सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । हिँडडुल गर्ने पनि कम देखिन थालेका छन् । चोक–चोकमा सर्वसाधारणले आगो तापेर राहत महसुस गर्ने गरेका छन् ।
What you should know
रौतहट/पर्सा/कपिलवस्तु/बर्दिया/बाँके/कैलाली — एक सातायता हुस्सुसँगै शीतलहर चलेपछि पूर्वदेखि पश्चिम तराईसम्मको जनजीवन प्रभावित भएको छ । बढ्दो चिसोको कारण विपन्न वर्गका साथै बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन् ।
पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर दक्षिणपूर्व गएपछि रौतहटको चन्द्रपुर–९ चेतनगर गाउँ आउँछ । गाउँको पुछारमा सानो झुपडी छ । त्यही झुपडीभित्र परालको मान्द्रो (चटाइ) ओढेर ६० वर्षीया देवरतिया देवी माझी (मुसहर्नी) सुतिरहेकी थिइन् । भुइँमा पराल/बोरा बिछ्याएकी थिइन् । जाडोले आइतबार बिहान ११ बजेसम्म उठ्न सकेकी थिइनन् । उनका तीन छोरा छन् । जेठा भागिरत, माइला रामकृष्ण र कान्छो जागरित मुसहर हुन् । उनीहरू आमालाई छाडेर अन्यत्र गएका छन् ।
देवरतिया बेसहाराजस्तै रहेको छिमेकी वीरबहादुर श्रेष्ठले सुनाए । ‘शीतलहर चलेको छ । जाडोमा ओढ्ने पनि छैन,’ उनले भने, ‘परालको मान्द्रो ओढेर रात बिताउने गरेकी छन् । बिजोग छ ।’ देवरतियाका श्रीमान् लालगोविन्द मुसहरको १० वर्षअघि मृत्यु भइसकेको छ । उनी मात्र होइन जाडो बढेकाले चेतनगरका अधिकांश मुसहरको जीवन कष्टकर छ । बस्तीका वृद्धवृद्धा बालबालिका प्रभावित छन् ।
दुई दिनदेखि बढेको चिसो र शीतलहरले रौतहटलगायत मधेशका जिल्ला प्रभावित छन् । शीतलहरले विपन्न बस्तीका साथै सुत्केरी, गर्भवती, वृद्धवृद्धा, विपन्न परिवार बढी प्रभावित छन् । चिसो बढेसँगै अधिकांश बासिन्दा गाउँमा धुनी बालेर आगो तापिरहेका छन् । बजारलगायत क्षेत्रमा मानिसको चहलपहल न्यून छ । रौतहटका डुमरिया, चेतनगर, सन्तपुर, गुजराको जुगौलिया, कटहरिया, ईशनाथ, गौर, समनपुरलगायत क्षेत्रका दलित बस्तीमा जाडोको मार बढी छ ।
यस्तै, बढ्दो चिसो र शीतलहरका कारण वीरगन्ज महानगरपालिकाले ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले सोमबार सूचना जारी गर्दै ७ देखि ११ पुससम्म पठनपाठन स्थगित गरिएको जनाएको हो ।
यस्तै, बर्दियामा एक सातादेखि बाक्लो हुस्सु लाग्दा घाम देखिएको छैन । चिसो बढेपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने विपन्न परिवारको जीवन कष्टकर बनेको छ । गुलरिया नगरपालिका–८ टपरास्थित सुकुम्बासी टोलका बाबुलाल धोबीको परिवार चिसोको मारमा छ । कपडा धोएर गुजारा चलाउने परिवारलाई कमाइ नभएपछि रासनपानी अभाव भएको छ । बाबुलाल गाउँ–गाउँमा ठेला गुडाएर कपडा ‘आइरन’ गरेर साँझ–बिहानका लागि छाक जुटाउँथे । केही दिनदेखि जाडोले घरमै थन्किन बाध्य भएको उनले बताए ।
गुलरिया–८ की प्रेमा धोबीको पनि बाबुलालकै जस्तो पिरलो छ । ‘अन्य काम गर्न हामीसित सीप छैन,’ उनले भनिन्, ‘कपडा धुने काम नपाएका दिन घरमा रासन हुँदैन ।’ उनका पति, दुई छोरा, एक छोरीसँगै छन् । जाडो बढेपछि आगो सहारा बनेको गुलरिया–८ की ६२ वर्षीया कोइली लोधले बताइन् । ‘बाक्लो र न्यानो लुगा किन्न पैसा छैन,’ उनले भनिन्, ‘काठ/दाउरा पनि किन्ने स्थिति छैन, जाडोबाट बच्न पातपतिङ्गर सोहरेर आगो ताप्छु ।’
