महिलामाथि ‘डिजिटल हिंसा’ को प्रताडना

महिला बोले–हाँसेको तथा रमाएको देख्नै नसहने स्त्रीद्वेषी मनोविज्ञानका कारण महिलाहरूका लागि टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्सजस्ता डिजिटल मुकामहरू हिंसाका नयाँ चौतारी बनिरहेका छन् 

वैशाख १७, २०८२

मीना मरासिनी

Persecution of 'digital violence' against women

पूर्वराजपरिवारका सदस्यका विषयमा टेलिभिजन अन्तर्वार्तामा दिएको एउटा स्वाभाविक अभिव्यक्तिलाई लिएर पछिल्लो समयमा राजावादीहरूले अभिनेत्री सुरक्षा पन्तविरुद्ध सामाजिक सञ्जालमा खनिएका छन् । उनीमाथि अनेक आपत्तिजनक लाञ्छना मात्र होइन, उनको फिल्म बहिष्कार अभियानसमेत सामाजिक सञ्जालमा चलेको छ ।

 त्यसअघि राजतन्त्रको पक्षमा बोलेको भन्दै अभिनेत्री मनीषा कोइरालाविरुद्ध गणतन्त्रवादीहरूले सोसल मिडियामा निकै आपत्तिजनक हर्कत गरे र क्यान्सरबाट उनको मृत्यु किन भएन ? भन्नेसम्मका टिप्पणी गरे ।

मनीषा कोइरालाविरुद्ध गणतन्त्रवादीले देखाएको चर्तिकला र डिजिटल हिंसाको पुनरावृत्ति राजावादीहरूले सुरक्षा पन्तविरुद्ध गरेका छन् । राजावादी तथा गणतन्त्रवादीहरूले आफूभन्दा इतरविचारका महिला कलाकारमाथि गरेका यी राजनीतिक प्रतिशोधयुक्त अत्याचार केवल ताजा दृष्टान्त मात्र हुन् । 

आफ्नो कर्म, बोली तथा स्वतन्त्र व्यवहार अवलम्बन गर्न पाउने सार्वभौम अधिकारको प्रयोग गर्दा मात्रै पनि अपमान, हिंसा तथा प्रताडनाको सिकार बन्न बाध्य महिलाको फेहरिस्त लामो छ । 

सामाजिक सञ्जालहरूको बढ्दो प्रयोग तथा पहुँचले विचार अभिव्यक्तिमा सहजता ल्याएको छ । आवाजविहीनहरूको आवाज मुखरित गर्नका लागि डिजिटल प्लाटफर्महरू सशक्त माध्यम बनिरहेका छन् । यसले समाजको सशक्तीकरण, विकास र चेतना प्रवाहमा भूमिका नखेलेको होइन । तर सामाजिक चेतनामा कमी, डिजिटल डिभाइडको जर्जर अवस्था, डिजिटल साक्षरताको कमी, नियामक निकायको कमजोर नियमन क्षमता, साइबर स्पेसमा गोपनीयता तथा सुरक्षाको प्रत्याभूतिको अभावजस्ता कारणहरूले गर्दा भर्चुअल आक्रमण तथा डिजिटल हिंसाको खतरा बढिरहेको छ ।

समाजमा बढिरहेको निराशा, राजनीतिक नेतृत्वको अलोकप्रियता र असफलता, कुशासन तथा भ्रष्टाचारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई झनै उग्र, असहिष्णु, अराजक तथा हिंस्रक बनाइरहेको छ । जसको प्रमुख तारो महिलाहरू नै हुन थालेका छन् । 

अभिव्यक्त विचारसँग असहमत हुने पक्षमा न्यूनतम धैर्यता, मर्यादा तथा दायराको बोध नहुने अनि सामाजिक सञ्जाल, इमेल तथा विभिन्न वेबसाइटहरूमार्फत अनैतिक, अराजक र नृसंश ढंगले विरोध र आक्रमण गर्ने प्रवृत्ति बढेको छ । जसका कारण व्यक्तिगत तहमा ओर्लिएर गालीगलौज, गोपनीयता हनन, आरोप र लाञ्छनासँगै महिलालाई अपराधी करार गरिन्छ ।

महिलाका लागि सामाजिक सञ्जालहरू यातना गृहमा परिणत हुँदै छन् । महिलाका सोसल मिडिया पोस्टमा द्विअर्थी भाव खोज्ने, अपलोड गरेका तस्बिरमा नितम्ब र वक्षस्थलको टिप्पणी गर्ने र महिला बोले–हाँसेको तथा रमाएको देख्नै नसहने स्त्रीद्वेषी मनोविज्ञानका कारण महिलाहरूका लागि टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्सजस्ता डिजिटल मुकामहरू हिंसाका नयाँ चौतारी बनिरहेका छन् । 

अश्लील तथा आपत्तिजनक टिप्पणी र मेसेजसँगै विभिन्न खालका धम्कीमार्फत महिलाविरुद्ध अनलाइन दुर्व्यवहार हुने गरेको छ । सोसल मिडियामा महिलाका नक्कली अकाउन्ट खोलेर नाम तथा फोटो र भिडियो सामग्रीको दुरुपयोग गर्दै बदनाम गराउने वा गलत फाइदाका लागि प्रयोग गर्ने घटना पनि बढिरहेका छन् ।

एआईबाट सिर्जित तथा डिजिटल रूपमा सम्पादित तस्बिर तथा भिडियोहरू तयार पारी अनलाइनमा प्रचार गरेर प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि पनि डिजिटल हिंसाकै रूप हुन् । कतिपय महिलाहरूलाई त साइबर अपराधीहरूले निरन्तर अनलाइन निगरानी तथा ट्र्याक गर्दै भौतिक रूपमै खतरा तथा जालमा पार्ने गरेका घटनाहरूसमेत छन् । 

सूचना प्रविधि र इन्टरनेटको पहुँच बढ्दै जानु समाज विकासको दृष्टिले सकारात्मक हो । तर समाजको परम्परागत प्रवृत्ति र पितृसत्ताले सिर्जना गरेको महिला हिंसाको दुष्चक्रलाई सूचना प्रविधि र सामाजिक सञ्जालले झनै जटिल बनाएको छ ।

महिला हिंसाको स्वरूप अब भौतिक आक्रमणमा मात्र सीमित नरही भर्चुअल प्रताडना, शोषण, उत्पीडन तथा डिजिटल सेबोटेजका रूपमा विकास भएको छ । स्मार्टफोन तथा इन्टरनेटको पहुँचसँगै सामाजिक सञ्जालको बढ्दो प्रयोगले महिलामाथि डिजिटल हिंसा बढाएको छ ।

सेयरकास्ट इनिसिएटिभको हालैको एक तथ्यांकअनुसार नेपालमा ८५ देखि ९० प्रतिशत महिला हिंसा सामाजिक सञ्जालमार्फत हुने गरेका छन् । त्यसमध्ये पनि ८२ प्रतिशतचाहिँ फेसबुक तथा मेसेन्जरबाट हुने गर्छन् । टिकटक, एक्स, ह्वाट्सएप, भाइबर, इमेल तथा इन्स्टाग्रामबाट हुने महिला हिंसाको हिस्सा पनि उल्लेख्य छ । 

डिजिटल हिंसा बढिरहँदा महिलामा डिजिटल साक्षरता भने जम्मा ३१ प्रतिशत मात्रै छ । सामाजिक सञ्जाल तथा अनलाइन प्लाटफर्महरू चलाउँदा के कुरामा ध्यान दिने ? आफ्नो गोपनीयताको रक्षा कसरी गर्ने ? व्यक्तिगत जानकारी तथा डेटाको सुरक्षा कसरी गर्ने ? साइबर आक्रमणबाट कसरी जोगिने ? साइबर अपराध वा हिंसा भएमा कहाँ र कसरी उजुरी गर्ने ? भन्ने विषयमा निकै कम मात्रै महिला तथा किशोरीहरूलाई जानकारी छ । जसका कारण सामाजिक सञ्जालमा व्यस्त बन्ने महिलाहरू डिजिटल हिंसाको अत्यधिक सिकार भएको पाइन्छ । 

सूचना प्रविधि हाम्रो दैनिकीको हिस्सा बनिरहेको र यसले जीवनयापनलाई सरल र सहज बनाउँदै लगेको भए तापनि महिला तथा बालिकामाथिको हिंसाका लागि यसको अस्त्रीकरण तथा दुरुपयोग पनि भइरहेको छ । महिलाविरुद्धको हिंसाको नयाँ स्वरूप तथा माध्यमका रूपमा विकराल बन्दै गएको डिजिटल हिंसाको विषय सरकार, समाज तथा सरोकारवाला सबैको चासो र चिन्ताको विषय बन्नुपर्छ ।

आम महिला, किशोरी तथा बालिकालगायत सबै जनमानसमा डिजिटल साक्षरता तथा चेतनाको विकास गर्ने, डिजिटल हिंसामा संलग्न पीडकमाथि सख्त कारबाही तथा पीडितलाई शीघ्र न्याय निरुपण र डिजिटल हिंसाविरुद्ध उजुरी गर्ने तथा आवाज उठाउने कार्यलाई प्रोत्साहन गर्नु आवश्यक छ ।

महिलामाथि विभिन्न निहुँमा सामाजिक सञ्जालमार्फत हुने अराजक, संगठित तथा सामूहिक दुर्व्यवहार र प्रताडनाका विरुद्ध समाजका चेतनशील सदस्यले आवाज बुलन्द पार्ने अनि सरकारी संयन्त्रहरूले डिजिटल हिंसाको नियन्त्रणमा ध्यान दिए मात्रै अनलाइन प्लाटफर्मबाट डराएर भाग्नुपर्ने तथा हिंसाको सिकार हुनुफर्ने महिलाको नियति बदलिनेछ । 

मीना

Link copied successfully