जमघटले फैलियो कोरोना

जेष्ठ ७, २०७८

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरमा विभिन्न औपचारिक कार्यक्रम र अनावश्यक जमघटका कारण कोरोना संक्रमण तीव्र रूपमा फैलिएको स्वास्थ्यकर्मीहरूले दाबी गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका र थाहा नगरमा दैनिक रूपमा संक्रमण बढेसँगै संक्रमितसँग सोधपुछका क्रममा उनीहरूले यस्तो बताएका हुन् । हेटौंडा अस्पतालको कोभिड वार्डमा भर्ना भएकामध्ये ६० प्रतिशतले विवाह, व्रतबन्ध, भोजभतेर, औपचारिक कार्यक्रम र जमघटबाट संक्रमित भएको हेटौंडा अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईंले बताए ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै हेटौंडा अस्पतालको कोभिड वार्डमा २ सय जनाभन्दा बढी बिरामी भर्ना भइसकेका छन् । ३२ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाएकामध्ये १० जना विवाह, भोजभतेर तथा जमघटमा सामेल भएको रहेको अस्पतालका कोभिड वार्ड फोकल पर्सन डा. सागर काफ्लेले बताए ।

स्थानीय तह, प्रहरी, सरोकारवाला पक्षले विवाहमा धेरै मानिस जमघट नगर्न सार्वजनिक सूचना र माइकिङमार्फत पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेको कारण आफ्नो नगरभर कोरोना संक्रमण फैलिएको थाहा नगरका मेयर लवशेर बिष्टको दाबी छ ।

उनका अनुसार थाहा नगरको शिखरकोट बजारमा वैशाखभर लगातार विवाह हुँदा स्वास्थ्य मापदण्डको पालना नभएको र तोकिएको संख्याभन्दा धेरै जमघट भएकाले संक्रमण ह्वात्तै बढेको हो । उक्त वडामा करिब ८० संक्रमित छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully