वासुदेव ठट्यौला मात्र थिएनन्, केही उपद्रव गर्नमा पनि माहिर थिए । ०३२ सालतिर उनी बिहेका लागि विराटनगर जाँदै थिए । उनले रेडियोका साथीहरूलाई भने, ‘हेर केटा हो मेरो बिहे हुँदैछ । बिहेको दिनभर जम्मै मेरो गीत मात्र बजाओ है ।’ नभन्दै वासुदेवको बिहेको दिन रेडियो नेपाल बिहानदेखि बेलुकासम्म मुनालमय भयो
काठमाडौँ — डाँडामाथि घाम लुक्ने बेलाको समय । ठीक ५ बजे रेडियो नेपालमा एउटा धुन बज्थ्यो । वरिपरि छरिएका बालबालिका रेडियोको धुन नजिक पुग्थे । धुनसँगै रेडियोबाट एउटा परिचित आवाजले बालबालिकालाई प्रेमपूर्वक आह्वान गर्थे, ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ । लौ त अब सुरु गरौँ आजको हाम्रो बाल कार्यक्रम...।’
२०६६ सालसम्म बालबालिकालाई हरेक दिन रेडियो नजिक बोलाएर कथा, कविता, नाटक र गीत सुनाउने वासुदेव मुनाल आठ वर्षअघि कहिल्यै नफर्किने यात्रामा लीन भइसके । यद्यपि, उनका आवाज अहिले पनि धेरै मानिसका स्मृतिमा सञ्चित छन् । प्रविधिले फड्को मारिरहेको अहिलेको समयमा बालबालिकालाई हेर्न, सुन्न र भुल्नका लागि थुप्रै कथा छन् । हात–हातमा ल्यापटप र मोबाइलको दुनियाँबाट उनीहरू हर कुरा जान्न र सिक्न सक्छन् । तर, ३०’ को दशकमा फर्किएर हेर्ने हो भने यी कुरा त कल्पनासम्ममा पनि थिएनन् । हो, त्यतिबेला सपना देख्न र कल्पना गर्न पनि रेडियोबाट गुन्जने आवाजले सिकाउँथे । तिनै आवाजमध्येका लोकप्रिय आवाज थिए, वासुदेव ।
उनै वासुदेवले रेडियो नेपालमा ०३१ सालदेखि ०६६ सालसम्म निरन्तर बाल कार्यक्रम सञ्चालन गरे । गीत बुने, संगीत भरे, नाटक लेखे र थुप्रै प्रतिभा जन्माए । तिनै प्रतिभामध्येका दीपकराज गिरी, मनोज गजुरेल, दमन रूपाखेती, दीपाश्री निरौला, सुरेश अधिकारी, जितु नेपालहरू त अहिले नेपालको सिर्जन क्षेत्रमा स्थापित कलाकार हुन् । ‘पानी खाने निहुँले’, ‘झमझम स्टकोट’, ‘२ एकान २’, ‘पढ पढ बाबु नानी’, ‘झिलमिल झिलमिल तारा झिलमिल’ जस्ता चर्चित गीतका स्रष्टा, गायक मुनाल ७६ वर्षअघि आजैको दिन यस धर्तीमा पदार्पण गरेका थिए । राज्यले बेवास्ता गरे पनि वासुदेवलाई प्रियजनले भने भुलेका छैनन्, उनको आवाज सुनेर हुर्केको पुस्ताले बिर्सेको छैन । यतिबेला स्मृति र किस्सामा बाँचेका मुनाल कस्ता थिए ? उनका पदचाप पछ्याउँदै हुर्केका छोरा मोहित मुनाल यतिबेला बाको स्मरण गरिरहेका छन् ।
काठमाडौंको ज्ञानेश्वरस्थित घरमा गत शनिबार पुग्दा मोहित आफ्ना बाका पुराना डायरीका पन्ना जतनसाथ पल्टाइरहेका थिए । धमिला र अस्पष्ट अक्षर उनी प्रस्टै ठम्याउन सक्थे । ‘मैले बाहेक यी अक्षर न कसैले बुझ्न सक्छ, न प्रसंग । त्यसकारण आफैंले टाइप गरिरहेको छु,’ मोहितले सुनाए । वासुदेवको एउटा चाहना थियो, ‘प्रतिष्ठान निर्माण गर्ने र जीवनीमूलक किताब प्रकाशित गर्ने ।’ त्यसका लागि उनले खाका पनि तयार पारेका थिए । तर, ०७४ सालमा क्यान्सरले थलिएपछि उनका योजना अलपत्र परे । मृत्युशय्याबाट जीवनको अन्तिम प्रहरमा उनले अन्तिम हरफ लेखे :
बिस्तारै लाग्दै जाने एउटा जहर हो
अब फल्न सक्दिनँ
बरु ढल्न सक्छु म
तीन प्रहर बिताएँ
अब बाँच्ने एक प्रहर हो ।
यी हरफ कोरेको भोलिपल्ट उनले आफूलाई सधैंका लागि बिसाए । वासुदेव जहिल्यै छोरालाई भन्थे, ‘मोहित ! हामी कलाकारले पैसा कमाउन सक्दैनौं । केवल मलामी कमाउने हो ।’ ०७४ सालको दसैंको रमझममा सारा मान्छे रमाइरहेका बेला मोहितको परिवारमा खुसीको दीप निभ्यो । मोहितले बाका थुप्रै साथीलाई फोन गरे । प्रायः सबै काठमाडौंबाहिर पुगिसकेका थिए । आफन्त र शुभचिन्तकको पातलो संख्याबाहेक पशुपति किनारमा बुबाको बिदाइमा सामेल हुने कोही थिएनन् । त्यतिबेला मोहितको मनले भक्कानिँदै सोच्यो, ‘के बाले भनेका मलामी यतिमात्रै हुन् त ?’
अचेल बाका डायरीका पन्ना छिचोल्दै कम्प्युटरमा टाइप गरिरहेका छोरालाई यो काम असाध्यै सकस परेको छ । आफूसँगै हुँदा बुझेका बा सम्झेर उनी भावुक सुनिन्छन्, ‘पढिरहँदा लाग्छ, सँगै हुँदा बालाई त मैले बुझेकै रहेनछु ।’ मस्तिष्कघात भएर थलिएपछिका दिन पनि वासुदेवले मोहितलाई भन्थे, ‘मैले अझै के के गर्नुछ । मलाई साथ दे ।’ मोहितलाई अहिले पश्चात्ताप छ, ‘त्यतिबेला मैले उहाँलाई सुनेको भए हुन्थ्यो ।’
वासुदेवको महाप्रस्थानपछि मोहितले बाको चाहना पूरा गर्ने निर्णय लिए । प्रतिष्ठान निर्माण गरे र पहिलो वर्ष कार्यक्रम गरे । कार्यक्रममा बासँग नजिक भएका थुप्रै कलाकार र स्रष्टालाई बोलाए । एउटा फोनको भरमा धेरै आएको देखेर मोहितलाई लाग्यो, ‘बुबालाई माया गर्ने मान्छे थुप्रै रहेछन् ।’ आर्थिक अभावले प्रतिष्ठानबाट त्यसपछि ठूला काम गर्न सकेका त छैनन् । तथापि हरेक वर्ष केही न केही गतिविधि गरिरहन्छन् । अब भने उनलाई बाको अर्को चाहना पूरा गर्नु छ । त्यो हो बायोग्राफी । वासुदेवको जीवनीलाई सारांशमा पल्टाउँदा उनी कस्ता देखिन्छन् ? मायालु, दयालु, रिसालुसँगै विभिन्न रसको मिश्रण भएका वासुदेवलाई किशोरकालीन समयको आँखीझ्यालबाट चिहाऔं ।
ताप्लेजुङमा जन्मेका वासुदेव कोइराला रेडियो नेपाल पुगेपछि मुनाल बने । त्यसअघि ०२८ सालमा उनी, रोहितजंग राणा, कृष्ण अधिकारीलगायत तन्नेरी मिलेर विराटनरमा मुनाल क्लब निर्माण गरेका थिए । त्यो क्लबको निर्माण कुनै ठूलो उद्देश्यले भएको थिएन । बलियाबांगा ती तन्नेरीसँग समाजका हरकोही डराउँथे । उनीहरूको दबदबा भएको ठाउँलाई त्यहाँका मान्छेले व्यंग्यात्मक रूपमा ‘भलाद्मी चोक’ भन्थे । पछि त्यो चोकको नाम मुनाल पथ रह्यो । वासुदेवकी स्कुले सहपाठी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले एकदिन मोहितलाई उनीहरूको दबदबाले नामकरण भएको मुनाल पथको प्रसंग सुनाएकी थिइन् ।
एसएलसी सकेपछिको समय व्यतित गर्नका लागि उनीहरूले एउटा क्लब बनाउने निर्णय गरे । परिवार र समाजको सहयोगबिनै उनीहरूले एउटा भवन निर्माण गरे । भवन बनाउने जग्गा र सामान पनि केही चोर्दै त केही धम्क्याउँदै जम्मा पारेका थिए । धेरैले भन्थे, ‘आवाराहरूले आवारागर्दीका लागि अखडा बनाउन लागे ।’ तर त्यो अखडा हैन, मान्छेका लागि अवसर बनिदियो । भवन बनाएपछि के गर्ने त ? कोहीलाई खेलकुदमा रुचि थियो, उनीहरूले खेलकुदका सामग्री ल्याए र खेल्न थाले । कोहीलाई अध्ययनमा रुचि थियो, पुस्तक ल्याए । वासुदेवलाई संगीतमा रुचि थियो, वाद्यवादनका साधन ल्याए । क्लबको नाम रहन गयो– मुनाल मनोरञ्जनालय तथा गोपीनाथ पुस्तकालय ।
लहडमा खोलिएको त्यही क्लबले खेलकुद, संगीत र सांस्कृतिक कार्यक्रममा सुन्दर पहिचान बनायो । क्लबमा धेरैजसो सदस्यले नामको पछाडि मुनाल राख्न थाले । वासुदेवले भने नामको पछाडि अर्कै फुर्को झुन्ड्याएका थिए । उनलाई सानोमा बाले भनेका थिए, ‘यो त हाम्रो कुलको दीप हो ।’ त्यसपछि उनले वासुदेव कोइराला ‘दीप’ लेखे । पछि दीप निको लागेन । सपना लेखे । मुनाल क्लब खोलेपछि भने उनको नाम वासुदेव कोइराला ‘सपना मुनाल’ थियो । ०३१ सालमा रेडिया नेपालमा काम गर्न थालेपछि उनलाई एकदिन नातिकाजीले सुझाए, ‘तिम्रो यो नाम लामो भयो । अरु सबै फालेर पछाडि मुनाल मात्र राख ।’ वासुदेवले त्यही गरे ।
वासुदेवले डायरीका पानामा आफूले बाल कार्यक्रम सुरु गर्दाको समयबारे पनि लेखेका छन् । त्यसअघि बाल कार्यक्रम सुरुमा तारिणीप्रसाद कोइराला, रश्मी..., श्यामदास वैष्णव, यादव खरेल, किरण खरेल, दामोदर अधिकारी हुँदै पछिल्लो समय धन लामाले चलाइरहेका थिए । वासुदेवले रेडियो प्रवेश गरेको तीन दिनपछि उनलाई कार्यक्रमको प्रस्ताव आएको थियो ।
‘मैले रेडियोमा प्रवेश गरेको ३ दिनपछि नै मलाई धन लामाले निजगढ खेती उठाउन जान्छु भन्नुभयो । त्यसबेलादेखि नै बाल कार्यक्रमबाट उहाँ गएको गयै हुनुभयो । धन दिदीले मलाई छाडेर निजगढतिर हिँड्नु हुँदा छोड्नुभएका सामान थिए, ‘तीन वटा कार्यक्रम रेकड गर्ने टेप, गीत भएका रिल टेप, केही बाल र केही हिन्दी मासिक पत्रिका, एउटा सानो दराज र संकेत धुन,’ ०७० सालतिर उनले आफ्नो डायरीमा लेखेका थिए ।
