काठमाडौँ — सरकारले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ को मान्यताअनुरूप परराष्ट्र नीति अवलम्बन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ लाई परराष्ट्र नीतिको मूल आधार रहने घोषणा गरेका हुन् ।
‘छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ‘संयुक्त राष्ट्रसंघ तथा बहुपक्षीय मञ्चहरूमा नेपालको भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउँदै हित प्रवर्द्धन गरिनेछ ।’
परराष्ट्र नीति २०७७ ले त्यही सिद्धान्तलाई बढावा दिएको छ । राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्रसंघको बडापत्र, अंसलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपाल आबद्ध क्षेत्रीय सहयोग संगठनमार्फत क्षेत्रीय सहयोगलाई नेपालको हितअनुकूल अर्थपूर्ण र प्रभावकारी बनाइने लक्ष्य राखिएको छ । त्यस्तै, आर्थिक कूटनीतिलाई सहायता, लगानी, श्रम बजार, पर्यटन र व्यापार प्रवर्धनको महत्त्वपूर्ण औजारका रूपमा स्थापित गर्दै मुलुकभित्र र बाहिर आर्थिक कूटनीतिका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने पनि जनाइएको छ ।
गैरआवासीय नेपालीहरूको क्षमता र सञ्जाललाई उपयोग गर्ने सर्वाजनिक र सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा मुलुकको पहिचान र सम्मानलाई अभिवृद्धि गर्ने नीति पनि सरकारले लिएको छ ।
