३६ अक्सिजन प्लान्टमा सशस्त्र प्रहरी

जेष्ठ ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले निजी अक्सिजन प्लान्टको सुरक्षामा सशस्त्र प्रहरी बल (एपीएफ) लाई खटाएको छ । अक्सिजनको उत्पादन क्षमता र वितरण प्रणालीलाई व्यवस्थित गर्न एवं कालोबजारी रोक्न उद्योगमै सशस्त्रलाई खटाइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनस्वास्थ्यसँग सम्बन्धितबाहेक महामारीको जोखिम रहेसम्म अन्यत्र अक्सिजनको खपत पूर्ण रूपमा रोक्न एवं जथाभावी भण्डारण नियन्त्रण गर्न उद्योगमै सशस्त्र प्रहरीलाई परिचालन गरिएको बताए । सशस्त्र प्रहरी खटिएपछि उद्योगमा कार्यरत कर्मचारीबाहेक अन्यलाई बिनाअनुमति प्रवेशमा पनि रोक लगाइएको उनको भनाइ छ ।

‘अक्सिजन नपाएर अस्पतालमा उपचाररत बिरामीले ज्यान गुमाउनु नपरोस्, घरमा रहेका अक्सिजन प्रयोगकर्ता बिरामीले पनि अस्पताल एवं चिकित्सकको प्रेस्किप्सनमा सजिलै सिलिन्डर भर्न पाउन् भनेर सशस्त्र प्रहरीलाई प्लान्टमै खटाइएको हो,’ उनले भने ।

प्रवक्ता दाहालका अनुसार अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन पनि विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले गृह मन्त्रालयको निर्णयका आधारमा उपत्यकाका ७ सहित देशभरका ३६ वटा अक्सिजन उत्पादक कम्पनीमा सशस्त्र प्रहरीलाई खटाइएको बताए । 

तीन जिल्लाका प्लान्टमै सेना 

नेपाली सेनाले आफ्नो जनशक्ति खटाएर ५ वटा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । यी प्लान्टहरू काठमाडौं, काभ्रे र रूपन्देहीका हुन् । सेनाका अनुसार काठमाडौंको अक्सिटेक अक्सिजन प्लान्टमा ७ सैनिक खटाएर काम भइरहेको छ । जसको क्षमता ८० घनमिटर छ । काभ्रेको पनौतीस्थित नवज्योति अक्सिजन प्लान्टमा ८ सैनिक खटाइएको छ ।

 जसले १५० घनमिटरका दुई वटा प्लान्ट सञ्चालन गरिरहेको छ । रूपन्देहीको छिपागढमा शंकर अक्सिजन प्रालिले प्रतिदिन ५५० थान सिलिन्डर र लुम्बिनी अक्सिजन उद्योगले प्रतिदिन २८८ थान तथा बागदुरास्थित लुम्बिनी अक्सिजन प्रालिले प्रतिदिन २८८ थान सिलिन्डर उत्पादन गरिरहेका छन् । यी प्लान्ट सञ्चालनमा हाल ३५ सैनिक खटिएका छन् । सेनाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा उक्त काम गरेको जनाएको छ ।

सेनाले वैशाख २८ यता हवाई र सडकमार्फत सिलिन्डर ढुवानीलाई पनि तीव्रता दिएको छ । यस अवधिमा भरी र खाली गरी मुलुकभर ३८० थान विमानमार्फत र सडकमार्फत ५५० थान सिलिन्डर ढुवानी गरेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully