, ‘यस्तो अभ्यासले समाजबाट संवाद र प्रश्न हराएर जाने, नेतामुखी व्यवस्था हुर्किने जोखिम छ।’
सामाजिक सञ्जालमा विद्यावारिधि गरेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक राजीव सुब्बा पनि डिजिटल स्पेसमा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएको मत राख्छन्। जोन सुलरको 'डिसइनीविसन इफेक्ट’ सिद्धान्त सम्झिँदै उनले भने, ‘डिजिटल संसारमा मान्छेले आफूलाई ‘एनोनिमाइज’ (गोप्य) ठान्छ। मलाई कसैले चिन्दैन र कसैले केही गर्न सक्दैन भन्ने सोचले गर्दा उग्र व्यवहार देखाउने प्रवृत्ति बढ्छ, जसलाई सामाजिक विज्ञानमा 'डिसइनीविसन इफेक्ट’ भनिन्छ। त्यसैले अरूविरुद्ध घृणास्पद अभिव्यक्ति दिन्छ।’
फेसबुक, टिकटक र एक्स (ट्विटर) जस्ता प्लेटफर्मका अल्गोरिदमहरूले उत्तेजक, नकारात्मक र घृणा फैलाउने ‘कन्टेन्ट’लाई बढी प्रोत्साहन गर्ने भएकाले फरक मत राख्नेहरूमाथि सङ्गठित आक्रमण हुने गरेको एआई विज्ञ राई बताउँछिन्। ‘प्रयोगकर्ताहरूलाई आफ्नै विचार मात्र सही लाग्ने ‘इको च्याम्बर’ भित्र कैद गरिन्छ। दलका ‘बट आर्मी’ र नियोजित अभियानहरूले यही अल्गोरिदमको फाइदा उठाउँदै फरक मत राख्नेहरूमाथि सङ्गठित आक्रमण गर्छन्,’ उनले भनिन्, ‘जसले गर्दा स्वस्थ राजनीतिक बहसको सट्टा ‘डिजिटल लिन्चिङ’ को अवस्था सिर्जना हुन्छ।’
यसरी सामाजिक सञ्जालमा ‘डिजिटल लिन्चिङ’ भोग्नेहरूले अब खुलेर बोल्न सक्दैनन्। ‘म हिजो जसरी खुलेर आफ्नो विचारहरू राख्थें, अब म धेरै पटक सोचेर मात्रै राख्छु,’ सञ्चारकर्मी लिम्बुको मनमा खड्को छ, ‘केही बोल्नु भन्दा अगाडि कतै गाली पो खान्छु कि भन्ने संशय मेरो मनमा पैदा हुन थालेको छ।’
भिडियो अपलोड गरेकै कारण प्रहरीको केरकारमा परेकी स्मृतिलाई पनि अब आफ्नो विचार राख्न डर लाग्न थालेको छ। ‘मलाई आफ्नो कुराहरू निर्धक्क भन्न डर लाग्न थालेको छ। हिजो टाउकोको मूल्य तोक्दा त हाम्रा नेतृत्वहरू डराएनन्, हामी किन डराउनु भन्ने लाग्छ,’ स्मृतिले भनिन्, ‘तर अब निर्वाद रूपमा बोल्न सकिँदैन भन्ने कुराले चिन्तित छु।’
कन्टेन्ट क्रिएटर बुढाथोकी पनि सामाजिक सञ्जालमा आफ्नो धारणा नराख्ने मनसायमा पुगेकी छिन्। रवि लामिछाने जेलबाट निस्किँदा ‘गो ब्याक’ भनेर भिडियो बनाएपछि उनीमाथि मात्र होइन, उनका बुबाआमाको तस्बिरसमेत राखेर ट्रोल गरियो। परिवारमाथि नै प्रहार भएपछि उनी भन्छिन्, ‘म र मेरो परिवारमाथि आएको घृणा देखेपछि सामाजिक सञ्जालमा बोल्न नसक्ने अवस्था आएको छ।’
यस्तो लिन्चिङमा पनि सबैभन्दा बढी महिलाहरू नै प्रभावित छन्। ‘सामाजिक सञ्जालमा हुने गालीगलौजको प्रभाव पुरुषको तुलनामा महिलाहरूमा अझ बढी र डरलाग्दो छ,’ समाजशास्त्री भट्टराई भन्छिन्, ‘हाम्रा सामाजिक मूल्य–मान्यताभन्दा बाहिर गएर गरिने असभ्य र सुन्नै नसकिने खालका गालीहरूले महिलाहरूको अभिव्यक्ति दिने साहसलाई कमजोर बनाइरहेको छ।’
