जाजरकोट — कुशे गाउँपालिका–९ चौराटाका हरिभक्त सुनार बिरामी परेको एक साता बितेको छ । उनलाई ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँकै पम्फे विक पनि ज्वरोले थलिएका छन् । तर उनीहरुको कोरोना परीक्षण अझै हुन सकेको छैन ।
उनीहरु मात्र होइन, कुशेकै दम्दाला, ढीमे, जिन्तालालगायत गाउँका अधिकांश बासिन्दा ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता बिमारले थलिएका छन् । नलगाड नगरपालिकाको कैना, टट्टा, बारेकोटको रामीडाडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामीको संख्या बढिरहेको छ । गाउँभरि शंकास्पद बिरामी बढे पनि परीक्षण र उपचार हुन नसकेको जिन्तालाका कमल चन्दले बताए । ‘अधिकांशलाई कोरोना भएको आशंका छ, तर परीक्षण र उपचार नहुँदा झारफुक र जडीबुटीको उपचारको भर पर्नुपरेको छ,’ उनले भने, ‘कैयौपल्ट जनप्रतिनिधिलाई भनियो तर वास्तै गरेनन् ।’
गाउँमा घरघरै बिरामी भए पनि तातोपानी, जडीबुटी र धामीझाक्रीको झारफुकको भरमा बाँचिरहेको सुनारले बताए । ‘सबैजना जडीबुटीकै भरमा छौं, १/२ दिन सञ्चो हुन्छ,’ उनले भने, ‘फेरि बिमार बल्झिएपछि थला पर्नुको विकल्प छैन ।’ परीक्षण गरे गाउँका अधिकांश व्यक्तिमा कोरोना संक्रमण देखिने उनको भनाइ छ । उनका अनुसार संक्रमित व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङमा रहेकालाई समेत परीक्षण गरिएको छैन ।
एक सातायता दिनहुँ पानी पर्न थालेपछि बिरामी बढिरहेको विकले बताए । उनका अनुसार चौराटाका झण्डै ६० घरधुरीमा बिरामी नभएको घरै छैन । बच्चादेखि वृद्धसम्म बिरामी परेपछि गाउँमा त्रास फैलिएको उनले बताए । ‘न परीक्षण हुन्छ न उपचार,’ उनले भने, ‘स्वासप्रस्वासमा समस्या देखिए मर्नुको विकल्प छैन ।’
गाउँभरि ज्वरो, रुघाखोकी र जिउ दुख्ने बिमारका कारण अधिकांश बासिन्दा लखतरान परेको दम्दालाकी निर्मला थापाले बताइन् । ‘गाउँको स्वास्थ्यचौकीमा औषधि पनि छैन, स्वास्थ्यकर्मी पनि भेटिदैनन्,’ उनले भनिन्, ‘अब त घरेलु उपचारकै भर छ ।’ स्थानीय सरकारले बिरामीको उपचारमा बेवास्ता गरेको उनको गुनासो छ ।
जनप्रतिनिधिले भने परीक्षण र उपचारको काम सुरु भएको दाबी गरेका छन् । कोरोना परीक्षण र अन्य स्वास्थ्य समस्याको उपचारको लागि गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । ‘कोरोना हो कि अन्य भाइरल रोग हो भन्नेबारे १/२ दिनमै थाहा हुन्छ,’ उनले भने, ‘आज (बिहीबार) बाट स्वास्थ्यकर्मीले घरदैलो थालेका छन् ।’
गाउँ गाउँमा कोरोना संक्रमणको जोखिम बढे पनि किट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीय अगुवा बद्री पन्तले बताए । उनका अनुसार जिल्ला अस्पताल र केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको छ । ‘किटको अभाव देखाउँदै परीक्षणको दायरा साघुँरो बनाइएको छ,’ उनले भने, ‘स्थानीय तहले समयमै ध्यान दिएको भए यस्तो भयाभह अवस्था आउने थिएन ।’ उनले कोरोना संक्रमितलाई परीक्षण नगरी गाउँ पठाउँदा समुदायस्तरमा संक्रमण फैलिएको बताए । भारतबाट आएका मानिसहरु गाउँ पस्दा संक्रमण फैलिएको उनको भनाइ छ ।
वैशाख पहिलो सातादेखि हालसम्म एन्टिजेन विधिबाट १ हजार ४ सय जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५ सय ७ जनाको पीसीआरमार्फत कोरोना परीक्षण भएको हो । पीसीआर रिपोर्ट ढिलो आउँदा र परीक्षण गरिएका मानिस आइसोलेसनमा नबस्दा थप संक्रमण फैलिने खतरा बढेको जिल्ला स्वास्थ्य व्यवस्थापक टिकाराम जैसीले बताए । उनका अनुसार तत्काल नतिजा दिने एन्टिजेन विधिबाटै परीक्षण गर्न खोजिए पनि किट अभाव हुँदा समस्या भएको छ । थप किट माग गर्दा माथिल्लो निकायबाट नपाइएको उनले बताए । उनका अनुसार कार्यालयकै पहलमा किट किन्न खोज्दा पनि काठमाडौसमेत किट पाइएन । स्वास्थ्य कार्यालयले प्रदेश सरकारले पठाएका केही किट स्थानीय तहलाई समेत वितरण गरेको थियो । खरिद गर्न खोज्दा किट नपाइएपछि परीक्षणको काम प्रभावित भएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।
पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणबाट जाजरकोटमा ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब चार सयले कोरोना जितेका छन् । जाजरकोटमा ५ सय सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा व्यवस्थापक जैसीले बताए । उनका अनुसार पछिल्लो समय समुदायस्तरमा संक्रमित बढ्दै गएका छन् । कोरानाको संक्रमणबाट अहिलेसम्म ५ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
