सञ्चारको परिवर्तन : चिठीपत्रदेखि डिजिटल संवादसम्म

फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको माध्यमबाट स्थानीय सरकारदेखि अन्य सरकारी कार्यालय, वित्तिय संस्था, क्लब, आमा समूहले सूचना पाउने गरेका छन् । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णयसँगै सर्वसाधारण अन्योलमा परेका छन् ।

भाद्र १९, २०८२

शिव पुरी, सन्जु पौडेल, सन्तोष महतारा

The Transformation of Communication: From Letters to Digital Communication

What you should know

तिलोत्तमा/रौतहट/गुल्मी — आफन्तलाई सन्चोबिसन्चोको खबर होस् वा सरकारी सूचना, पछिल्लो समय सूचना प्रविधिमा आधारित सामाजिक सञ्जाबाट एकैपटक लक्षित वर्गसम्म पुग्ने गरेको छ । फेसबुक, ट्विटर, म्यासेन्जरजस्ता सञ्जालले सूचना दिने र लिने दुवैलाई सहज बनाइदिएको छ । 

साथै स्थानीय सरकारदेखि अन्य सरकारी कार्यालय, वित्तिय संस्था, क्लब, आमा समूहहरुले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको माध्यमबाट आन्तरिक होस् वा सार्वजनिक सूचना एकैपटक हरेककहाँ पुग्ने गरेको छ । तर, सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि सर्वसाधारण अन्योलमा परेका छन्  ।

०००

गुल्मी मालिका गाउँपालिका–८ का कृष्णबहादुर खड्का भारतीय सेनामा कार्यरत थिए । २०६० कात्तिक १९ गते लडाइँमा परेर २९ वर्षमै उनको मृत्यु भयो । परिवारले चार दिनपछि मात्रै मृत्युको खबर पाए । सूचनाका प्रशस्त आधार र माध्यम नहुँदा खबर ढिला भइसकेपछि परिवारजनले दाहसंस्कारमा सहभागी हुन सकेन । श्रीमती सिर्जना खड्काले मृत्युको खबर चिठीबाट प्राप्त गरेकै आधारमा सिन्दुर मेटाउन र चुरा फुटाइन् । चिठीबाटै सूचना पाएपछि उनी भारत गएकी थिइन् । पछि पेन्सनका लागि कागजी प्रक्रिया मिलाउन आफन्तले सहयोग गरे । 

भारतीय सेनामा कार्यरत मालिकाकै अर्जेकी टोपली पराजुलीका छोरा जितबहादुरले २०४८ मा आमाको मृत्यु भएको खबर पाउन घरबाट रजिष्ट्ररी चिठी गएपछि ७ दिनपछि थाहा पाए । जितबहादुरको भारतीय सेनामा अवकाशको २२ वर्षपछि २०७९ माघमा मृत्यु भयो । उनका छोरा घनश्याम पनि भारतीय सेनाबाट हालैमात्र अवकाश भए । उनले २०५८ मा आफ्नै छोरा जन्मिएको सुखद खबर सुन्न पनि अर्को दिनसम्म टेलिफोन कुर्नपरेको थियो । प्रतिमिनेट ३५ रुपैयाँ कलमा दूरसञ्चार कार्यालयबाट उनले उक्त खबर पाएका थिए । ‘सूचनाको पहुँच पहिले चिठी र पछि टेलिफोनमा मात्रै थियो,’ उनले भने, ‘समयमा पाउने त सम्भावना नै थिएन, धेरैदिन कुर्नुपर्थ्यो ।’  

रेसुंगा नगरपालिका–६ का ७४ वर्षीय डिल्लीराज पोखरेल अवकाश प्राप्त शिक्षक हुन् । उनी २०२९ मा सेउघा प्राथामिक विद्यालयका प्रधानाध्यापक थिए । विद्यालयमा प्रधानाध्यापक परिवर्तन भएको खबर प्रत्येक घरमा चिठी लेखेर पठाउनुपर्थ्यो । ‘ठूला सूचना रेडियोबाट सुनिथ्यो, अरु माध्यम थिएन,’ उनले भने, ‘विद्यालयमा केही निर्णय हुँदा चिठी लेखेर घरघरमा जानकारी गराइन्थ्यो ।’ अहिले स्मार्ट फोन बोकेका पोखरेलले त्यो दिन सम्झिइरहन्छन् । 

२२ वर्ष अगाडि ८ वर्ष कोरिया बसेका मुसिकोट नगरपालिका–७ का गणेश सापकोटाले कुनै दिन पनि परिवारसँग खबर सोध्न पाएनन् । उनले सञ्चोबिसञ्चोको खबर थाहा पाउन चिठी नै आदानप्रदान गर्नुपरेको विगत सम्झन्छन् । ‘काठमाडौंमा लाइन लागेर सिमकार्ड र कपिलवस्तु गएर सिडिएमए फोन ल्याएर चलाउन पर्थ्यो,’ उनले भने, ‘अहिले हातहातमा मोबाइल छ, सेकेन्डभरमै संसारभर कुरा हुन्छ ।’ उनले आफू विदेशमा हुँदा कुरा गर्न नपाएको तर अहिले विदेशमा रहेका सबै साथीहरुसँग ग्रुप बनाएर एकैपटक कुरा हुँदा अचम्म लाग्ने गरेको बताए ।

अहिलेको प्रविधिको युगलाई देख्दा पुराना पुस्ता अचम्मित पर्छन् । विस्तारै विकसित प्रविधि विकासले अघिल्ला र पछिल्ला दुवै पुस्तालाई समेट्न थालेको छ । सामाजिक सञ्जालको विकासले सूचना आदानप्रदान छिनभरमै हुनेगरेको छ । देशविदेशमा रहेकालाई जन्ममृत्युका खबरदेखि गाउँटोलमै सूचना बाँड्नेसम्म छिनभरमै हुने गरेका छन् । पछिल्लो समय रेडियो, पत्रिकामा सीमित समाचार पनि सामाजिक सञ्जालमार्फत मोबाइलमै पाउन थालेका छन् । 

पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जर्नादन घिमिरेले २५ वर्षअगाडि समाचारका सामग्री हातले लेखेरै हुलाक पुगेर सञ्चार संस्थामा पठाएको सुनाए । ‘सूचना दिनलिन दुवै सहज थिएन,’ उनले भने, ‘अहिले समाजिक सञ्जालले छिनभरमै आदानप्रदान भइरहेको छ ।’ 

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष युवा व्यवसायी तारा भुसालले सामाजिक सञ्जालको प्रयोगले व्यवसायमा सहयोग पुगेको बताए । ‘अहिले व्यवसायका लागि सटर खोलेर कुरेर बसिरहनुपर्दैन,’ उनले भने, ‘सीमित कोठाबाट अनलाइनमै असीमित व्यापार  गर्न सकिन्छ ।’ 

आफ्ना कुनै सामग्रीको ब्रान्डिङ गर्न सामाजिक सञ्जालमा राखे पुग्ने उनले बताए । सामाजिक सञ्जालका कारण सबै नागरिकको सूचनामा समान पहुँच भएको उनको भनाइ छ । ‘एक क्लिक गरेकै भरमा संसारभर सूचना पुगिरहेको छ । सूचनाकै लागि अरुको भर परेर हारगुहार गर्नुपर्ने बाध्यताको छैन,’ उनले भने । 

स्थानीय तहहरुबाट पनि शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका सेवासुविधा र असुविधाको सूचना पनि तत्कालै प्रदान हुने गरेको छ । फेसबुक, म्यासेन्जर, टिकटक, ह्वाटसप, भाइबर र एक्सलगायतका माध्यम यसका सहयोगी बनेका छन् । पछिल्लो प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगले युगान्तकारी परिवर्तन गरेको भुसालले बताए । तर, सरकारले सामाजिक सञ्जाल बन्दको निर्णयले निकै दु:ख लागेको उनको भनाइ छ ।

विश्लेषक गणेश श्रीपाली सामाजिक सञ्जालले सूचनाको सहज पहुँच र अभिव्यक्त हुने अधिकार सबैमा समान रहेको बताउँछन् । ‘सन्देशमूलक सामग्री हेरेर सकारात्मक ज्ञान लिन सकिएको छ,’ उनले भने, ‘सूचनाको प्रापक र प्रेषक सबै हुने माध्यम बनेको छ ।’ फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालका माध्यमले थुप्रै प्रतिभा बाहिर आएको उनले बताए । सामाजिक सञ्जालले भौतिक रुपमा टाढा रहेकालाई जोडेको, सबैलाई अपटेड बनाएको र केही बिर्सने कुरा पनि सम्झाउने गरेको श्रीपालीले बताए ।

आमा सूमहदेखि कार्यालयका सूचना सामाजिक सञ्जालबाटै

बुटवल उपमहानगरपालिकामा ३ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । हरेक शाखामा पुगेर कुनै विषयको बारेमा बताइरहने काम सधैंभरि सम्भव हुँदैन । त्यस्तो बेला पालिकाको फेसबुक पेज, म्यासेन्जर ग्रुपमा राख्ने गरिएको छ । 

उपमहागरकी सूचना अधिकारी तुलसा अर्यालले कर्मचारीसित मात्रै सम्बन्धित सूचनाका लागि म्यासेन्जर र सर्वसाधारणसम्म प्रवाह गर्नुपर्ने सूचना फेसबुक पेजमै राख्ने गरिएको बताइन् । एक्कासि कुनै विषयको जानकारी दिनुपर्दा, संघ, प्रदेश, स्थानीय सरकारबाट प्राप्त सन्देश पठाउनुपर्दा सामाजिक सञ्जाल धेरै नै सहयोगी रहेको उनको भनाइ छ । पालिकाका हरेक शाखाकमा ह्वाट्सएप मार्फत कुराकानी र सन्देश पठाउने काम हुने गरेको उनले सुनाइन् । यसले सूचना समयमै पुग्नुपर्ने विषय भएकाले समय व्यवस्थापन र काम छरितो हुने गरेको अर्यालको अनुभव छ ।

कुनै क्लब वा समूहमा आबद्ध सदस्य आफू भएको स्थानभन्दा केही पर बस्ने भएकाले उनीहरु समक्ष केही कुराकानीमा छलफल गर्ने, कतै जम्मा हुने समय मिलाउने काम सञ्जालबाटै गरिरहेको गतिशील आमा समूह तिलोत्तमा नगरपालिका–५ की अध्यक्ष भगवती पौडेलको भनाइ छ । हाल क्यानडा भ्रमणमा रहेकी उनले आफुलाई प्राप्त भएका सूचना म्यासेन्जर ग्रुपमा राखेर सदस्य साथीहरुलाई कार्यक्रममा सहभागी हुन, बैठक बस्न, केही नयाँ कार्य गर्न सुझाइरहेको बताइन् ।

‘म त्यहाँ हुन नसके पनि धन्न म्यासेन्जर र ह्वाट्सएप छ, सजिलो भएको छ,’ उनले भनिन्, ‘साथीहरु त्यसै सूचनाका आधारमा पुग्नुपर्ने ठाउँमा पुग्ने, जम्मा हुने, छलफल गर्ने, निर्णय त्यसमै राख्ने गर्छन् ।’ पहिलेपहिले दिनभरि लाएर हरेक सदस्यको घरै पुगेर सूचना दिने गरेकी उनले सामाजिक सञ्जालको सही प्रयोग गर्न जाने धेरै कामलाई छिटो गर्न सकिने र समयको व्यवस्थापनमा अति महत्वपूर्ण सहयोग हुने उनले बताइन् । पौडेलले आफुहरु पाको भइसके पनि सन्तान र साथीहरुबाट सिकेर सहज रुपमा प्रयोग गरिरहेको उनको भनाइ छ ।

प्राध्यापक कविता पन्थी फेसबुक, टिकटक, म्यासेन्जर जस्ता सञ्जालको सही प्रयोगले स्थानीय सरकारले नागरिक समक्ष छिनभरमै सूचना प्रदान गर्ने, विद्यालयले विद्यार्थी तथा अभिभावकलाई, कार्यालयले कर्मचारी र सेवाग्राहीलाई सूचना दिने जस्ता कामलाई प्रभावकारी बनाएको बताइन् । आफूले हरेक पटक वडा वा पालिका पुगेर जानकारी लिन सक्ने अवस्था नहुने भएकाले सञ्जालबाट उनी थाहा पाउँछिन् । 

