कुनै दल वा उम्मेदवारका विषयमा समर्थन वा विरोध जनाउँदा पुरुषलाई दलाल वा पैसामा बिकेको र महिलालाई सिधै चरित्रमाथि नै प्रश्न उठाउने मात्र होइन, सामाजिक रूपमा यौन दुर्व्यवहार गर्ने क्रम बढेको छ
What you should know
काठमाडौँ — निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कसैले आफ्नो विचार वा टिप्पणी प्रस्तुत गर्दा अर्को समूह सामाजिक सञ्जालमा तुरुन्तै धम्कीमा उत्रने र चरित्रहत्या गर्ने प्रवृत्ति बढेको छ । कुनै विषयमा समर्थन वा विरोध जनाउँदै अभिव्यक्ति दिँदा पुरुषलाई दलाल वा पैसामा बिकेको र महिलालाई चरित्रमाथि नै प्रश्न उठाउने मात्र होइन, सामाजिक रूपमा यौन दुर्व्यवहार गर्ने क्रम बढेको छ । यसले निर्वाचनको वातावरणलाई दूषित बनाएको छ ।
टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ को ४७ औं अंकलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ । आइतबार प्रसारित ‘ट्रेलर’ मा एमाले सचिव महेश बस्नेत देखिनासाथ कार्यक्रम सञ्चालक तथा निर्देशक विशाल भण्डारीमाथि गालीगलौज सुरु भएको थियो । सामाजिक सञ्जालमार्फत आक्रमण तीव्र भएपछि भण्डारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।
भण्डारीले आइतबार बेलुका ७ बजे ‘ट्रेलर’ फेसबुकमा ‘सेयर’ गरेका थिए । त्यसपछि ‘रेस्ट इन पिस ब्रदर विशाल भण्डारी’, ‘झोले’ भनी गालीगलौज सुरु भएको थियो । कतिपयले त ‘विशाल भण्डारीको छाला काढेर रोडमा ओछ्याएर बस्ने बेला भएको छ’ भन्दै हिंसात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रम प्रसारण भएमा आउने दिनमा हरेक कामको विरोध र बहिष्कार गर्ने चेतावनी दिइएको थियो । त्यति मात्र होइन, भण्डारीलाई अश्लील गाली पनि गरिएको छ । नेपालको झन्डा प्रोफाइल राखेका व्यक्तिहरूले समेत बाबुआमा, छोराछोरी, दिदीबहिनी जोडेर अश्लील गाली गरेका छन् ।
‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ को मंगलबार प्रसारित अंकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहालको क्यारिकेचर पनि गरिएको थियो । उनीहरूको क्यारिकेचरलाई लिएर नेकपानिकट ‘जेन–जी रेड फोर्स नेपाल’ ले आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्यो । ‘भिडियोमा आदरणीय नेतृ रेनु दाहालको चरित्रचित्रण गर्दै हाम्रो नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्व तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजकप्रति व्यंग्य प्रहार गरिएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ । यसप्रति संगठनले आपत्ति जनाएको छ ।
आलोचना लोकतान्त्रिक अभ्यासको हिस्सा हुन सक्ने तर व्यक्तिगत लाञ्छना र धम्की स्वीकार्य नहुने भण्डारीको भनाइ छ । ‘कानुनी उपचार नै अपनाउँछु भनेपछि धम्की अलि कम हुन थालेको छ,’ उनी भन्छन् ।
सामाजिक सञ्जालका केही प्रयोगकर्ताको असहिष्णुता कन्टेन्ट क्रिएटर सुरुचि बुढाथोकीले पनि भोगेकी छन् । जेन–जी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएपछि उनले ‘गो ब्याक रवि लामिछाने’ भन्दै भिडियो बनाएकी थिइन् । भिडियोमा उनले आफूहरूले कुनै व्यक्तिलाई जेलबाट निकाल्न आन्दोलन नगरेको भन्दै जेन–जी आन्दोलनको आवरणमा कुनै व्यक्ति जेलबाट निस्किनु गलत भएको बताएकी थिइन् । तर उनको भनाइ सार्वजनिक भएपछि फेसबुक, रेडिटलगायतका प्लाटफर्ममा उनीमाथि गालीगलौज भयो ।
गालीगलौज सुरुचिमाथि मात्र सीमित रहेन । उनको परिवारको तस्बिर नै सामाजिक सञ्जालमा छरपस्ट पारियो । ‘नेपो किड’ भन्दै उनको परिवारको तस्बिरसहितको कोलाज ‘ट्रोल टलिवुड’ नामक पेजबाट सार्वजनिक गरियो र ‘ट्रोल’ भयो । त्यही तस्बिर ‘एनईबी नेपाल’ नामक फेसबुकलगायत पेजबाट भाइरल गराइयो । अहिले पनि कुनै दलको समर्थन नगरी राम्रो उम्मेदवारको पक्षमा बोल्दा आफूलाई ‘त्यो पार्टीले कति पैसा दियो ?’ भन्ने प्रश्न बर्सिने गरेको सुरुचिले सुनाइन् ।
पारिवारिक तस्बिर कमेन्ट सेक्सनमा राखेर अपमान गरिँदा आफूलाई गहिरो मानसिक असर परेको उनको भनाइ छ । ‘म र मेरो परिवारमाथि आएको घृणा देखेपछि सामाजिक सञ्जालमा बोल्न नसक्ने अवस्था आएको छ,’ उनले भनिन्, ‘बुबा–आमाका फोटाहरू जताततै अपलोड गरेर झोले भनेर लेखिदिने गरिन्छ । त्यसैले केही बोल्न/लेख्न पनि डराउनुपर्ने अवस्था आएको छ ।’
राजनीतिक टिप्पणीका कारण सामाजिक सञ्जालमा भीडको निसानामा परेकी कलाकार हुन् नवीना सिलवाल । ‘खुइली’ नामबाट परिचित उनले रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र सर्वसाधारण ठगिएको विषयबारे बोल्दा आफ्नो चरित्रहत्या गरिएको बताउँछिन् । ‘राजनीतिक प्रश्न सोध्ने वा आलोचना गर्नेबित्तिकै अपशब्द बोल्ने, चरित्रहत्या गर्ने, नक्कली फोटो (डिपफेक) बनाएर सामाजिक सञ्जालमा फैलाउने प्रवृत्ति बढेको छ,’ उनले भनिन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नवीनाको तस्बिर जोडेर अहिले आपत्तिजनक सन्देशसहित सामाजिक सञ्जालमा भाइरल गराइएको छ । ‘अश्लील शब्द प्रयोग गर्दै गाली गर्ने त कति छन् कति ! सिधै मेसेज नै पठाउँछन्,’ उनले भनिन् ।
नवीना अहिले साइबर अपराधअन्तर्गत कानुनी उपचार खोजिरहेकी छन् । ‘म कलाकार हुनुभन्दा पहिला यो देशको नागरिक हुँ । देशको राजनीति र भविष्यबारे बोल्न पाउनु मेरो अधिकार मात्र होइन, कर्तव्य पनि हो,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा आउने गालीगलौज र मानसिक दबाबले धेरैलाई चुप लाग्न बाध्य बनाइरहेको छ । हिजो हाम्रा बाबुआमा बोल्न डराउँथे, उनीहरूले लडेर हामीलाई बोल्न सक्ने बनाए । तर आज फेरि आफ्नो कुरा राख्न डराउनुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भनिन् ।
गायिका ज्योति मगर पनि एक समय एआई प्रविधिमार्फत सिर्जित तस्बिरको सिकार बनेकी थिइन् । एमालेको १३ औं महाधिवेशनमा उनले ओलीसँगै बसेर सुन्तला खाएकी थिइन् । तर त्यही तस्बिरलाई ‘डिपफेक’ बनाएर आपत्तिजनक अर्थ लाग्ने गरी सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो ।
निर्वाचनका बेला हरेकजसो दलले सन्देशमूलक गीत र म्युजिक भिडियो बनाएका छन् । तर त्यस्तै भिडियोमा अभिनय गरेकै कारण सामाजिक सञ्जालमा आफूमाथि हिंसा हुने डरले मोडेल तथा टिकटक स्टार स्मारिका ढकालले भिडियो रिलिज नहुँदै माफी मागेकी थिइन् ।
‘मैले एकदम ठूलो गल्ती गरें । हजुरहरूले मलाई गाली गर्नु हुन्छ भन्ने मलाई थाहा छ । अहिले रिग्रेट भइरहेको छ । कहिलेकाहीँ मान्छेबाट गल्ती हुँदो रहेछ,’ हात जोड्दै उनले भनेकी छन्, ‘अहिले मैले जुन टिमसँग काम गरेकी छु, उहाँहरू मैले पहिला पनि काम गरेको टिम हो । त्यसैले उहाँहरूले बोलाएपछि म गएँ । गीत एमालेको रहेछ । मैले मेकअप गरिसकेपछि मात्र थाहा पाएँ ।’ भिडियो रिलिज भएपछि दर्शकले गाली गर्छन् भन्ने डरकै कारण माफी मागेको स्मारिकाले कान्तिपुरसँग बताइन् ।
