भारतमा ‘क्लिनिकल ट्रायल’ सुरू भइसके पनि नेपालमा १८ वर्षमुनिकालाई खोपबारे योजना बनाइएको छैन ।
काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप व्यवस्थापनका लागि विनियोजन गरेको २६ अर्ब ७५ करोड रुपैयाँ अपुग हुने विज्ञहरूले तर्क गरेका छन् । कोभिड संक्रमणको सम्भावित तेस्रो लहरबाट जोगिन त्यसअघि नै ६० देखि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने देखिएको छ ।
प्रतिमात्रा करिब ४ डलरमा आउने भनिएको कोभिसिल्ड खोपको मूल्यलाई मानेर बजेट छुट्याएकाले अपुग हुने विज्ञहरूको भनाइ छ । हाल कोभिसिल्डबाहेकका खोपको मूल्य प्रतिमात्रा १० डलरभन्दा बढी छ । उत्पादन हुने मुलुक भारतमै अत्यधिक माग रहेकाले कोभिसिल्ड खोप तत्काल खरिद गर्न पाउने अवस्था छैन ।
अर्थमन्त्री विष्णु पौडेलले बजेटको उद्देश्य सबैभन्दा पहिला कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने रहेको बताएका थिए । तर यो उद्देश्य पूरा गर्न निःशुल्क खोप सुनिश्चितताका लागि सरकारले बजेट विनियोजनमा कञ्जुस्याइँ गरेको विज्ञको तर्क छ । जबकि कतिपय विवादास्पद आयोजनामा अर्बौं रकम विनियोजन गरिएको छ । बजेट वक्तव्यको २६ नम्बर बुँदामा सरकार सबै नेपालीलाई कोभिडविरुद्घको निःशुल्क खोप उपलब्ध गराउन प्रतिबद्घ रहेको जनाइएको छ । बाँकी सबै उमेर समूहका लागि सम्पूर्ण स्रोत साधनको उच्चतम् प्रयोग गर्दै उत्पादक देश तथा कम्पनीबाट खोप प्राप्त गर्ने सरकारको भनाइ छ ।
भारतले २ देखि १८ वर्षसम्म उमेर समूहका लागि कोभ्याक्सिन खोपको क्लिनिकल ट्रायल गरिरहेको छ । अमेरिकी कम्पनी फाइजरले १२ वर्षमाथिका लागि खोप तयार गरेको छ । नेपालले भने १८ वर्षमुनि उमेर समूहका लागि खोपको कुनै योजना बनाएको छैन । जबकि कोभिडको तेस्रो लहरमा सबभन्दा बढी बालबालिका प्रभावित हुने अनुमान छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले पनि १८ वर्षमुनिका व्यक्तिका लागि खोपको कुनै योजना नरहेको स्वीकार गरे । उनले कोभिसिल्डको मूल्य ४ डलर प्रतिमात्रालाई आधार बनाएर खोपका लागि रकम छुट्याइएको पनि बताए ।
प्रमुख प्राथमिकता कोभिसिल्ड खोप भए पनि तत्काल नपाइने भएकाले सरकारले जनसन (जोनसन एन्ड जोनसन), भेरोसेल (सिनोफार्म), स्पुतनिक–५, कोभ्याक्सिन खोप खरिद गर्ने तयारी गरेको छ । कोभिसिल्ड खरिदका लागि सम्झौता गरिएअनुसार १० लाख मात्रासमेत भित्रिएको छैन । कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका करिब साढे १३ लाखले दोस्रो मात्रा लगाउने सम्भावना टर्दै गएको छ ।
कुनै पनि खोप उत्पादक मुलुकले पहिले आफ्ना नागरिक र अत्यन्त निकटका लागि खोप सुरक्षित गरेर मात्र बिक्री गर्ने हुनाले नेपाललाई समस्या भएको कोरोना खोप परिचालन समन्वय समितिका सदस्य डा.जीडी ठाकुरले बताए । ‘हाल आफूसँग रकम हुनु मात्र खोप प्राप्तिको सुनिश्चितता होइन । पैसा तिर्दा पनि तत्काल अनुकूलको सुरक्षित र प्रभावकारी खोप नपाइने अवस्था देखिरहेका छौं,’ उनले भने । उनले खोपको उत्पादन सबैलाई पुग्ने गरी हुन नसकेको उल्लेख गरे । उनले कोभ्याक्स सुविधाबाट पाइने खोप पनि तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘ग्लोबल सोलुसन समिट २०२१’ लाइ गत शुक्रबार सम्बोधन गर्दै भाइरसलाई हराउन खोप दोब्बर उत्पादन गर्नुपर्नेर् र सबै मुलुकलाई न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिएका थिए । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रस एडहेनाम घेबरेयेससले समेत खोपको वितरणमा विषमता भएकामा चिन्ता प्रकट गरेका थिए । हालसम्म खोपको कुल मात्रामध्ये ७५ प्रतिशत १० मुलुकले कब्जामा राखेका छन् । निम्न आय भएका मुलुकहरूले ०.३ प्रतिशत मात्र खोप पाएका छन् ।
