दसैंमा काठमाडौं खाली हुन्छ, शान्त हुन्छ । घाम पनि मिठो हुन्छ । यस्तो समयमा साथीभाइसँग भेट्यो, गितार बजायो अनि रमाइलो गर्यो ।
काठमाडौँ — बच्चाबेला घरमा अजा (हजुरबुवा) र अजी (हजुरआमा) हुनुहुन्थ्यो । मेरो बुवाको दाजुभाइ दिदीबहिनी नै एक दर्जन ! ठूलो परिवार। त्यसैले टीका लगाउन पूर्वको विभिन्न ठाउँ जान्थ्यौं ।
म काठमाडौं जन्मेँ । तर, टीका लगाउन धरान, ताप्लेजुङदेखि सिलिगुडीसम्म पुग्थ्यौं । सबैजना भेला हुँदा त त्यतिबेला दसैं वास्तविक अर्थमै ठूलो हुन्थ्यो । यो १६/१७ वर्षअघिकै कुरा हो । त्यतिबेला आफन्तका सबै दाजुभाइ दिदीबहिनीसँग छुट्टै आत्मीयता थियो ।
अहिले त हजुरबुवा र हजुरआमा नै बितेर जानुभयो । अहिलेको दसैं त शून्य-शून्यजस्तै लाग्छ । म घरको एक्लो छोरा । हाम्रो परिवार धेरै ठाउँमा छरिएका छन् । नेपालमा मात्रै होइन, धेरैजना अष्ट्रेलिया, अमेरिका, बेलायत पुग्नुभयो । तर, त्यतिबेला जसरी अजा र अजीले सबै परिवारलाई जोडेर राख्नुभएको थियो, मान्छे बितेर गएपछि त्यो पनि सँगसँगै जाँदो रहेछ ।अहिले त म पनि हुर्कें । ठूलो भइसकेपछि जिम्मेवारी बढ्दो रहेछ । पहिला दक्षिणा थाप्न पाइन्थ्यो । अहिले त अरुलाई टीका लगाइदिँदा दक्षिणा कसरी जुटाउने भन्ने हुन्छ ।
बाल्यकालको दसैं सम्झँदा सधैं टीका थाप्न पालो कुरेको याद आउँछ । परिवार ठूलो, अनि आफू त्यही परिवारको सानो सदस्य । साइतपछि पनि घण्टौं कुर्नुपर्थ्यो टीका थाप्न । दाजूभाइ दिदीबहिनीसँगको भेट एकदमै रमाइलो हुन्थ्यो । काठमाडौंमा हुर्केकाले मलाई पूर्व जाँदा अनौठो लाग्थ्यो । पानी पनि मिठो लाग्थेन । रहनसहन बेग्लै लाग्थ्यो । तर, त्यतिबेला मेरो ठूलो परिवार रहेछ भन्ने खुसी बेग्लै हुन्थ्यो । अहिले त्यो अनुभव हराउँदै गएको छ ।
त्यतिबेला दक्षिणा भन्नेबित्तिकै अर्कै अनुभव हुन्थ्यो । ठूलो परिवारमा दक्षिणा पनि टन्नै पाइने । बुवा र आमा पक्षका सबैकहाँ टीका थाप्दा १०/१५ हजार नै पुग्थ्यो । त्यो पैसा त एकदमै ठूलो रकम हुन्थ्यो । दाजुभाइसँग मिलेर फुटबल किन्ने, उपट्याङ गर्थ्यौं । रिमोर्ट कन्ट्रोल गाडी । वर्षभरि किन्न नपाएका यस्तै खेलौना दक्षिणाले किनिन्थ्यो । दक्षिणाको पैसा त बुवा आमाले पनि नलिने, आफैले राख्न मिल्ने । एक हिसाबले दक्षिणा भन्ने बित्तिकै साह्रै रमाइलो लाग्थ्यो । दक्षिणाको पैसाले बन्दुक किनेको झलझली याद आउँछ ।
फुटबल मात्रै होइन मादलदेखि गितार पनि दक्षिणाकै पैसाले किनेको छु । अहिले त त्यस्तो छैन । टीकाको अघिल्लो दिनसम्म काम गरिरहनुपर्ने हुन्छ । समय बदलिएको छ । बाल्यकालको दसैं, रमझम आफू ठूलो भइसक्दा फरक हुँदो रहेछ । दसैं त बाल्यकालकै रमाइलो । चङ्गा उडाउन पाइन्थ्यो, लङ्गुरबुर्जा पनि खुब खेलिन्थ्यो । त्यतिबेला त चङ्गा नै जिन्दगी बनेको थियो । मैतीदेवीमै घर। त्यहीँ थियो पुरानो चङ्गा पसल छ । त्यहाँबाट चंगा किनेर धेरै नै खेलियो । अहिले सोच्दा त त्यतिबेलाको जिन्दगी नै अर्कै थियो भन्ने लाग्छ, पूर्वजन्म भन्याजस्तो ।
फेरि दसैं भन्नेबित्तिकै नयाँ कपडा पाइन्थ्यो । त्यतिबेला आमाले न्युरोडमा लगेर कपडा किनिदिनुहुन्थ्यो । म त दसैंमै मात्र होइन, वर्ष दिनभरि नयाँ कपडा किनुदिनु भनेर आमालाई भनिरहन्थेँ ।
अहिले त कसरी पैसा जुटाउनुपर्ने तनाव हुन्छ । दसैंमा खर्च धेरै हुन्छ । कपडा किन्नुपर्योल । किनमेल गर्नुपर्योय । दसैंको दक्षिणा छुट्याउनुपर्योय । हामी अहिले घरको सबैजना काम गर्छौं, आमा बुवा र म । अलि बढी मैले काम गर्नुपर्छ, जिम्मेवारी अलि बढी छ भनौं । त्यसैले टीकाको अघिल्लो दिनसम्म सक्दो पैसा जुटाउनमै ध्यान हुन्छ । अनि परिवार, साथिभाइसँग बसेर रमाइलो गरिन्छ । दसैंमा काठमाडौं खाली हुन्छ, शान्त हुन्छ । घाम पनि मिठो हुन्छ । यस्तो समयमा साथीभाइसँग भेट्यो, गितार बजायो अनि रमाइलो गर्यो। । अहिलेको दसैं यसरी नै बित्छ ।
- र्यापर स्पार्कसँग रीना मोक्तानले गरेको कुराकानी