वासुदेवका हस्तलिखित पन्ना पल्टाउँदा गीतका रोचक प्रसंग पनि भेटिन्छन् । ०३७ साल मंसिरतिर एकपटक नातिकाजीले भनेछन्, ‘मुनालजी ! गीत गाउने हो ? आज स्टुडियो खाली छ ?’ त्यसपछि वासुदेवले मधु क्षेत्रीलाई इसारा गरे । तर गीत तयार थिएन । ‘म शब्द बनाउँछु तिमी धुन निकाल,’ उनले मधुलाई भने । मधुले हार्मोनियममा हातका औंला नचाउन थाले । त्यही क्रममा जन्मियो, ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला, मौका मिले रानी वनमा घुम्न जाउँला ।’
यो गीतलाई सुरुमा नातिकाजीले स्वीकार गरेनन् । हेरेपछि भने, ‘मुनालजी, तपाईंले त साह्रै उत्ताउलो गीत पो ल्याउनुभयो त । खै मबाट पास हुन्छ जस्तो लागेन ।’ त्यही बेला मुनाललाई रेडियोका उपनिर्देशक समेत रहेका लेखक दौलतविक्रम विष्टको याद आयो । ‘त्यसपछि दौडेर दौलतविक्रम दाइकोमा गएँ । गीत देखाएँ । दाइले हेरेर वाह गज्जब भन्नुभयो । क्या मीठो सौन्दर्यले भरिएका शब्द भन्दै यो गीत कसको हो भनेर सोध्नुभयो,’ वासुदेवले लेखेका छन् । दौलतविक्रमले रकर्ड गर्न आदेश दिएपछि नातिकाजीले पास गराए । पछि यो गीत यति हिट भयो कि, मधु र वासुदेवको जीवनमा यो गीत नयाँ खुड्किलो बनिदियो ।
वासुदेव ठट्यौला मात्र थिएनन्, केही उपद्रव गर्नमा पनि माहिर थिए । ०३२ सालतिर उनी बिहेका लागि विराटनगर जाँदै थिए । उनले केही दिनअघि रेडियोका साथीहरूलाई भने, ‘हेर केटा हो मेरो बिहे हुँदैछ । बिहेको दिनभर जम्मै मेरो गीत मात्र बजाओ है ।’ नभन्दै वासुदेवको बिहेको दिन रेडियो नेपाल बिहानदेखि बेलुकासम्म मुनालमय भयो । देशभर रेडियोको क्रेज भएको त्यो समय यो कुरा सञ्चार मन्त्रालयसम्म पुग्यो । मन्त्रालयबाट रेडियोका निर्देशक रामराजा पौडेललाई कडा गाली आयो, ‘दिनभर वासुदेव मुनालका मात्र गीत बजेछ, के हो यो ? यसको स्पष्टीकरण दिनुपर्यो ।’
निर्देशक असिनपसिन भएछन् । बिहेपछि काठमाडौं फर्केका मुनाललाई निर्देशक पौडेलले डाकेर सोधेछन्, ‘के गरेको वासुदेवजी । यो राम्रो भएन । दिनभर आफ्नै गीत बजाउन लगाउने ?’ वासुदेवले आफू जोगिँदै थाहा नपाएजसरी भनेछन्, ‘खै के गरे केटाहरूले । थाहै भएन । म त बिहेमा थिएँ ।’ पछि आइन्दा यस्तो नहोस् भन्दै पौडेलले वासुदेवलाई फर्काए । यो स्मृतिलाई पनि मुनालले डायरीका पानामा कैद गरेका छन् ।
छोरा मोहितलाई बासँगका बाल्यकालीन स्मृति पनि धमिला सम्झना छन् । उनी बासँग रेडियो नेपाल जान्थे । कार्यक्रममा सहभागी हुन्थे । एकपटक वासुदेवलाई बच्चा रोएको साउन्ड इफेक्ट चाहियो । खोजे, कतै रेकर्ड भेटेनन् । त्यसपछि सानो छोरालाई स्टुडियोभित्र लगे अनि टेक्निसियनलाई इसारा गरेर आफू बाहिर निस्किदिए । भित्रको बत्ती निभाइदिएर जनावरको डरलाग्दो आवाज निकाल्न थाले । मोहित आत्तिएर रुन थाले । ‘म रोएको ३ मिनेटसम्म हेरेर बस्नुभयो । त्यो रेकर्ड भएछ । अनि बत्ती अन गरेर फकाउँदै चकलेट दिनुभयो,’ मोहित सम्झन्छन्, ‘पछि रोएको आवाज धेरै नाटकमा प्रयोग गर्नुभयो ।’