जात व्यवस्था, महिला अधिकार र पितृसत्ताबारे बोल्दा र लेख्दा आफू र साथीहरूले सामाजिक सञ्जालमा घृणा र आक्रोशको सामना गर्नुपरेको उनले बताए । ‘कतिले त सजिलै पचाउलान् तर कतिपय मेरै साथीहरू यस्ता अभ्यासबाट बोल्नै डराउने र डिप्रेसनमा जाने अवस्था बनेको छ,’ उनले भने ।गायक तथा अभिनेता प्रकाश सपुतले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दा सामाजिक सञ्जालमा ट्रोल र बहिष्कारको सामना गर्नुपरेको थियो । १९ फागुन २०८१ मा ‘केपी शर्मा ओली ः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रममा सपुतले ओलीबाट संघर्ष गर्न सिक्नुपर्ने बताएका थिए । ‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी छ,’ उनले भनेका थिए ।
सपुतको अभिव्यक्तिपछि उनको जातसमेत जोडेर सामाजिक सञ्जालमा गालीगलौज भएको थियो । यतिसम्म कि उनको फिल्म बहिष्कार गर्न आह्वान गर्दै अभियान चल्यो । विवादको असर उनको फिल्म ‘वसन्त’ को प्रदर्शनमा पर्यो । त्यही प्रसंगलाई लिएर गत १० कात्तिकमा ‘सोल्टिनी’ फिल्मको प्रचार कार्यक्रममा एक पत्रकारले सपुतलाई ‘तपाईंले ओलीको प्रशंसा गर्नु गलत भयो ?’ भनी प्रश्न गरेका थिए । जवाफमा उनले ‘गलत भयो’ भनी स्वीकारेका छन् । सपुत अहिले रास्वपाको सामानुपातिक सांसदको उम्मेदवार छन् ।
स्मारिकाको अग्रिम माफी होस् वा विशाल भण्डारीमाथि गालीगलौज, यी सबै प्रकरणले साझा सन्देश दिन्छन्– सामाजिक सञ्जाललाई दुरुपयोग गरेर व्यक्तिगत कुण्ठा पोख्ने र घृणा फैलाउने होडबाजी चलेको छ ।
व्यंग्य, आलोचना र समर्थन लोकतन्त्रका स्वाभाविक पक्ष हुन् । डिजिटल प्लाटफर्मले अभिव्यक्तिको सहज माध्यम हो । तर व्यक्तिगत चरित्रहत्या तथा परिवारमाथि प्रहार गर्ने, एआईमार्फत अश्लील तस्बिर बनाएर फैलाउनेजस्ता क्रियाकलापले सामाजिक राजनीतिक बहसलाई पनि प्रदूषित बनाइरहेको छ । त्यसविरुद्ध कानुनी उपचारको बाटो रहे पनि पनि साइबर अपराधको प्रमाण संकलन, प्रक्रिया र न्यायिक ढिलाइले पीडितलाई तत्काल राहत पाउन निकै गाह्रो हुन्छ ।
लेखक एवं नागरिक अभियन्ता सञ्जीव उप्रेती ‘डिजिटल स्पेसमा कसैको नियन्त्रण नभएको र कसले कहाँबाट के लेख्छ भन्ने थाहा नहुने भएकाले संसारभर ‘बुलिङ’ गर्ने अभ्यास देखिएको बताउँछन् । भन्छन्, ‘यो समस्या हो । यसले फरक विचारहरूलाई निषेध गर्छ ।’
जात व्यवस्था, महिला अधिकार र पितृसत्ताबारे बोल्दा र लेख्दा आफू र साथीहरूले सामाजिक सञ्जालमा घृणा र आक्रोशको सामना गर्नुपरेको उनले बताए । ‘कतिले त सजिलै पचाउलान् तर कतिपय मेरै साथीहरू यस्ता अभ्यासबाट बोल्नै डराउने र डिप्रेसनमा जाने अवस्था बनेको छ,’ उनले भने ।
डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल राजनीतिक कार्यकर्ता मात्रै नभएर र सामान्य नागरिकले पनि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्न डराउने अवस्था रहेको बताउँछन् । निर्वाचनमा मतदाताले प्रश्न सोध्ने, उम्मेदवारले उत्तर दिने अभ्यास सामान्य भए पनि केही दल र उम्मेदवारले प्रश्न निषेध गर्न खोजेको देखिएको उनको विश्लेषण छ । ‘राजनीतिक दलहरू प्रश्न र फरक मत सुन्न तयार छौं भनेर अघि नबढ्ने हो भने खुला समाज र लोकतन्त्रको प्रवर्द्धन हुँदैन,’ उनी भन्छन्, ‘दलहरूले नै प्रश्न सुन्ने बानी बसाए भने कार्यकर्ता पनि प्रश्न सोध्नेबित्तिकै आक्रमणमा उत्रँदैनन् ।’
सामाजिक सञ्जालमा बोल्न डराउने हो भने लोकतन्त्र झन् संकटमा पर्ने उनको भनाइ छ । ‘अहिले म यो दललाई समर्थन गर्छु वा यो दलनिकट छु भनेर खुलेर भन्न पनि नसकिने अवस्था छ । यस्तो अभ्यासले समाजबाट संवाद र प्रश्न हराएर जाने, नेतामुखी व्यवस्था हुर्किने जोखिम छ,’ उनी भन्छन् ।