डा. ठाकुरका अनुसार कोभिसिल्डबाहेकका खोपको मूल्य प्रतिमात्रा १० डलरदेखि ७० डलरसम्म पर्ने गरेको बताए । ‘कम्तीमा सवा दुई करोड नेपालीलाई तत्काल खोप आवश्यक छ । बालबालिकाको समूहमा समेत खोप लगाउनुपर्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा दुई मात्रा खोप लगाएकाहरू २.२ प्रतिशत अर्थात् ६ लाख ८६ हजार ९ सय ३९ जना मात्र छन् । यस्तै २१ लाख १३ हजार ८० जनाले एक मात्रा खोप लगाएका छन् ।
कोभिड खोपसम्बन्धी विज्ञ समितिका संयोजक डा श्यामराज उप्रेतीले करिब ७० प्रतिशत जनतालाई जति छिटो खोप दिन जरुरी रहेको बताए । ‘अहिले जुन भेरिएन्टको भाइरस भए पनि खोपले बचाउ गरेको देखिएको छ । त्यसैले जतिसक्दो धेरैलाई तत्काल खोप दिन आवश्यक छ,’ उनले भने । खोपका लागि छुट्याइएको रकम पर्याप्त छ वा छैन भन्ने कुरा कुन खोप कति मूल्यमा आउँछ भन्नेमा भर पर्ने उनले बताए । उनले कोभिडको दोस्रो लहरमा बालबालिकासमेत उल्लेख्य रूपमा प्रभावित भएको र उनीहरूमा जटिलता देखिएको उल्लेख गर्दै बालबालिकालाई समेत खोप चाहिने बताए
‘एकपटकको खोप अपर्याप्त’
एकपटक पूर्ण मात्रामा लगाएको खोप दीर्घकालसम्म प्रभावकारी हुन सक्नेमा विज्ञहरूको आशंका छ । कोभिडविरुद्घको खोपले निश्चित समयसम्म काम गर्ने भएकाले फेरि लगाउनुपर्ने विज्ञको भनाइ छ । ‘कोभिडविरुद्घको खोपले कति लामो समयसम्म काम गर्छ, कतिवटा बुस्टर मात्रा दिनुपर्छ भन्नेसमेत हेर्नुपर्छ,’ डा.उप्रेतीले भने । डा. ठाकुरले पनि धेरैले खोप लगाएको अमेरिकालगायतका मुलुकमा बुस्टर मात्रा लगाउनुपर्ने कुरा उठिरहेको बताए । ‘शरीरमा कोभिड संक्रमणविरुद्घको प्रभावकारिता कायम राख्न र विभिन्न भेरिएन्टका भाइरसविरुद्घ थप इम्युनिटीका लागि केही समय अन्तरालमा बुस्टर मात्रा लगाउनुपर्ने हुन सक्छ ।’
बुस्टर मुख्य रूपमा खोपको तय गरिएको एक वा दुई मात्रा लगाएपछि केही समयमा लगाइने अर्को मात्रा हो । बुस्टरले शरीरमा भएका ‘मेमोरी सेल’ लाई सक्रिय बनाउँछ र एन्टिबडीलाई पुनः त्यो भाइरसविरुद्घ लड्न सक्षम बनाउँछ । बुस्टर मात्राले खोपको स्तरोन्नति गर्छ । सामान्यतया खोपका दुवै मात्रा लिएपछि एक वा दुई वर्षको अन्तरालमा बुस्टर मात्रा दिइन्छ । कोरोना भाइरसले रूप परिवर्तन गरिरहेकाले बुस्टर मात्रा पनि परिवर्तित भाइरसलाई लक्ष्य गरेर तयार पारिन्छ । अमेरिकाका महामारी विशेषज्ञ डा. एथनी फाउचीले कोभिड खोप लगाएकाहरूलाई बुस्टर मात्रा कति समयमा दिनुपर्छ भनेर अध्ययन भइरहेको जनाएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
३ करोड डोजभन्दा धेरै खोप आवश्यक
नेपालमा १८ वर्षमाथिकालाई मात्र खोप लगाए पनि तीन करोड मात्राभन्दा बढी खोप चाहिने देखिएको छ । ‘सामान्य गणना गर्दा १८ वर्षमाथिकालाई मात्र खोप दिँदासमेत ३ करोड ५ लाख ७२ हजार १ सय १४ मात्रा खोप चाहिन्छ’, वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने । उनका अनुसार १८ वर्षमाथिकाको संख्या १ करोड ६८ लाख ७८ हजार १ सय ८९ रहेको अनुमान छ । तीमध्ये दुई मात्रा खोप लगाएका ६ लाख ८६ हजार ९ सय ३९ जना छन् । यस्तै एक मात्रा खोप लिइसकेका २१ लाख १३ हजार ८० जना छन् ।
यसका साथै १० प्रतिशत खोप खेर जान सक्ने हिसाबमा खरिद गर्नुपर्छ । डा. श्यामराज उप्रेतीले खोप बिचौलिया प्रयोग नगरी पारदर्शी हिसाबले खरिद गर्नुपर्नेमा जोड दिए । ‘पाएसम्म सस्तो र प्रभावकारी खोपलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने ।
