लुम्बिनी प्रदेशमा खोपको दोस्रो मात्रा पर्खिंदै गरेका करिब ३ लाखमध्ये अधिकांश वृद्धवृद्धा
कपिलवस्तु, रुपन्देही, पाल्पा, बाँके — गत फागुन २३ मा पहिलो मात्रा लगाएकी उनले कहिले काठमाडौं बस्ने छोरा त कहिले जापान बस्ने आमालाई फोन गरेर जिज्ञासा राख्छिन् । कपिलवस्तु नगरपालिका–१ आनन्दवागकी ७५ वर्षीया सरला उप्रेती एक महिनादेखि कोरोनाविरुद्धको खोपको दोस्रो मात्राका लागि सोधखोज गरिरहेकी छन् ।
‘स्वास्थ्य कार्यालयमा फोन गर्दा खोप छैन भन्छन्,’ उनले भनिन्, ‘जगेडा नराखी पहिलो डोज किन लगाए होलान् ?’
कपिलवस्तु–३ भिक्षुचोकका ६५ वर्षीय ग्रीसचन्द्र दुबे दिनभर खोपबारे सोधखोजमै बिताउँछन् । खोपको दोस्रो मात्रा पूरा नहुँदा उनी छटपटीमा देखिन्छन् । ‘छिमेकमै कोरोनाले दुई/तीन जना बिते,’ उनले भने, ‘त्यसैले मन आत्तिएको छ ।’ खोपका दुवै मात्रा लगाउन पाएमात्रै ढुक्क हुने उनले बताए । दोस्रो मात्रा कहिले उपलब्ध हुन्छ, निश्चित छैन । त्यसले उनी निराश बनेका हुन् ।
रूपन्देहीको तिलोत्तमा–६ का ७३ वर्षीय एकनाथ सिंखडाले गत चैत २ मा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए । नगरपालिकाले सूचना जारी गरेपछि स्वास्थ्य चौकी पुगेर खोप लगाए । बीचमा पहिलो चरणमा खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरूलाई बोलाएर लगाइयो । ‘सूचना पढेर म पनि स्वास्थ्यचौकी गएँ,’ उनले भने, ‘तपाईंलाई अहिले होइन भनेर फर्काइदिए ।’ उनी अहिले दोस्रो मात्रा कुरिरहेका छन् ।
आइतबार सरकारले कोभिसिल्ड खोपको दोस्रो मात्रा तत्काल उपलब्ध गराउन नसक्ने जनाएपछि आफू झन् निराश बनेको उनले बताए । ‘एक पटक लगाएर मात्र प्रभावकारी हुँदैन होला,’ उनले भने, ‘अधुरो खोपले के बचाउला ?’ पहिलो मात्रा लगाउँदा दंग परेको उनले बताए । ‘अर्को मात्रा लगाउन नपाएपछि लगाए/नलगाएको के अर्थ भो र ?,’ उनले भने, ‘अरू रोगको औषधि खाइरहेकाले खोप पूरा गर्न पाए ढुक्क हुन्थ्यो ।’
भर्खरका युवाको कोरोनाले मृत्यु भएको देखेर हतास बनेका बुटवल–११ कालिकानगरका ७५ वर्षीय डण्डपाणि शर्माले खोपको पहिलो मात्राले आत्मविश्वास बढाएको बताए । ‘पहिलो मात्राले आत्मविश्वास बढे पनि अर्को डोज लगाउन नपाउने भएपछि के काम,’ उनले भने, ‘खोप नआउँदै कोरोनाको तेस्रो लहर आउने हल्ला चलिरहेको छ । के भर भो र ?’
