सामाजिक सञ्जाल प्लाटफर्महरूलाई निष्क्रिय बनाउने निर्णयलाइ कलाकारहरुले अभिव्यक्ति स्वतन्त्रता खोस्ने सरकारी कदमको रुपमा अर्थ्याउँदै विरोध गरेका छन् ।
काठमाडौँ — नेपाल सरकारले सूचीकृत हुन नआएको भन्दै सामाजिक सञ्जाल प्लाटफर्महरूलाई निष्क्रिय बनाउने निर्णयविरूद्ध कलाकारहरूले पनि विरोध जनाएका छन् । अभिनेता दयाहाङ राईले कान्तिपुरसँग कुरा गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाए ।
उनले भने, ‘यो सरकारको अलोकप्रिय निर्णय हो । सरकारले विभिन्न कारण देखाएर बन्द गर्नु कुनै हालतमा राम्रो काम हैन ।’
उनले सामाजिक सञ्जाल पछिल्लो समय मानिसहरूको अभिव्यक्तिको माध्यममात्र नभई धेरै कामका लागि अपरिहार्य बनिसकेको उनले बताए । ‘यो निर्णयले हाम्रो दैनिक जीवनमा नै बाधा पार्छ । बिहानै समाचारदेखि लिएर देश दुनियाँको खबर मानिसहरूले सामाजिक सञ्जालबाट थाहा पाउँछन् । सूचनाहरूबाट पनि तत्काल हामी वञ्चित हुन्छौँ,’ उनले भने ।
अभिनेता खगेन्द्र लामिछानेले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रतामाथि सरासर अंकुश लगाएको बताए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘सरकारले दर्ता गर्नका लागि अरु विभिन्न माध्यम अपनाउन सक्थ्यो । बन्दै गर्ने तरिका राम्रो हैन । यो त मान्छेको आवाज बन्द गर्नु हो ।’
अभिनेत्री रेखा थापाले सरकारको यो निर्णयले थुप्रै युवाहरूको रोजिरोटी खोसिने बताइन् । ‘अहिले कति धेरै युवाहरूले सामाजिक सञ्जालमार्फत योग्यता अनुसार स्व रोजगारी सिर्जना गरिरहेका छन् । बन्द भयो भने उनीहरूको अवस्था के हुन्छ ? सरकारले सामाजिक सञ्जालै बन्द गर्छु भनेर धम्की दिनु राम्रो हैन,’ उनले भनिन्, ‘दर्तामा आउँदाखेरि अहिले भइरहेको भन्दा धेरै राम्रो त हुन्छ । तर यसरी धम्क्याएर बन्द गर्नु भनेको युवाहरूको रोजगारी खोस्नु हो । सरकारले आफूलाई प्रश्न गर्ने प्रशस्तै ठाउँ राख्नु हो ।’