कानुनको अभाव
यसरी जथाभावी टिप्पणी र गालीगलौजको प्रवृत्ति बढ्नुमा बढ्दो ‘डिजिटल कल्चर’ र अल्गोरिदमको प्रभाव पनि छ। ‘फेसबुक, टिकटक र एक्स (ट्विटर) जस्ता प्लेटफर्मका अल्गोरिदमहरूले उत्तेजक, नकारात्मक र घृणा फैलाउने ‘कन्टेन्ट’लाई बढी प्रोत्साहन गर्छन्। प्रयोगकर्ताहरूलाई आफ्नै विचार मात्र सही लाग्ने ‘इको च्याम्बर’ भित्र कैद गरिन्छ,’ एआई विज्ञ राई भन्छिन्, ‘दलका ‘बट आर्मी’ र नियोजित अभियानहरूले यही अल्गोरिदमको फाइदा उठाउँदै फरक मत राख्नेहरूमाथि सङ्गठित आक्रमण गर्छन्, जसले गर्दा स्वस्थ राजनीतिक बहसको सट्टा ‘डिजिटल लिन्चिङ’ को अवस्था सिर्जना हुन्छ।’
तर, नेपालमा सङ्गठित ‘डिजिटल लिन्चिङ’ लाई सम्बोधन गर्ने स्पष्ट र बलियो कानुनको अझै अभाव छ। नेपालमा साइबर वा डिजिटल स्पेसमा हुने घटनाबारे ‘विद्युतीय कारोबार ऐन, २०६३’ को दफा ४७ आकर्षित हुन्छ। दफा ४७ मा भनिएको छ, ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।’
तर यस कानुनको कार्यान्वयन प्रक्रिया यति सुस्त र झन्झटिलो छ कि पीडितले तत्काल न्याय र राहत पाउने अवस्था छैन। उजुरी दिए पनि नक्कली आइडीबाट गरिएका आक्रमणका दोषीसम्म पुग्न प्रहरीलाई प्राविधिक कठिनाइ हुने गरेको छ। अमिसाले पनि साइबर ब्यूरोमा यही दफा अन्तर्गत गत चैत १८ गते उजुरी दिएकी छन्, तर अहिलेसम्म एक जना मात्रै पक्राउ परेका छन्। ‘कसैले अरूको फोटो र नाम प्रयोग गरेर सजिलै नक्कली आइडी बनाउन सक्ने भएकाले वास्तविक दोषी पत्ता लगाउन गाह्रो हुन्छ। फेसबुक जस्ता प्लेटफर्मले आइडी, यूआरएल र आईपी ठेगाना उपलब्ध नगराएसम्म वास्तविक व्यक्तिको पहिचान गर्न सकिँदैन,’ साइबर ब्यूरोका प्रवक्ता गिरी भन्छन्, ‘फेसबुक, एक्स (पुरानो ट्विटर), इन्स्टा लगायत कुनै पनि सामाजिक सञ्जालहरूको नेपालमा क्षेत्रीय कार्यालय छैन। हामीले सबै विदेशमै लेख्नुपर्छ, तर उहाँहरूले ‘क्विक’ रेस्पोन्स दिनुहुन्न। लामो समयसम्म कुराउनुहुन्छ, कुनै त रेस्पोन्स पनि आउँदैन। त्यसले हामीलाई सकस भइरहेको छ।’
साइबर ब्यूरोमै काम गरेका पूर्व एसपी पशुपति राय कानुनी स्पष्टताको अभाव र प्रक्रियागत ढिलाइलाई मुख्य चुनौती मान्छन्। राय भन्छन्, ‘अहिलेको कानुनी व्यवस्थामा गालीबेइज्जती सम्बन्धी मुद्दाहरू अनुसूची ४ अन्तर्गत रहेकाले पीडित आफैं अदालत जानुपर्ने बाध्यता छ, जसले गर्दा प्रहरीले सिधै अनुसन्धान गर्न पाउँदैन। यदि यस्ता मुद्दामा प्रहरीलाई नै जिम्मेवार बनाउने हो भने मुलुकी अपराध संहिताको दफा ३०६ र ३०७ लाई अनुसूची १ मा समेट्नुपर्छ।’
उनका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ ले मात्र साइबर अपराधका सबै पाटोलाई सम्बोधन गर्न नसक्ने भएकाले प्रचलित कानुनलाई अझ स्पष्ट र परिमार्जित बनाउनु आवश्यक छ।