बिदाका दिन सरकारी गाडी प्रयोग छाडे 

रौतहटको यमुनामाई गाउँपालिकाका तत्कालीन अध्यक्ष प्रकाश मुखिया २०७८ साउनको पहिलो शनिबार स्कोरपियो गाडीमा काठमाडौं जाँदै थिए । उनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले रोकेर पास माग्यो । शनिबार बिनापास चलाएको भन्दै सचेत गरायो । उनको गाडी रोकेको फोटो, भिडियो फेसबुकमा भाइरल भयो । त्यसपछि विभिन्न पालिका प्रमुखलगायतका जनप्रतिनिधि सचेत भए । 

अध्यक्ष मुखियाले शनिबार पास लिनुपर्नेमा हतार परेकोले केही त्रुटि भएको भन्दै अब गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । यमुनामाईको गाडी रोकेको एक साता नबित्दै बृन्दावन नगरपालिका–९ का वडासचिवले प्रयोग गर्ने ना१ब २८०६ नम्बरको सरकारी प्लेटको मोटरसाइकल व्यापक दुरुपयोग भएको भन्दै समाजिक सञ्जालमा पोष्ट आयो । शनिबार सरकारी मोटरसाइकलमा बोरालगायतको समान लोड गरेको अवस्थामा तस्बिर खिचेर सञ्जालमा राखिएको थियो । पछि नगरपालिकाले त्रुटि भएको स्विकारेर शनिबार सरकारी सवारीसाधन नचलाउने प्रशासन समक्ष प्रतिबद्धता जनायो । 

यो दुई मात्र घटना मात्र होइन । अघिल्लो अधिकांश नगरप्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिले मनमौजी सरकारी सवारी लिएर घुम्न, पिकनिक, किनमेल र ब्यक्तिगत प्रायोजनका लागि दुरुपयोग गर्थे । स्थानीयले जहाँ देख्यो त्यहीँ तस्बिर, भिडियो खिचेर समाजिक सञ्जालमा राख्न थाले पछि अहिले लगभग शून्य जस्तै भएको छ । शनिबार आफु प्रायः स्कुटर वा साथीभाइका साधनमा यात्रा गर्दै आएको चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काफ्लेले बताउँछन् । ‘अहिले त शनिबार पालिकाको गाडी लिएर हिँड्यो भनेर ट्वाक्क फोटो, भिडियो खिचेर फेसबुकमा राखिदिन्छन्,’ उनले भने,‘यसले बेइज्जत हुन्छ । बरु निजी सवारी चढ्यो । अरुले भन्ने बाटो रहँदैन ।’ 

अघिल्लो कार्यकालमा यहाँका पालिका प्रमुखहरु शनिबार सरकारी गाडी लिएर किनमेल गर्न भारतको सितामाढीसम्म पुग्थे । त्यहाँको तस्बिरसमेत फेसबुकमा आउन थालेपछि जनप्रतिनिधिहरु झस्केका हुन् । अहिले नगरप्रमुखहरु शनिबार काम विशेषले हिँड्नैपरे पास लिएर मात्र जाने गरेको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले बताए । 

यहाँको नुनथर, भरतताल लगायतका केही घुमफिर गर्ने ठाउँमा शनिबार पालिकाका सरकारी गाडीहरु भेटिन्थे । समाजिक सञ्जालका कारण अहिले पूर्णरुपले बन्द भएको जिल्ला प्रशासनका एक अधिकारीले सुनाए । ‘मानिसको हातहातमा मोबाइल छ, अब शनिबार व्यक्तिगत कामका लागि घुम्न जान थाल्यो भने एकैछिनमा फेसबुकमा गाडीको तस्बिर आउँछ । यहीँ डरले जनप्रतिनिधिहरु निजी गाडी चढ्छन् तर पालिकाको लैजाँदैनन्,’ उनले भने । स्थानीय प्रशासनले समेत शनिबार सरकारी गाडी सडकमा देखे रोक्न निर्देशन दिएको जनाएको छ । अहिले ट्राफिक प्रहरीले बिदाको दिन चल्ने सरकारी सवारीसाधनको प्रशासनले उपलब्ध गराउने पास माग्ने गरेको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

सन्तोष महतारा

Link copied successfully