परम्परागत रूपमा तीज, विवाह, दसैं, तिहार तथा अन्य सांस्कृतिक समारोहमा मात्र लगाइने लच्छा डोरी र चौबन्दी चोली यतिबेला समुदाय र सांस्कृतिक पहिचानसँग जोडिएका छन् ।
What you should know
काठमाडौँ — करिब ७ वर्षअघि मोडेल वर्षा थापाले लच्छा डोरीलाई आफ्नो कम्मरसम्म लगाइन् । फरक तरिकाले लगाएको लच्छाले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पायो । फेसनसम्बन्धी अन्तर्राष्ट्रिय पत्रिका ‘भोग’ले उनलाई ‘न्युयोर्कको सडक फेसनमा रिबनजस्तै चुल्ठोलाई फेसनमा ल्याउने नेपाली मोडेल’ भनेर चिनायो ।
थापाले लच्छा डोरीलाई परम्परागत फेसनमा मात्र सिमित नराखी आधुनिक पहिरनको रुपमा चिनाइन् । जसले लच्छाको सांस्कृतिक मूल्य र पहिचानलाई अझ सशक्त बनाइदियो । लच्छा फेसनलाई जोडेर उनीसँग भोगले अन्तर्वार्ता नै लिएको थियो । उनले भनेकी थिइन्, ‘लच्छा लगाउँदा म नटुट्ने, बलियो र शक्तिशाली महिला भएको महसुस गर्छु ।’
पछिल्लो समय लच्छा डोरी र चौबन्दी चोलो नेपाली युवापुस्तामाँझ लोकप्रिय फेसनको रुपमा देखा पर्दै गइरहेको छ । युवापुस्ताले साडी वा परम्परागत पहिरनसँग मात्र नभई साधारण तथा दैनिक लगाइने कपडासँग लाच्छा र चौबन्दी चोलो मिलाएर लगाउन थालेका छन् । युवाहरूले परम्परा र आधुनिक फेसनलाई एकैसाथ अगाल्दै परम्परा र आधुनिकतालाई जोड्दै आफ्नो संस्कृतिक पहिचान खोजिरहेका छन् ।
यो फेसन शैलीले परम्परागत रूपमा परिभाषित गरिएको नारीत्वमाथिको सशक्त पुनर्व्याख्या पनि गरेको छ । लेखिका साक्षी किरण भट्टराई पनि यो फेसन अभिव्यक्तिको भाषा बनेको बताउँछिन् । उनी भन्छिन्, ‘यो फेसन मात्र नभई महिलाले नयाँ, फरक र व्यक्तिगत शैली खोज्न प्रेरित गर्ने प्रक्रिया हो, मेरो लागि यो आफ्नै पहिचान निर्माण गर्ने यात्रा हो ।’
परम्परागत रूपमा तीज, विवाह, दसैं, तिहार तथा अन्य सांस्कृतिक समारोहमा मात्र लगाइने लच्छा डोरी र चौबन्दी चोलो यतिबेला समुदाय र सांस्कृतिक पहिचानसँग जोडिएका छन् । अनलाइन माध्यम र सामाजिक सञ्जालले यो फेसन प्रवृत्तिलाई फैलाउन ठूलो भूमिका खेलेका छन् । परम्परालाई बाध्यताका रूपमा होइन, सचेत छनोटका रूपमा आफने फेसनलाई समेटिरहेका छन् ।
परम्परासँगको आधुनिक मिश्रणले संसारको जुनसुकै कुनामा भए पनि अपनत्वको अनुभूति दिलाउँने अमेरिकामा अध्ययनरत विद्यार्थी भाषा अर्याल बताउँछिन् । उनी भन्छिन्, ‘दैनिक पहिरनमा सकेसम्म लच्छा लगाउने गर्छ विदेशमा हुँदा पनि लच्छा लगाउँदा आफ्नु भूमि, घर र देशसँग जोडिएको महसुस हुन्छ । आमाजस्तै महिला बन्दै गएको अनुभूति हुन्छ ।’
देख्दा आधुनिक लागे पनि यो प्रवृत्ति पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतमा गहिरो रूपमा आधारित छ । नयाँ पुस्ताले यसलाई अपनाउँदै नयाँ अर्थ दिँदा परम्परा पहिरनसँग पुनः जोडिएको छ । नयाँ पुस्ताले आधुनिक भन्ने अवधारणलाई जोडिदिइरहेको फेसन डिजाइनर श्रेय चोछेँ बताउँछिन् । उनी भन्छिन्, ‘नयाँ पुस्ताले यसलाई नयाँ फेसन शैलीमा बदलिरहेको छ उनीहरूका लागि परम्परागत र पश्चिमी शैलीलाई एकसाथ मिलाएका छन् । दुवै फेसन शैलीलाई एकसाथ लैजानु नै आधुनिकता हो ।’
लच्छा र चोलीको पुनरागमनसँगै नेपाली फेसन उद्योगमा नयाँ प्रयोग पनि बढेको छ । ढाका र हाकु पटासी जस्ता परम्परागत कपडालाई आरामदायी, सबैका लागि उपयुक्त र दिगो पहिरनमा रूपान्तरण गरिँदैछ ।
