२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

खोप खरिदमा आलटाल

बल्ल २० लाख डोजका लागि तीन कम्पनीलाई प्रस्ताव,‘ठेगाना पत्ता नलागेको’ भन्दै चिनियाँ कम्पनीलाई पत्रै पठाइएन, सिनोभ्याक ल्याउन व्यवसायी तयार भए पनि स्वीकृति प्रक्रिया अघि बढेन
मकर श्रेष्ठ

काठमाडौँ — पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।

खोप खरिदमा आलटाल

उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ ।

चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइले

खोप छिट्टै आइहाल्ने आशा जगाएको थियो । तर १५ दिनपछि बल्ल सरकारले खोप खरिद प्रक्रिया अघि बढाएको छ ।

औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि भारतको कोभिसिल्ड र कोभ्याक्सिन, रसियाको स्पुतनिक भी र चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति दिइसकेको छ । तिनैमध्ये कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खरिदका लागि स्वास्थ्य सेवा विभागले मंगलबार सम्बन्धित कम्पनीलाई प्रस्ताव पठाएको छ । विभागका आपूर्ति महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले चीनको भेरोसेल खोप उत्पादन गर्ने कम्पनीमा भने खरिदको प्रस्ताव गर्न ठेगाना नै पत्ता लाग्न बाँकी रहेको बताए । ‘हामीले २० लाख डोज खोप खरिद गर्न लागेका छौं, कहिले उपलब्ध गराउने भनेर तीन कम्पनीलाई पत्र लेखेका छौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले सम्बोधन गरेको तीन दिनपछि वैशाख २३ मा बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेको टोलीले चीनसँग कोरोना महामारी नियन्त्रणका लागि खोप, अक्सिजन सिलिन्डरलगायत सहयोगको प्रस्ताव गरेको थियो । उक्त टोलीले खोप उत्पादक सिनोफार्मका अधिकारीलाई नै भेटेर खोप सहयोग गर्न आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यति बेला नेपाललाई २० लाख डोज भेरोसेल खोप उपलब्ध गराउन सक्ने जनाएको बेइजिङस्थित दूतावासका उपप्रमुख सुशील लम्सालले बताए ।

यस विषयमा एक साताअघि नै दूतावासले परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाइसकेको छ । स्वास्थ्य मन्त्रालयले यसबारे कुनै निर्णय लिन सकेको छैन । खोप उत्पादन गर्ने कम्पनी र चिनियाँ अधिकारीहरू बेइजिङ दूतावासको सम्पर्कमा रहेकै अवस्थामा स्वास्थ्य सेवा विभागले भने सिनोफार्मको ठेगाना पत्ता नलागेको बहाना बनाएको हो ।

‘स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने व्यक्तिले आँट देखाएर निर्णय गर्न सकेका छैनन्,’ स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ सुशील प्याकुरेलले भने, ‘यसको असर खोप खरिदमा परेको छ । नेतृत्व लिएका व्यक्तिले आफूमा हिम्मत नभए मातहतका प्राविधिक र विज्ञ व्यक्तिलाई अधिकार दिनुपर्छ ।’

मन्त्रालय र विभागमा खोप र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा सामान्य जानकारी पाउन पनि मुस्किल छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि खोप, अक्सिजन, बेड अभावजस्ता विषयमा पत्रकारहरूसँग तर्किने गरेका छन् । ५० लाख डोज खोप खरिदमा नेपाली एजेन्टले मागेको कमिसन दिन तयार नहुँदा प्रक्रिया नबढाएको अभिव्यक्तिले उनी विवादमा तानिएका छन् । दोस्रो डोजका लागि खोप सुरक्षित नगरी प्रगति देखाउन मन्त्री त्रिपाठीले अनुदानमा प्राप्त र खरिद गरेको खोप पहिलो डोजमै सकाएका थिए । १४ लाख ५० हजारभन्दा बढी व्यक्ति दोस्रो डोजको खोप पर्खिरहेका छन् ।

‘सांसद र उनीहरूका आफन्तले दोस्रो डोज पनि लगाइहाले,’ प्याकुरेलले भने, ‘मारमा त उही वृद्धवृद्धा परे ।’ पहिलो डोज लगाएको १२ सातामा दोस्रो डोज लगाए बढी प्रभावकारी हुने विज्ञले जनाएका छन् । यस हिसाबले पहिलो डोज लगाएकाले जेठ तेस्रो सातासम्म दोस्रो डोज लगाइसक्नुपर्ने हुन्छ । तर खोप आउने अझै निश्चित छैन । संक्रमण रोकथाम तथा नियन्त्रण, खोप खरिदलगायत विषयमा सिफारिस गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सीसीएमसीसमेत सक्रिय छ तर सीसीएमसी सेवामुखीभन्दा पनि ‘अन्यमुखी’ बनेको टिप्पणी पूर्वप्रमुख विशेषज्ञ प्याकुरेलले गरे ।

सरकारले भारतमा उत्पादित कोभिसिल्ड खोप २० लाख डोज खरिदका लागि सम्झौता गरे पनि १० लाख डोज मात्र ल्याइएको छ । १० लाख डोज कहिले आउने निश्चित छैन । चीनको सिनोभ्याक्स खोप ल्याउन व्यवसायी तयार भए पनि स्वीकृतको फाइल अघि बढाएको छैन । ‘साढे दुई महिनाअघि नै सबै कागजपत्र आइसकेको हो तर आपत्कालीन प्रयोगको अनुमति र आयात स्वीकृतिको निर्णय भएको छैन,’ विभाग स्रोतले भन्यो । अनुमति पाएको ३५ दिनभित्र २० लाख खोप आयात गर्ने प्रस्ताव व्यवसायीले विभागमा पेस गरेका हुन् ।

खोपविज्ञ डा. श्याम उप्रेतीले कोरोनाको दोस्रो लहरमा खोप लगाएका व्यक्तिलाई संक्रमणले कम असर गरेकाले पनि सरकारको प्राथमिकता खोप खरिदमा हुनुपर्ने बताए । ‘भ्याक्सिन लगाएकाहरू संक्रमित भए पनि गम्भीर भएको देखिएन । मृत्युबाट बचाउन खोपले सहयोग गरेको पाइयो,’ उनले भने, ‘आउँदो वर्ष ३० वर्षभन्दा माथिका ४१ प्रतिशत नागरिकलाई खोप लगाउन सरकारले कम्तीमा १ करोड १० लाख खोप किन्नुपर्ने हुन्छ ।’

कोभ्याक्सबाट १ करोड ३० लाख डोजभन्दा बढी खोप आउने अनुमान सरकारले गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले वैशाख २८ को पत्रकार सम्मेलनमा खोप खरिदका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको दाबी गरेका थिए । ‘हामीले अमेरिकाले अनुदानमा दिने खोप प्राप्त गर्न पनि छलफल अघि बढाएका छौं,’ उनले भनेका थिए, ‘अनुदानको खोपमा मात्रै हामी परेका छैनौं ।’

प्रकाशित : जेष्ठ ५, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?