सात महिनाभित्र लक्षित सबैलाई खोप : परराष्ट्रमन्त्री 

‘हामी अनुदानको खोप पर्खेर बसेका पनि छैनौं, खोप खरिदका लागि अर्थ मन्त्रालयले ३६ अर्बको स्रोत सुनिश्चित गरिसकेको छ ।’

जेष्ठ १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने बताएका छन् । उनले थप व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिछाड्ने पनि बताए ।

‘कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ । पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिनेमा निश्चिन्त रहन आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने । 

स्वास्थ्य सेवा विभागका अनुसार दोस्रो मात्राको खोपको पर्खाइमा साढे १४ लाख जना छन् । फागुन २३ यता पहिलो मात्रा खोप लगाएका उनीहरूले जेठ अन्तिम सातासम्म खोप लगाइसक्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार कोभिसिल्ड लगाएको १२ सातामा दोस्रो मात्रा लगाए प्रभावकारी हुन्छ । 

प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको लडाइँमा भारत, चीन, चीनकै सिचुवान तथा तिब्बत प्रान्तीय सरकार, अमेरिका, स्पेन, बेलायत, जापान, अस्ट्रेलिया, स्वीट्जरल्यान्ड, जर्मनी, थाइल्यान्ड, सिंगापुर, न्युजिल्यान्ड र फिनल्यान्डले सहयोग गरेको जानकारी दिए । चिनियाँ रेडक्रस, तेमासेक फाउन्डेसन सिंगापुर, डाइरेक्ट रिलिफ अमेरिका, रोयल थाई मोनास्ट्रीलगायत संस्थाबाट पनि सहयोग प्राप्त भएको उनले बताए । ‘आफ्नो गाँस कटाएर अक्सिजन सिलिन्डर पठाउने खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्न चाहन्छु,’ उनले भने । सहयोग गर्ने एनआरएनए, उद्योगी, समाजसेवीको पनि प्रधानमन्त्रीले प्रशंसा गरेका छन् ।

‘अग्रपंक्तिमा डटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमणसरह नै दण्डनीय मानिनेछ,’ उनले भने ।

साढे १४ लाखले पहिलो मात्रा लगाएको कोभिसिल्ड खोप उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेर अन्य मुलुकमा उत्पादन भइरहेको खोप खरिद गर्न कूटनीतिक पहल भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । ‘अस्ट्राजेनेकाको खोप उत्पादन गर्ने सबै मुलुकलाई खोपका लागि पत्राचार भइसकेको छ,’ शुक्रबार स्वास्थ्य पत्रकारसँगको अन्तर्क्रियामा उनले भने । 

मन्त्री ज्ञवालीले चीनमा उत्पादित भेरोसेल खोप ५० लाख र अमेरिकाको जोनसन एन्ड जोनसनको जनसन खोप ५० लाख मात्रा खरिद गर्ने प्रयास भइरहेको जानकारी दिए । खोप सरकार–सरकार (जीटूजी), सरकार र खोप उत्पादन कम्पनीबीच सम्झौता गरेर खरिद गर्न सकिने उनले जानकारी दिए ।

सात महिनाभित्र लक्षित ७२ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने योजना रहेको उनले बताए । ‘हामी अनुदानको खोप पर्खेर बसेका पनि छैनौं,’ उनले भने, ‘खोप खरिदका लागि अर्थ मन्त्रालयले ३६ अर्बको स्रोत सुनिश्चित गरिसकेको छ ।’

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully