रिपोर्ट आउनै एक साता

परीक्षण नहुँदा संक्रमण फैलिँदै, कन्ट्याक्ट ट्रेसिङसमेत हुन सकेन

जेष्ठ ७, २०७८

कमल पन्थी, वीरेन्द्र केसी, माधव अर्याल, काशीराम डाँगी, हरि गौतम

पाल्पा, रुकुम पूर्व, रोल्पा,  बर्दिया र अर्घाखाँची — पाल्पाको रम्भा गाउँपालिका–२ को तुल र गाबुडाँडाका घरघरै ज्वरो एवं खोकीका बिरामी रहेको जानकारीपछि स्वास्थ्य शाखा प्रमुख शिव अर्यालको टोली बिहीबारदेखि गाउँमा खटिएको छ ।

कोरोना परीक्षणका लागि एन्टिजेन किट अभाव भएपछि आरडीटी किटमार्फत जाँच्ने तयारी थालेको प्रमुख अर्यालले बताए । ‘पीसीआर परीक्षणको रिपोर्ट आउन नौ दिन लाग्यो,’ उनले भने, ‘एन्टिजेन सकिएको छ । खरिद गर्न पनि पाइएको छैन । पहिलाको बचेको आरडीटी थियो, त्यसैलाई भए पनि प्रयोग गरेका छौं ।’

रम्भाको हुँगी अहिले कोरोना हटस्पट बनेको छ । त्यहाँ ७० सक्रिय संक्रमित छन् । असेर्दी, सगाहा, फाँट, दमैटोल, मुखियाटोलमा बिरामी बढी छन् । ‘किट अभाव छ, स्वाब संकलन गरेर पीसीआर परीक्षण गरायो, नतिजा आउन कम्तीमा सात दिन लाग्छ,’ हुँगी स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. पूजन श्रेष्ठले भने ।

उनका अनुसार टोलटोलमा पुगेर लक्षण देखिएकालाई जाँच गर्ने र औषधि दिने गरिएको छ । रुघाखोकी भनेर घरमै बस्ने धेरै छन् । किट अभावले जाँच गर्न आउनेको परीक्षण भइरहेको छैन । ‘लक्षण नदेखिएकालाई हामीले जाँच नै गरेका छैनौं,’ डा. श्रेष्ठले भने, ‘लक्षण भएकालाई समेत जाँच गर्न समस्या छ ।’ कन्ट्याक्ट ट्रेसिङसमेत हुन सकेको छैन ।

फोक्सिङकोटबाट गत वैशाख २९ गते स्वाब संकलन गरेर लगे पनि उनीहरूको रिपोर्ट बिहीबार नौ दिनपछि आयो । स्थानीय सानाहुँगी माविका प्रधानाध्यापक एवतकुमार सारुका अनुसार नौ दिनपछि नतिजा आउँदा संक्रमण समुदायमा फैलिएको छ । उनका अनुसार टाउको दुख्ने, जीउ दुख्ने, ज्वरो आउने समस्या भएका सात जनाको स्वाब पठाइएको थियो । ‘सातै जनालाई लक्षण थियो र स्वाब लिइयो,’ उनले भने, ‘अहिले ६ जनामा कोरोना पोजिटिभ देखियो ।’

रामपुर नगरपालिकाले पठाएको स्वाबको नतिजा पनि बुधबार नौ दिनपछि आयो । नमुनामध्ये ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताए । तिनाउ गाउँपालिकाबाट एक साताअघि संकलन गरिएको स्वाबको नतिजा बिहीबारसम्म आएको छैन । ७५ जनाको रिपोर्ट आउन बाँकी छ । ‘हामीले लक्षण भएकाको मात्र एन्टिजेन र स्वाब लिएका छौं,’ तिनाउका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले भने, ‘एन्टिजेन पनि सकियो ।’

वैशाख दोस्रो सातादेखि रुकुम पूर्वका गाउँका प्रत्येक घरमा तीन/चार जनासम्म बिरामी परे । ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, जीउ दुख्ने, आलस्य बढ्ने, खान मन नलाग्ने, आँखा दुख्नेलगायत लक्षण लक्षण भए पनि उनीहरूको परीक्षण भएन । ‘कोरोनासित मिल्ने लक्षण भएकाले जाँच्न पाए हुन्थ्यो भन्ने लागेको थियो,’ सिस्ने–२ का मनबहादुर विकले भने, ‘तर कता, कसले र कसरी चेक गर्छ पत्तै पाइएन ।’ लुम्बिनी प्रदेश सरकारले सुरुमा पठाएको २ सय एन्टिजेन किट जिल्ला अस्पतालमा राखियो । त्यसबाट अस्पताल पुग्नेको मात्रै परीक्षण भयो ।

पछिल्लो समय परीक्षण बढाइए पनि सर्वसाधारण तयार छैनन् । सिस्ने गाउँकार्यपालिका प्रवक्ता जीवन केसीले एन्टिजेन अभावमा परीक्षण हुन नसकेको उनले बताए । स्वास्थ्य चौकी नायगाडका इन्चार्ज काशीराम खड्का एन्टिजेन परीक्षण गर्न स्थानीय डराएको बताउँछन् । प्रमुख जिल्ला अधिकारी राजकुमार राईले सुरुमा किट अभाव भएको स्विकार्दै हाल पनि पर्याप्त किट नभएको जनाए ।

बर्दियामा पनि कोरोना परीक्षणको रिपोर्ट एक सातापछि मात्रै आउने गरेको छ । यसले संक्रमण फैलिनुका साथै बिरामीको अवस्था गम्भीर हुने गरेको छ । जिल्लामा पीसीआर परीक्षण नहुँदा नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना परीक्षण हुने गर्छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले लक्षण नदेखिएका पीसीआर परीक्षण गराएर घर नबसेकाबाट बढी जोखिम हुने गरेको बताए ।

‘बाँकेस्थित प्रयोगशालामा दैनिक एक हजारभन्दा बढी नमुना संकलन हुने गर्छन्,’ उनले भने, ‘यसै कारण पालो पाउन समय लाग्ने गरेको छ ।’ स्थानीयका अनुसार शुल्क तिरेर कोरोना परीक्षण गरेकाको एकै दिनमा रिपोर्ट आउने गरेको गुनासो पोखे । जिल्लाको सदरमुकाममा कोरोना परीक्षण गर्ने प्रयोगशाला छैन ।

भौगोलिक जटिलताले गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित संक्रमण फैलिएका बस्ती पुगेर स्वाब संकलन गर्न कठिनाइ भएको छ । कालिगण्डकी–५ र ६ वडामा स्वाब संकलन गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताए । गाउँपालिकाको स्वास्थ्य शाखामा दुई जना ल्याब कर्मचारी छन् । ती वडामा घरैपिच्छे रुघाखोकी, ज्वरोका बिरामी छन् । प्रत्येक परिवारका सदस्य संक्रमित छन् । बुधबार दिनभर वडा ६ का १ सय ११ जना र अन्य क्षेत्रका गरी १ सय ७३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि तम्घास पठाइएको स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले बताए । ‘एउटै वडाको एक गाउँबाट अर्को गाउँमा पुग्न खोला र डाँडा पार गरेर जानुपर्दा गाडीमै तीन/चार घण्टा समय लाग्छ,’ थापाले भने, ‘दैनिक स्वाब संकलन गर्न सकिँदैन । दुई जना ल्याबका कर्मचारीले भ्याउन सम्भव भएन ।’

परीक्षण बढाइयो

रोल्पा नगरपालिका–६ कोटगाउँ र सुनिल स्मृति गाउँपालिका–७ तेबाङमा स्वास्थ्यकर्मी गाउँमै पुगेर एन्टिजेन किटद्वारा बिहीबार परीक्षण गरेका हुन् । घरैपिच्छे ज्वरो आउने, रुघाखोकी र जीउ दुख्ने लक्षणका बिरामी भएको जानकारीपछि परीक्षण गरिएको नगर प्रमुख पूर्ण केसीले बताए । उनका अनुसार बिरामी भएको खबर पाउनेबित्तिकै एन्टिजेन किटसहित स्वास्थ्यकर्मी पठाइएको हो ।

बिहीबार ४२ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ । कोटगाउँस्थित स्वास्थ्य चौकी प्रमुख निर्ध्वज घर्तीमगरका अनुसार संक्रमितमध्ये अधिकांश एकै परिवारका धेरै सदस्यसमेत छन् । 

यस्तै, बिरामी धेरै भएका तेबाङमा बिहीबार ५० जनाको परीक्षण गरिएकामा आधाभन्दा बढीमा संक्रमण भेटिएको स्वास्थ्य सहसंयोजक सावित्राकुमारी थापाले बताइन् । गंगादेव गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङ गर्न पछिल्लो पटक १ सय २३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले बिरामी धेरै भए पनि सबैको अवस्था सामान्य रहेको बताए । 

कोरोना खोपकोरोना भाइरस

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

वीरेन्द्र

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

हरि

Link copied successfully