२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संक्रमित घट्दै, निको हुने बढ्दै

पछिल्लो १७ दिनमा १ लाख १९ हजार जना संक्रमणमुक्त
मकर श्रेष्ठ

काठमाडौँ — टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सोमबार पछिल्ला चार महिनाको कोरोना भाइरस संक्रमण हुने दर सार्वजनिक गरे । जसअनुसार वैशाख पहिलो साता पीसीआर परीक्षण गराएकामध्ये २६.२ प्रतिशतमा पोजिटिभ देखिएको थियो भने यो दर वैशाख अन्तिम साता ४९.४७ प्रतिशत पुग्यो ।

संक्रमित घट्दै, निको हुने बढ्दै

जेठ दोस्रो साता संक्रमण दर २०.५४ प्रतिशतमा झरेको छ । टेकु अस्पतालमा जस्तै अन्यत्र गराइएको पीसीआर जाँचमा पनि संक्रमण फेला पर्ने दर घट्दै गएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना महामारीको दोस्रो लहर उच्च भएको वैशाख अन्तिम साता पीसीआर गरेकामध्ये ४४.२१ प्रतिशतमा संक्रमण देखिएको थियो । जेठ पहिलो साता भने ३९ प्रतिशतमा संक्रमण पाइयो । जेठ दोस्रो साता यो दर अझ घटेर ३७.२२ मा आयो भने पछिल्ला तीन दिनको औसत दर ३० प्रतिशत छ । सोमबार देशभरि १७ हजार ४ सय ८० जनाको पीसीआर र एन्टिजेन परीक्षण गराउँदा ४ हजार ७ सय ६२ जना अर्थात् २७.२४ प्रतिशत मात्रै पोजिटिभ देखिएको छ । सोमबारको तथ्यांकमा केही ठूला अस्पताल र प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट भने समावेश छैन ।

कोरोना महामारीको ‘हटस्पट’ बनेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेले डेढ सातादेखि संक्रमित आउने क्रम घटेको बताए । ‘अहिले बिरामीले बेड पाउँछन् । अस्पतालको करिडोर, टेन्ट र एम्बुलेन्समै राखेर उपचार गर्नुपर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार पछिल्लो समय नेपालगन्जमा संक्रमित घटेका छन् तर गाउँबाट गम्भीर भएर आउने बढेका छन् । ‘तर केही साताअघिको जस्तो बेड र अक्सिजन नपाउने समस्या छैन,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमित हुने दर घटे पनि ढुक्क भइहाल्ने अवस्था नभएको बताए । ‘संक्रमित हुने दर थोरै घटेको हो । ढुक्क भइहाल्ने अवस्था अझै छैन । संक्रमण शिखरबाट ओरालो लागेको देखिन्छ,’ उनले भने । निषेधाज्ञामा सर्वसाधारणले जनस्वास्थ्य मापदण्ड पालना गर्नुका साथै विभिन्न क्षेत्रको मिहिनेतपछि यो अवस्थामा आउन सकेको उनले बताए । सहरी क्षेत्रमा सुधार भए पनि गाउँमा संक्रमण ओरालो लाग्न बाँकी रहेको उनले बताए । केही दिनयता पीसीआर गराएकामध्ये एक तिहाइमा पोजिटिभ देखिए पनि संक्रमण ‘चेन ब्रेक’ भइसकेको भन्न नमिल्ने डा. पौडेलले बताए । ‘केही अस्पताल र ल्याबले गरेको पीसीआर र गाउँ–गाउँमा गरिएको एन्टिजेनको नतिजा पनि रिपोर्टिङ भएको छैन । यसले यथार्थ नतिजा आउन सकेको छैन,’ उनले भने ।

युनिफाइड केन्द्रीय कोभिड (वीर) अस्पताल, नेपाल प्रहरी, स्टार, प्रसूति गृह, भेरी अस्पतालले पछिल्लो समय मन्त्रालयलाई परीक्षणको रिपोर्टिङ गरेका छैनन् । सबै स्वास्थ्य संस्थाले गरेको परीक्षणको रिपोर्टिङ भएपछि पोजिटिभ हुने दर १० प्रतिशत हाराहारीमा झरेको देखिए मात्र चेन ब्रेक भएको मान्न सकिने प्रवक्ता डा. पौडेलले बताए । उनका अनुसार वैशाख अन्तिम साता संक्रमण उच्च भएको लुम्बिनी र वाग्मतीमा संक्रमण क्रमशः घट्दै गएको छ । प्रदेश २ मा परीक्षण नै न्यून छ ।