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार जिल्लामा दोस्रो चरणमा ६५ वर्ष उमेर कटेका ३७ हजार ५ सय ९१ जनालाई खोपको पहिलो मात्रा लगाइएको बताए । दोस्रो मात्राको खोप कहिले आउने भन्ने निश्चित नभएको उनले बताए ।
कपिलवस्तुमा फागुन तेस्रो साता पहिलो खोपको पहिलो मात्रा लगाएर खुसी बनेका वृद्धवृद्धा अहिले निराश छन् । कपिलवस्तुका १० स्थानीय तहका २७ हजार जनाभन्दा बढी ६५ वर्ष कटेका नागरिक खोपको दोस्रो मात्रा कुरेर बसेका छन् । गत वर्षको फागुन २३ देखि २९ गतेसम्म जिल्लाभरिका ९४ स्थानमा केन्द्र स्थापना गरी खोप लगाइएको थियो । ‘हामीसँग खोप मौज्दात छैन,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले भने, ‘त्यही भएर लगाउन सकेका छैनौं ।’
यसबारेमा तालुकको प्रदेश मन्त्रालयलाई गुहार गरेको उनले बताए । वृद्धवृद्धालाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अक्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । विश्व स्वास्थ्य संगठनले गत फ्रेबुअरीमा कोभिसिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा प्रभावकारी हुने भनेको थियो । जसअनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागी जेठ तेस्रो सातासम्म दोस्रो डोज खोप लिइसक्नुपर्ने हुन्छ । जिल्ला अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. जाबेद खाँले बेलैमा दोस्रो डोज नलगाए प्रभावकारी नहुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जिल्लामा २० हजार जना खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको बताए । गत फागुन २३ देखि २८ गतेसम्म ६५ वर्ष उमेर नाघेका वृद्धवृद्धालाई पहिलो मात्रा खोप लगाइएको शर्माले बताए । तीन महिनाभित्र दोस्रो डोज लगाउनुपर्ने उनले बताए । स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहका अनुसार खोपको प्रभावकारिता पूरै डोज लगाएपछि मात्रै देखिन्छ । समयमै दोस्रो मात्रा लगाउन पाइएन भने खोपको कुनै अर्थ नरहने उनले सुनाए । ‘खोप छैन, जनताले कहिले आउँछ भन्दै कराउँछन्,’ उनले भने, ‘खोप आउनेबित्तिकै लगाउँछौं ।’
पाल्पामा पहिलो र दोस्रो चरणमा गरेर साढे १६ हजार जना खोपको दोस्रो मात्राको पर्खाइमा छन् । पहिलो चरणमा लगाइएकामध्ये ८ हजार ९ सय ९४ जना खोपको दोस्रो मात्राको पर्खाइमा छन् । पूर्वखोला गाउँपालिकामा १ हजार १ सय १९ ज्येष्ठ नागरिकमध्ये ७ सय ७० जनाले पहिलो मात्रा लगाएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । उनका अनुसार अहिले फेरि ७५ वर्षमाथिको तथ्यांक संकलन गरेर पठाइएको छ ।
ज्येष्ठ नागरिकसँगै पाल्पामा पहिलो चरणको खोप लगाएर दोस्रो चरणको पर्खाइमा ९ हजार २ सय बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयको लक्षित ज्येष्ठ नागरिक भने १६ हजार ४ सय ४५ थियो । २०७७ फागुन २३ देखि चैत २ गतेसम्म ज्येष्ठ नागरिकले खोप लगाएका थिए तर सबैले खोप लगाउन पाएनन् । ६५ वर्षमाथिका ८ हजार ९ सय ४९ जनाले खोप लगाएका थिए । अन्य क्षेत्रका १ सय ६२ जना बाँकी छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पहिलो चरणमा ५ हजार ३ सय ६२ लक्षितमा ५ हजार ५६ जनाले लगाएका थिए । अब १ सय ७० डोज मात्र खोप बाँकी छ ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म ६८ हजार ६ सय ८ जनाले कोरोनाविरुद्धको खोपका दुवै मात्रा लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । उनका अनुसार २ लाख ७८ हजार ३ सय २२ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । उनीहरूका लागि खोपको दोस्रो मात्रा अनिश्चित बनेको उनले बताए ।
