‘मेडिकल’ को भर पर्दा सिकिस्त

कोरोनासित मेल खाने लक्षण भए पनि रूघाखोकी भन्दै औषधि किनेर खाने चलन

रुपन्देही, पाल्पा, कपिलवस्तु, बर्दिया — रूपन्देहीको बुटवल–३ का ५६ वर्षीय पुरुषलाई १५ दिनअघि रुघा लाग्ने, ज्वरो आउने र शरीर दुख्ने लक्षण देखियो । परिवारका सदस्यले उनलाई स्थानीय मेडिकल (औषधि पसल) मा पुर्‍याए । लक्षण बताएपछि मेडिकलले औषधि दियो । औषधि सुरु गरेको दुई/तीन दिनसम्म लक्षण थामिएन ।

‘मेडिकल’ को भर पर्दा सिकिस्त

त्यसपछि शंका लागेर स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि पनि उनी घरमै बसे । आफन्त र चिनजानकाले अस्पताल जान सुझाए पनि टेरेनन् । गत जेठ १ गते स्वास्थ्य गम्भीर भएपछि उनलाई बुटवलस्थित कोरोना अस्पतालको एचडीयूमा भर्ना गरियो । ‘अर्को दिन थप समस्या भएपछि आईसीयूमा सारियो तर बचाउन सकिएन,’ परिवारका एक सदस्यले भने, ‘सुरुवातमै अस्पताल लगेको भए निको हुने थिए ।’

रूपन्देहीकै सिद्धार्थनगर–६ का ५८ वर्षीय पुरुषलाई गत वैशाख २० गते ज्वरो आयो । हल्का खोकी पनि लाग्यो । त्यसपछि स्थानीय मेडिकलमा जँचाउन गए । त्यहाँबाट एक साताका लागि एन्टिबायोटिक औषधि ल्याएर खान थाले । स्वास्थ्यमा सुधार देखिएन । उल्टै गाह्रो हुँदै गयो । ज्यान दुख्न थाल्यो । एक सातापछि छिमेकीले पीसीआर जँचाउन सल्लाह दिए । स्वाब दिएको तीन दिनपछि रिपोर्टमा कोरोना पोजिटिभ देखियो । ‘अक्सिजन स्याचुरेसन कम भएकाले दुई दिनसम्म घरमै अक्सिजन लगाएँ,’ उनले भने, ‘त्यसले नधानेपछि भीम अस्पताल गएँ ।’ बेड खाली नभएपछि भुइँमै उपचार सुरु गरिएका उनलाई श्वासप्रश्वास समस्या बढ्दै गयो । चिकित्सकको निगरानी र परिवार र छिमेकीले मनोबल बढाए ।

मंगलबार कोरोना रिपोर्ट नेगेटिभ आयो । ‘अक्सिजन स्याचुरेसन ९२ सम्म पुगेकाले घर फर्किएँ,’ उनले भने । कोरोनासित मेल खाने लक्षण देखिनासाथ पीसीआर जाँच र छातीको एक्सरे गर्नुपर्ने बुझेको उनले बताए ।

बुटवलस्थित कोरोना अस्पतालको भेन्टिलेटरमा उपचाररत तिलोत्तमा–५ का ६३ वर्षीय पुरुषले कोरोनासित मेल खाने लक्षण देखिए पनि परिवारका सदस्यलाई जानकारी गराएनन् । मेडिकलबाट किनेर केही दिनसम्म रुघा र ज्वरोको औषधि खाए । परिवारका अनुसार स्वास्थ्य गम्भीर भएपछि छोराले पीसीआर जाँच गराउन अस्पताल लगे । कोरोना संक्रमण पुष्टि भयो । घरमै बसेर आराम गर्न थाले । ज्यान दुखाइ कम भएन । ‘घरै राख्दा समस्या हुने डरले आइसोलेसन अस्पताल लग्यौं,’ जेठा छोराले भने, ‘अस्थायी अस्पतालमा बस्दाबस्दै आत्तिनुभयो, त्यसपछि कोरोना अस्पताल ल्याइयो ।’ अहिले १० दिन पुग्यो । आईसीयूमा राखेदेखि बुबालाई हेर्न नपाएको, खाना दिन नपाएको हुनाले मन आत्तिएको उनले बताए । ‘बुबाले सुरुमा नबताउँदा ढिला भयो,’ उनले भने ।

कपिलवस्तु नगरपालिका–४ पिपरीका ३४ वर्षीय नन्दकिशोर बढईलाई तीन/चार दिन रुघाखोकी र ज्वरोले गलायो । उनले स्वास्थ्य परीक्षण गराएनन् । गाउँकै एक क्लिनिकबाट औषधि किनेर खाएपछि ज्वरो र रुघाखोकी ठीक भयो । पाँचौं दिन एक्कासि सास फेर्न गाह्रो भयो । सोमबार साँझ उनलाई तौलिहवा अस्पताल ल्याएर भर्ना गरियो । उनको अवस्था झन्झन् खस्किँदै गयो । अस्पतालका अनुसार मंगलबार बिहान उनको मृत्यु भयो । शिवराज नगरपालिका–५ का ४८ वर्षीय सूर्य रेग्मीलाई पाँच दिनअघि रुघा लाग्यो । घाँटी खसखस भयो । ज्वरो आयो । उनले घरनजिकको मेडिकलबाट औषधि किनेर खाए । एक/दुई दिन आराम भयो । आइतबार स्वास्थ्य समस्या बल्झियो । लगत्तै चन्द्रौटास्थित शिवराज आधारभूत अस्पताल पुर्‍याइयो । त्यहाँ पुग्दा उनको अक्सिजन स्याचुरेसन ४२ मात्र थियो । अस्पतालले गम्भीर बिरामीको उपचार गर्न नसकिने भन्दा पनि अभिभावक मानेनन् । उनको सोमबार त्यहीँ मृत्यु भयो ।

रुघाखोकी हुने, जीउ दुख्ने र ज्वरो आउँदा हेलचेक्र्याइँ गरेर बस्ने र च्याप्दै गए मेडिकल पसलबाट औषधि किनेर खाने प्रवृत्ति कोरोना महामारीका बेलामा पनि हटेको छैन । कोरोनासित मेल खाने लक्षण भएका मानिस गाउँमा प्रशस्तै भेटिन्छन् । कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले धेरैजसो बिरामी श्वासप्रश्वासमा समस्या भएपछि मात्रै अस्पताल जाने गरेको बताए । ‘बिमारले च्यापेपछि अस्पताल जाँदा मृत्यु दर बढ्दै गएको छ,’ उनले भने ।

कोरोनाको निर्मूलीकरणमा एन्टिबायोटिक औषधिले काम नगर्ने लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । एक वर्षदेखि संक्रमितको उपचारमा खटिरहेका उनले यसपालि संक्रमणले पहिलेको तुलनामा सुरु अवस्थादेखि धेरै असर गर्ने र लापरबाही गर्दा फोक्सो बिग्रिसकेका हुने गरेको बताए । ‘अरु ब्याक्टेरिया भन्ने सोचेर मेडिकलमा जँचाउनु, हरेक ज्वरोलाई टाइफाइड र फ्लुको संज्ञा दिनु गलत हो,’ उनले भने, ‘बिरामी ढिला अस्पताल पुग्ने मुख्य कारण मेडिकलको जाँच हो ।’

धेरैले ज्यान गुमाएको, संक्रमित आत्तिएको थाहा पाउँदा पाउँदै पनि मानिसले ज्वरो आए, रुघा लागे मेडिकलबाट औषधि किनेर खाने गरेको उनले बताए । ‘ढिलो आउने बिरामीका दुवै फोक्सोमा निमोनिया भइसकेर अक्सिजन तान्न नसक्दा ज्यान जाने गरेको पाइएको छ,’ उनले भने । उनका अनुसार दोस्रो लहर सुरु भएयता ७० प्रतिशत बिरामी मेडिकलको उपचारपछि मात्र अस्पताल आउने गरेको पाइएको छ ।

स्वास्थ्यकर्मीको निगरानीबिना चलाइएका औषधिले गर्ने हानिबारे बुझ्न जरुरी रहेको डा थापाले बताए । ‘मेडिकलले ज्वरो र खोकी रोक्न दिइने एन्टिबायोटिकका साइड इफेक्ट हुन्छन्,’ उनले भने, ‘ती साइड इफेक्टसँगै एन्टिबायोटिकले भाइरसलाई विकास हुन सहज गराउँदै गएपछि बिरामीको अवस्था गम्भीर बन्छ ।’ थरीथरीका औषधि सेवनले निको हुने नभई उल्टै ब्याकटेरियालाई फैलिन बाटो दिने उनले बताए । ज्वरो आउने, खोकी लाग्ने बिरामीलाई स्लाइन चढाउँदा कोरोनाले गराएको निमोनिया फोक्सोभरि फैलिने गरेको समेत उनले सुनाए । यसपटक कोरोना भाइरस सुरुवातमै असरदार भएकाले ज्वरो आउने, खोकी लाग्ने, ज्यान दुख्नेजस्ता समस्या देखिए अस्पतालमा जाँच्न उनले सुझाए ।

जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन गर्दा रोग जटिल भएर बिरामीको मृत्युदर बढेको बताए । स्वास्थ्य परीक्षण गराएर औषधि सेवन गर्दा जोखिम कम हुने उनले बताए । ‘डाक्टरको पर्चाबिना औषधि बेच्न मिल्दैन,’ उनले भने, ‘जिल्लामा रहेका क्लिनिकले डाक्टर राख्नुपर्ने नियम छ । चिकित्सकबिनाका क्लिनिकले उपचार गर्नु स्वास्थ्य ऐनविपरीत हुन्छ ।’

पाल्पाको तानसेनस्थित मेडिकलमा औषधि खरिद गर्दै सर्वसाधारण । तस्बिर : माधव अर्याल/कान्तिपुर

पाल्पाको तानसेनलगायत ग्रामीण भेगमा सोझै औषधि खरिद गरेर खानेको संख्या बढेको छ । यसरी सोझै औषधि खानु स्वास्थ्यका लागि घातक हुने चिकित्सकले बताएका छन् । बिरामीले जाँच नगर्ने र अर्कालाई पठाएर औषधि खाने प्रचलन छ । सिटामोल, भिटामिन र जिंक चक्की खरिद गर्नका लागि मानिस सोझै मेडिकल पुग्छन् । सन्चो हेल्थ केयर प्रालिका डा. झपेन्द्र ढकालका अनुसार जाँच गराउनेभन्दा धेरै औषधि खरिद गर्न आउने गर्छन् ।

चिकित्सकको सल्लाहबिनै औषधि खरिद गर्नेको संख्या बढेको उनले बताए । ‘घरघरमा बिरामी छन्,’ उनले भने, ‘जाँच गर्न पनि नआउने र औषधिका लागि चिकित्सकको सल्लाह पनि नलिने गरेको पाइन्छ ।’ जान्ने बुझ्नेले सिटामोल, एजिथ्रो, सिट्रिजिन, सुक्खा खोकीको झोल औषधि सोझै खरिद गर्छन् । ‘टाउको दुख्ने, ज्वरो आउने, ज्यान दुख्ने कारण अरू पनि हुन सक्छ,’ उनले भने, ‘त्यसैले जँचाउन जरुरी हुन्छ ।’

पाल्पाका ग्रामीण भेगमा सबैतिर चिकित्सक भेटिँदैनन् । ताँहु र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, हुँगी र रैनादेवी छहराको छहराको स्वास्थ्य चौकीबाहेकमा मेडिकल अधिकृत भेट्न मुस्किल छ । तानसेनमा सन्चो हेल्थ केयर, लुम्बिनी मेडिकल कलेजको टाउन क्लिनिकबाहेकमा मेडिकल अधिकृत भेटिँदैन । औषधि खरिद गर्न जानेहरू भने सोझै मेडिकलमा पुग्छन् । सर्वसाधारणले औषधि जथाभावी खरिद गर्दा सहर र ग्रामीण भेगमा सिटामोललगायतका औषधि अभाव हुन थालेको छ । छहराको हिमालय मोडल फार्मेसीका इन्द्र बरालले सिटामोल, जिंक ट्याबलेट, भिटामिन सी, अक्सिमिटर, पन्जा अभाव हुन थालेको बताए ।

नेपाल औषधि व्यवसायी संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठले सदरमुकाममै पनि औषधिको खपत बढेको बताए । ‘घरमा बिरामी छन् भनेपछि औषधि नदिएर पनि नहुने, जाँच नगरीकन दिँदा भोलि अर्को समस्या आउने हो कि भन्ने पनि छ,’ उनले भने । औषधि खरिद गरेर घरमा राख्ने गर्दा र थोक बिक्री गर्नेहरूले नै औषधि निर्यात नगर्दा अभाव भएको हो । जिल्लाका अधिकांश मेडिकलमा बुटवलबाट औषधि आपूर्ति हुन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?