बासँग कार्यक्रमतिर हिँड्दा मोहित दंग पर्थे । पहिलो पटक देखेका मान्छेले पनि आवाज सुनेकै आधारमा बालाई भन्थे, ‘तपाईं वासुदेव मुनाल हैन ?’ त्यतिबेला नाटक खेल्न र रचना सुनाउन मान्छेहरू रेडियो नेपालको गेटबाहिर प्रतीक्षा गरेर बसिरहेका दृश्य मोहितको मस्तिष्कमा अझै पनि ताजै छन् । वासुदेवकी श्रीमती इन्दिरा कोइरालालाई रेडियोप्रेमी जीवनसाथीको थुप्रै सम्झना गाढा भएर आउँछन् ।
‘रेडियो भनेपछि उहाँ सिरानमै राखेर सुत्नुहुन्थ्यो । लेखेका कुरा चाखलाग्दो छन् भने रुचि मानी मानी सुनाउनु हुन्थ्यो । म त उहाँको नियमित श्रोता नै थिएँ,’ उनी सम्झिन्छिन् । मस्तिष्कघातपछि रेडियो छाड्नुपरेको दिन वासुदेवका निम्ति निकै कष्टकर थियो । ‘कार्यक्रम छाडेपछि उहाँलाई रेडियोको धेरै सम्झना आउँथ्यो । बाँचेर केही सार छैन भन्दै वरण्डामा बसेर रुनुहुन्थ्यो,’ उनी सम्झन्छिन् । इन्दिरालाई वासुदेवका नजिकका साथी भन्नासाथ नारायण गोपाल, पाण्डव सुनुवार, अशेष मल्ल, लोकमणि सापकोटाहरू सम्झना आउँछन् । उनीहरू परिवारजत्तिकै प्यारा थिए वासुदेवलाई ।
वासुदेव चुरोटका खुबै अम्मली थिए । उनलाई दैनिक दुई बट्टाले पनि पुग्दैन थियो । चुरोटसँगै रक्सीमा पनि लगाव थियो उनको । सधैं बाहिर रक्सी खाने वासुदेवको बानीले आजित भएका साथी अशेषले एकदिन इन्दिरालाई सुझाए, ‘भाउजू, एकपटक मुनालजीलाई सम्झाउनूस् । बरु तपाईं पनि साथ दिनूस्, उनलाई घरमै बानी गराऔं ।’ त्यसपछि वासुदेवले इन्दिरालाई पनि खान सिकाए र पछि छोराहरूलाई पनि । ‘बुवा र हामी राति सँगै बसेर पिउँथ्यौं । उहाँ बिहान २ बजे उठ्नुहुन्थ्यो अनि नाटकको स्क्रिप्ट लेखिसक्नुहुन्थ्यो । बिहानै तयार पारेर रेकर्ड गर्नुहुन्थ्यो,’ मोहित वासुदेवले गरेका कडा मिहिनेत सम्झन्छन् ।
रेडियोमै जीवनका लामो हिस्सा अर्पण गरेका वासुदेवको योगदानलाई रेडियो नेपालले भुलेझैं लाग्छ मोहितलाई । बाको बायोग्राफी लेख्नका लागि सामग्री खोज्न उनी रेडियो नेपाल धाएका थिए । ‘बुबाको सबै कुरा मैले समेट्नुपर्थ्यो । तर रेडियो नेपालम ५० प्रतिशत कुरा गायब पाएँ । न बुबाले गरेका कार्यक्रम छन्, न पर्याप्त गीत । ३ सयमध्ये ८५ वटा मात्रै छन्,’ मोहित गुनासो गर्छन् ।
इन्टरनेटको जमानासँगै हुर्किएको पुस्ताले त सायद वासुदेवलाई सुन्न पाएन । तर उनीहरूले पनि वासुदेवलाई पढ्न जरुरी छ । मोहित हिजो रेडियो सुनेर हुर्केको पुस्ता र इन्टरनेटबाटै दुनियाँ देखिरहेको पुस्ताबीचको दूरी मेट्न पनि पुस्तकका लागि खटिरहेका छन् । सायद हिजो प्रेमपूर्वक रेडियोनजिक आउने ‘प्यारा भाइबहिनीहरू’ले पनि पुस्तकका पाना पल्टाउनेछन् र आफ्नै जीवनलाई फर्केर हेर्नेछन् । जहाँ नोस्टाल्जियामा सुरक्षति बाँचिरहेका वासुदेव पनि गुन्जिरहेका हुनेछन् ।
