कोरोनाबाट बागलुङमा ३ जनाको मृत्यु

जेष्ठ १४, २०७८

प्रकाश बराल

बागलुङ — कोरोना संक्रमणबाट शुक्रबार बागलुङका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना ६५ वर्षीय पुरुष र एक जना ६७ वर्षीया महिला रहेका छन् ।

महिला धौलागिरि अस्पतालमा उपचार गराइरहेकी थिइन् । अन्य दुई जनाको स्थानीय स्वास्थ्य पालिकाको आइसोलेसनमा मृत्यु भएको हो । कन्ट्याक्ट ट्रेसिङ नभएर सिकिस्त भएपछि मात्रै उनीहरु स्वास्थ्य संस्थामा आएका थिए । दुवैजनाको एन्टिजेन्ट परीक्षणमा पोजेटिभ पष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । 

ढोरपाटन नगरपालिका वडा नम्बर ५ का पुरुषको शुक्रबार साँझ ५ बजे बुर्तिवाङ अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । अर्का पुरुषको बरेङ गाउँपालिकाले बनाएको आइसोलेसनमा मृत्यु भएको हो ।

दुवै जनामा बिहीबार बेलुकी मात्रै कोरोना पुष्टि भएको थियो । ज्वरो, खोकी र शरीर दुख्ने समस्या भएपछि उनीहरु आइसोलेसनमा आइपुगेका थिए । दुवै जनालाई थप उपचारका लागि धौलागिरि अस्पताल पठाउने तयारी गर्दा मृत्यु भएको हो । 

कोरोना भाइरस

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully