कोरोना गाउँघरमा- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना गाउँघरमा

दोस्रो लहरले भौगोलिक रुपमा विकट गाउँ पुगेर प्रभावित पारेको देखिन्छ । कोरोनाले स्वास्थ्यमा जटिल अवस्था सिर्जना हुँदा उपचारको लागि सहर ल्याउनु परेको र कतिपयको ल्याउने क्रममा ढिलो हुँदा मृत्यु समेत भइरहेको खबरहरु पनि आइरहेका छन् । अर्थात् कोरोना गाउँबस्तीहरुमा प्रवेश गरी आफ्नो क्षमता प्रदर्शन गर्न सुरु गरिसकेको प्रस्टै देखिन्छ ।
शेरबहादुर पुन

केही दिन अगाडि नेपालको अति दुर्गम गाउँबाट एक कोरोना संक्रमितले आफू आइसोलेसनमा बसिरहेको र के कुरामा ध्यान दिनुपर्ला भनेर जिज्ञासा राखेका थिए । उनले सो गाउँमा मिल्दोजुल्दो लक्षणहरु भएका धेरै भएका जानकारी दिएका थिए ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकालाई घरमा पुगेर परामर्श दिँदै बागलुङका स्वास्थ्यकर्मी । आवश्यक परेमा घरघरमा पीसीआर गर्ने योजना बनाएको उनीहरूले बताए । तस्बिर : प्रकाश/कान्तिपुर
धादिङको दुर्गम ठाउँबाट एक अर्को कोरोना संक्रमित खोकी, ज्वरोको अलावा श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं आइपुगेका थिए । सो बिरामीका आफन्तले कोरोना भाइरस गाउँमा देखेर आफूहरु चकित भएको बताएका थिए । कोरोना गाउँसम्म आउँदैन भन्ने उनीहरुलाई लागेको थियो । त्यो सुनेर म आश्चर्यमा परेको थिएँ । एक अर्को दुर्गम गाउँको कोरोना संक्रमितले आफू र अरु थप केही साथीहरुमा पनि कोरोनाको संक्रमण देखा परेको र आफूलाई स्वास्थ्य समस्या देखिएकोले परामर्शको लागि सम्पर्क गरेको बताएका थिए ।


हाल हाम्रो ध्यान र लडाइँ भाइरसले सहर केन्द्रित बनाइदिँदा आगामी दिनहरुमा गाउँघरलाई अर्को तारो बनाउन लागेको प्रस्टै देखिन्छ । यो लेख तयार पार्दै गर्दा नेपालका विभिन्न गाउँघरहरुमा कोरोनाले प्रभावित पार्दै गएको तथ्यांक आउनेक्रम सुरु भइसकेको छ ।


केही दिन अगाडि मैले जुममार्फत एक दुर्गम गाउँमा सर्वसाधारण तथा होम आइसोलेसनमा रहेका संक्रमितसँग छलफल गर्ने अवसर पाएको थिएँ । कोरोनाको अवस्था (नयाँ कोरोना भेरियन्टको बारेमा), जिज्ञासाहरुको समाधान र आगामी दिनमा गर्नुपर्ने सतर्कता बारेमा अन्तरक्रिया भएको थियो । पहिलो लहरमा जुममार्फत सहरको बस्तीहरुलाई मात्र समेट्न सकेको थिएँ । यो पटक भने गाउँमा पनि सम्पर्क गर्न सकिरहेको छु । दोस्रो लहरले भौगोलिक रुपमा विकट गाउँ पुगेर प्रभावित पारेको देखिन्छ । कोरोनाले स्वास्थ्यमा जटिल अवस्था सिर्जना हुँदा उपचारको लागि सहर ल्याउनु परेको र कतिपयको ल्याउने क्रममा ढिलो हुँदा मृत्युसमेत भइरहेको खबरहरु पनि आइरहेका छन् । अर्थात् कोरोना गाउँबस्तीहरुमा प्रवेश गरी आफ्नो क्षमता प्रदर्शन गर्न सुरु गरिसकेको प्रस्टै देखिन्छ ।


पहिलो लहरमा स्थानीय सरकारहरु सक्रिय देखिन्थे। समाचारहरुमा भनिएअनुसार त्यहाँ अस्थायी क्वारेन्टिन/आइसोलेसन बनाउने तथा शंकास्पद/निदान भएका संक्रमितलाई राख्न गाउँहरुबीच होडबाजी नै चलेको थियो। तर अहिले अन्तरक्रियामा त्यहाँ शंकास्पद वा गाउँ बाहिरबाट आहेकालाई मात्र होइन संक्रमण प्रमाणित भइसकेकाहरु पनि होम आइसोलेसन नबसी गाउँ घुम्ने, साथीभाइहरु रमाइलो गर्दै हिँड्ने गरेको बताइएको थियो । यसले पहिलो लहरमा त्यहाँ अस्थायी क्वारेन्टिन/ आइसोलेसनहरु स्थापना गर्नमा चासो/सक्रियता लिएको भनिए पनि यसको महत्व बुझाउनबाट भने चुकेको रहेछ भन्ने बुझिन्छ ।


कोरोना भाइरस आफैंमा अघिल्लो भेरियन्टभन्दा तीव्र गतिमा फैलने (भेरियन्ट अफ कन्सर्न) भनेर वैज्ञानिकहरुले प्रमाणित गरिसकेको अवस्थामा आइसोलेसन नबस्ने र जनस्वास्थको मापदण्ड पनि पालना नगर्दा गाउँहरु नै प्रभावित भइरहेका छन् । दोश्रो लहरमा परिवार नै संक्रमित हुने ट्रेन्ड देखिरहँदा गाउँहरुमा पनि परिवार नै संक्रमित हुनसक्ने / भएका पनि देखिन्छन जसमा स्थानीय सरकारले सहयोग तथा मनोबल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ ।


कोरोनाका लक्षणहरु मिल्दोजुल्दो देखिए कोरोना पुष्टि गर्न प्रयोगशाला परीक्षण गर्नुपर्ने आवश्यक हुन्छ । लेखकसँग सम्पर्कमा आएका कतिपय कोरोना संक्रमितले गाउँघरतिर कोरानाको टेस्ट सहज नभएको भनेका थिए । यस्तो अवस्थामा यदि ती शंकास्पद कोरोनाका बिरामी जटिल अवस्थामा पुगेर अस्पताल पुगे तत्काल भर्ना हुनबाट बन्चित हुनसक्नेछ । किनभने कोभिड अस्पतालले भर्ना गर्नु अगाडि कोरोना प्रमाणित भएको प्रयोगशाला परीक्षणको रिपोर्ट माग्नेछ । यस्तो समस्या काठमाडौँमा प्रशस्त देखिने गरेको थियो । बिरामीमा श्वासप्रश्वास समस्या देखिनुमा कोरोना नभएर अरु नै कारण रहेछ र कोभिड अस्पतालमा भएका बिरामीसँग राखेर उपचार गर्दा अस्पतालमा नै कोरोना सर्न गए झन् अर्को समस्या थपिने भएकोले यस्तो गर्नु परेको हो ।


पीसीआर परीक्षण गर्न विभिन्न कारणहरुले सहज नहुन सक्दछ । त्यस्तो अवस्थामा एन्टिजेन परीक्षणको सहायता लिन सकिन्छ । एन्टिजेनको किट कुनै पनि ठाउँमा पुर्‍याउन सहज हुने र तुरुन्तै नतिजा पाउन सकिने छ । र महत्वपूर्ण कुरा भनेको यसको लागि विशेष तालिम प्राप्त जनशक्तिको आवश्यकता पनि पर्दैन। स्वयंसेवक/सेविकाहरुलाई सामान्य तालिम दिए तत्काल कोरोना संक्रमण भएको/नभएको थाहा पाउन सकिने छ।


नेपालले पहिलो लहरमा गाउँघरमा सहरको तुलनामा त्यति जटिल रुपमा कोरोनाको संक्रमण सामना गर्नु परेको थिएन । तसर्थ यो पटक गाउँमा कोरोना फैलँदा देखिने समस्याहरुको अनुभव पहिलो हुनेछ । यो पक्कै सहज हुने छैन ।


हालसम्म सहरमा रहेका सक्रिय संक्रमितहरुलाई परामर्श दिँदै गर्दा विशेषत: शरीरमा अक्सिजनको स्तर हेर्न र थप शंका लागे छातिको एक्सरे वा आवश्यकता हेरी सिटी स्क्यान गर्न सुझाव दिदै आइरहेको छु । बिरामीको अवस्था हेरेर औषधिको समेत सुझाव दिँदै आइरहेको छु । यो प्राय चिकित्सकहरुले गरिरहेका पनि छन् । तर गाउँघरहरुमा यी सबै कुराको सहज पहुँच नहुँदा स्वास्थकर्मीहरुलाई संक्रमितको अवस्थाको बारेमा परामर्श दिन सहज भने हुने छैन ।


दुर्गममा रहेको एक संक्रमितलाई परामर्श दिने क्रममा शरीरमा अक्सिजनको स्तर सोध्दा उनले पल्स अक्सिमीटर नभएको, र एक्सरे गर्न सदरमुकाम नै जानुपर्ने बताएका थिए । त्यस्तै, नजिकै औषधि पसलहरु नहुने वा भए पनि स्वास्थकर्मीहरुले भनेका औषधिहरु नपाउने भनेका थिए । यी समस्याहरु सहरमा देखिने समस्याहरुभन्दा भिन्न थिए । यसले टेलिमेडिसिनको प्रभावकारितामा पनि केहि हदसम्म चुनौती दिनसक्छ ।


अन्तमा, हाल कोरोना भाइरस गाउँघरतिर अर्थात् सहर बाहिर फैलिएर तथ्यांक उकालो लाग्दै गर्दा हालसम्म देखिएको/देखिँदै आइरहेको भन्दा फरक चुनौतीहरुको सामना गर्नुपर्ने अवस्था आउनसक्ने देखिन्छ । प्रगोशाला परीक्षण, शरीरमा अक्सिजनको अवस्था बिना लक्षणहरुको आधारमा मात्र रोगको तीब्रताको अनुमान गर्न सहज हुने छैन र फलस्वरूप संक्रमितको स्वास्थमा अचानक जटिलता अवस्थामा जान सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।


अहिले गाउँघरमा कोरोना भाइरसको बारेमा बुझ्ने र बुझाउने अभियानको पनि ठूलो अभाव/खाँचो देखिन्छ । यो अभियानलाई महाअभियानको रुपमा लैजानु पर्दछ किनभने कोरोनाको यो दोस्रो लहर अन्तिम लहर हुनेछ भनेर ढुक्क हुने अवस्था छैन ।


संयोजक, क्लिनिकल रिसर्च युनिट

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल

प्रकाशित : जेष्ठ १४, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिद्वारा चार सय ३० जनाको कैद मिनाहा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित : जेष्ठ १४, २०७८ १९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×