जाडोबाट कसरी जोगिने भनेर सूचना प्रवाह गरिरहेको गुलरिया नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मुकुन्द अर्यालले बताए । पहिलो चरणमा चोक–चोकमा दाउरा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । जाडो बढेसँगै जिल्लाका ८ वटै पालिकालाई दाउरा वितरण गर्न परिपत्र गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
बाँकेमा चिसो बढेसँगै ‘शीतलहर आकस्मिक योजना’ लागू गरिएको छ । शीतलहरबाट सर्वसाधारणलाई जोगाउन यस्तो योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । जोखिममा पर्न सक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी पहिचान गरी उनीहरूलाई सघाउने निर्णय गरिएको उनले बताए । यस वर्ष बाँकेमा १ लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रूपन ज्ञवालीले सहरीभन्दा ग्रामीण बासिन्दा सबैभन्दा बढी प्रभावित हुने बताए । पूर्वानुमानअनुसार शीतलहरबाट नेपालगन्जका ८ हजार ५ सय २४, कोहलपुर नगरपालिकाका ४ हजार १ सय ३८, खजुरा गाउँपालिकाका ३ हजार १ सय ९३, जानकी गाउँपालिकाका ३ हजार
८ सय ८९ परिवार प्रभावित हुने देखिएको छ । शीतलहरले कपिलवस्तुको जनजीवन कष्टकर बन्नुका साथै सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । शुक्रबारबाट घाम लागेको छैन । बाक्लो हुस्सुले कठ्याङ्ग्रिने गरी जाडो बढेको छ । शीतलहरले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ ।
हिँडडुल गर्ने पनि कम देखिन थालेका छन् । चोक–चोकमा सर्वसाधारणले आगो तापेर राहत महसुस गर्ने गरेका छन् । आइतबार कपिलवस्तुमा न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम १४ डिग्री सेल्सियस रहेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग इकाइका रामु रेग्मीले बताए ।
हवाई सेवा प्रभावित
एक सातादेखि बाक्लो हुस्सु लाग्न थालेपछि तराईका जिल्लामा हवाई सेवा प्रभावित बनेको छ । मौसम नखुलेपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान/अवतरण हुन सकेको छैन । बिहान न्यून भिजिबिलिटी हुने गरेको छ । दिउँसो केही सुधार भए मात्र जहाज अवतरण हुने गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
मौसम प्रतिकूल हुँदा बाँकेको नेपालगन्जस्थित विमानस्थलबाट पहाडी जिल्लामा हुने उडान प्रभावित बनेको छ । नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुने गरेका छन् । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा चिसोले जनजीवन प्रभावित हुनुका साथै हवाई यातायात अवरुद्ध भएको छ । धनगढी विमानस्थलबाट बिहानका उडान प्रभावित भएका छन् । शुक्रबार सम्पूर्ण उडान रद्द भएका थिए ।
‘बाक्लो हुस्सुका कारण शुक्रबारका सम्पूर्ण उडान रद्द भए, अरू दिन पनि समयमा उडान हुन सकिरहेको छैन,’ धनगढी विमानस्थल प्रमुख बालकुमार सिंहले भने,‘ धनगढी–काठमाडौं दैनिक ६ वटा उडान हुँदै आएका थिए ।’ आइतबार धनगढीको न्यूनतम तापक्रम ९ र अधिकतम १५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय कार्यालयका मेट्रोलोजिस्ट अखिलेश चौरसियाले बताए ।