भाइरोलोजिस्ट एवं ईडीसीडीका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेले पनि संक्रमित दर २७ प्रतिशतमा झर्दैमा चेन ब्रेक भएको मान्न नसकिने बताए । ‘कुनै पनि रोगको फैलिने दर रोक्नु नै चेन ब्रेक हो । अहिले हाम्रोमा फैलिने दर रोकिएको छैन । केही घटेको मात्रै हो,’ उनले भने । चेन ब्रेक गर्न मानिसको आउजाउ ठप्प पार्नुपर्नेमा त्यस्तो नभएकाले क्रमशः संक्रमण न्यून हुने उनले बताए । सहरी क्षेत्रमा गरिएको निषेधाज्ञाका कारण घरभित्र मात्रै संक्रमण फैलिएको उनले बताए । संक्रमण केही घटेपछि स्वास्थ्य मापदण्ड पालना गराएर निषेधाज्ञा केही खुकुलो बनाउनुपर्ने उनको सुझाव छ । पछिल्लो दुई साताको संक्रमण दर स्थिर रहेर अस्पतालमा बेड खाली भए संक्रमणको चेन ब्रेक भएको मान्न सकिने भेरी अस्पतालका फिजिसियन डा. पाण्डेले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जना अर्थात् ३३ दशमलव ७० प्रतिशतमा संक्रमण देखिएको छ । प्रदेश १ मा १ हजार ६ सय ५ जनाको पीसीआर गर्दा ६ सय ८५ अर्थात् ४२ दशमलव ६७ प्रतिशतलाई कोरोना देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ सय ९० जनाको पीसीआर गर्दा १ सय ३३ जना अर्थात् ३४.१० प्रतिशतको पोजिटिभ छ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९७ जनाको पीसीआर गर्दा २ सय ७१ जना अर्थात् १६ दशमलव ९६ प्रतिशतलाई पोजिटिभ देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पछिल्लो २४ घण्टामा ५ सय ३२ जनाको पीसीआर गर्दा २५.५६ मात्रै कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा १ हजार ८१ जनाको पीसीआर गर्दा २ सय ३ जना अर्थात् १८ दशमलव ७७ प्रतिशतमा पोजिटिभ देखिएको छ । लुम्बिनी प्रदेशमा पनि १ हजार २ सय ३४ जनाको पीसीआर गर्दा २ सय ८० अर्थात् २२ दशमलव ६९ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोरोना देखिएको छ । सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ५९ जनाको पीसीआर गर्दा ३ सय ८६ अर्थात् २६ प्रतिशतमा संक्रमण पाइएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको आइतबार एक महिना भयो । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले संक्रमण फैलन नदिन वैशाख १६ देखि निषेधाज्ञा लगाएका हुन् । संक्रमण अपेक्षित दरमा नघटेपछि चार दिनयता खाद्यान्न पसलसमेत खोल्न नपाउने गरी कडाइ गरिएको छ । निषेधाज्ञा सुरु भएको दिन वैशाख १६ मा देशभरिको संक्रमण दर ३६ दशमलव ३४ थियो । यस्तै जेठ १ मा संक्रमण दर ४४ प्रतिशत भयो । निषेधाज्ञाकै बीच वैशाख २७ मा दोस्रो लहरको सबैभन्दा बढी पीसीआर गरिएकामध्ये ५० दशमलव ३५ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । जेठ ५ मा कोरोनाबाट सबैभन्दा बढी २ सय ४६ जनाको मृत्यु भयो । जेठ ९ बाट भने क्रमशः संक्रमण दर घट्दै गएको छ । त्यस दिन पीसीआर गरेकामध्ये ३९ प्रतिशतलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पहिचानका लागि स्वाब परीक्षण गराउनेको संख्या पनि घट्दै गएको छ । पीसीआर र एन्टिजेन गरी दिनमा २० हजार हाराहारी नमुनाको परीक्षण हुने गरेकामा शनिबार १४ हजार ७ सय ५२ र आइतबार १२ हजार ७ सय ७० जनाको मात्रै स्वाब परीक्षण गरियो । पछिल्लो २४ घण्टामा पनि १७ हजार ४ सय ८० जनाको मात्रै स्वाब परीक्षण गरिएको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजुले निषेधाज्ञाले संक्रमित हुनेको संख्यामा कमी आए पनि गाउँबाट गम्भीर रूपमा थलिएर आउने बिरामीको संख्या उस्तै रहेको बताए । ‘निषेधाज्ञाले परिवारभित्र संक्रमित सीमित भएका छन् । समुदायमा संक्रमण घटेको छ । संक्रमणको चेन ब्रेक नभए पनि अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको व्यवस्थापनमा केही सहज भएको छ,’ उनले भने । सरकारले गाउँ–गाउँमा परीक्षणको दायरा बढाउनुपर्ने उनको सुझाव छ । ‘गाउँमा पीसीआर गर्ने ठाउँ पनि छैन । त्यसैले गम्भीर नभएसम्म उपचारमा आउँदैनन्,’ उनले भने, ‘एन्टिजेनबाट भए पनि परीक्षण गरेर संक्रमितको छिटो पहिचान गर्न सके राम्रो हुन्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले केही दिनअघि परीक्षण किट नभएर गाउँ–गाउँमा कन्ट्याक्ट ट्रेसिङ अवरुद्ध भएको बताए । ‘स्थानीय तहमै किट पठाइसकेका छौं,’ उनले भने, ‘अब गाउँ–गाउँमा परीक्षण हुन्छ ।’

१७ दिनमा १ लाख १९ हजार निको

स्वास्थ्य मन्त्रालयका अनुसार जेठमा कोरोनाबाट निको भएकाको संख्या १ लाख १९ हजार ७ सय ९३ पुगेको छ । मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकअनुसार शुक्रबार सबैभन्दा बढी ९ हजार ४१ जना निको भएका छन् । निको हुने दर क्रमशः बढ्दै गएको छ ।

सोमबारसम्म ५ लाख ६१ हजार ३ सय २ जनालाई कोरोना पुष्टि भएकामा ४ लाख ४७ हजार ४ सय ४६ जना अर्थात् ७९ दशमलव ७ प्रतिशत निको भइसकेको मन्त्रालयले जनाएको छ । वैशाख १ देखि सोमबारसम्म मात्रै २ लाख ८६ हजार ७ सय ६५ जनालाई कोरोना पुष्टि भएकामा १ लाख ६७ हजार ७ सय ९९ जना निको भएका छन् । संक्रमितमध्ये १ दशमलव ३१ प्रतिशतको मृत्यु भएको छ ।

सोमबारसम्म ७ हजार ३ सय ८६ जनाको मृत्यु भएको हो । वैशाख १ यता मात्रै ४ हजार ३ सय २८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?