व्यवसायमा रुची राख्थे रसिक

पुर्ख्यौली घर काभ्रेको खोपासी रहेका रसिकको टेकुमा पनि थियो बासस्थान । एउटी दिदी बिहेपछि अस्ट्रेलिया पुगेकी थिइन् । उनैले भाइलाई उता लैजान चाहेकी थिइन् ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाहिर झरी र चर्को घाम खेप्दै बसिरहेका आफन्तहरूको पनि उस्तै दुःखान्त कथा सुनियो । उनीहरूका अनुहारमा आफ्नाहरू गुमाउँदाको घनघोर पीडा उर्लिरहेको थियो ।

हातमा योगेन्द्रजस्तै कलिला जवानहरूका फोटो बोकेर उनीहरू न्यायको याचना गरिरहेका थिए । ‘ऊ मेरो दिदीको छोरा हो । प्लस टु सकेर अस्ट्रेलिया जाने तयारीमा थियो । सपना अधुरै भयो,’ हातमा मुस्कुराइरहेका रसिक खतिवडाको तस्बिर बोकिरहेकी सानीआमा स्नेहा केसी थापाले रोइरहेको आँखा पुछ्दै भनिन् ।

पुर्ख्यौली घर काभ्रेको खोपासी रहेका रसिकको टेकुमा पनि थियो बासस्थान । एउटी दिदी बिहेपछि अस्ट्रेलिया पुगेकी थिइन् । उनैले भाइलाई उता लैजान चाहेकी थिइन् । कान्छो छोरा, प्रशस्तै माया । त्यो माया नै उनका बा पुरुषोत्तम र आमा रचनाको खुसी थियो । ‘त्यो दिन उसको आमाले आन्दोलनमा पठाउन चाहनुभएकै थिएन । बाबुले सबै गएका छन्, हामीले पनि साथ दिनुपर्छ भनेर पुगेका थिए,’ रचना दम्पतीको खुसी निभेको दिनबारे स्नेहा सुनाउँछिन् ।

यता बानेश्वरमा प्रहरीले गोली बर्सायो । शान्तिपूर्वक चलिरहेको आन्दोलन बिथोलियो । भकाभक जवानहरू ढलिरहेका दृश्यहरू सामाजिक सञ्जालमा फैलिन थाले । अस्ट्रेलियामा रहेकी रसिककी दिदीले भिडियो हेर्ने क्रममा यस्तो भिडियो देखिन्, जहाँ आफ्नै भाइजस्तै देखिने केटालाई गोली लागेको थियो । उनलाई हतार–हतार स्कुटीमा हालेर अस्पताल लगिँदै थियो । उनले तत्कालै बालाई कल गरेर सोधिन्– भाइ खै ? 

बा भाइ कता छ भन्नेबारे बेखबर थिए । भने– ममीलाई सोध न । जब उनले आमालाई फोन गरेर सोधिन्, शंका सत्य भइदियो । आन्दोलनमा शहादत प्राप्त गरेका ती केटा आफ्नै भाइ रहेछन् ।

‘मैले त राति ९ बजे थाहा पाएँ । त्यसपछि हामी बच्चा हेर्छु भनेर अस्पताल आयौं । सूर्य अस्ताइसक्यो हेर्न मिल्दैन भनेर फर्काइदिए । भोलिपल्ट बिहान ८ बजे आयौं । १० बजे हेर्‍यौं । छातीमा २ वटा गोली लागेको थियो,’ आफूहरू मुर्छित परेको त्यो दिन स्नेहा सम्झिन्छन् । रसिक व्यवसायमा रुचि राख्थे । आफ्नै सपना पछ्याउन चाहन्थे उनी । ‘तर आफ्नो सपना पूरा नगरी बाबुले छाडेर गयो,’ उनी थप विह्वल सुनिन्छिन् ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

छिनभरमै ढल्यो सहारा

बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए

सामाजिक सञ्जालबाट खुल्यो छत्रमानको पहिचान

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

कान्तिपुर

Link copied successfully