अक्सिजन ओसार्दै सेना 

विनोद भण्डारी

विराटनगर — काठमाडौं र अन्य प्रदेशका स्वास्थ्य संस्थामा अक्सिजन अभाव हुन थालेपछि नेपाली सेनाले प्रदेश १ बाट लैजान थालेको छ । मंगलबार सेनाले आफ्नै जहाजमा ६० सिलिन्डर लगेको छ ।

अक्सिजन ओसार्दै सेना 

खाली सिलिन्डर विराटनगर विमानस्थलसम्म ल्याई सुनसरी–मोरङका उद्योगबाट भराएर लैजान थालेको हो । सुनसरी–मोरङ औद्योगिक करिडोरमा अक्सिजनका पाँच उद्योग छन् । सबैले प्लान्टको क्षमता बढाएर उत्पादन गर्दै आएका छन् ।

सबै उद्योगले दैनिक दुई हजार सात सय सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन् । प्रदेश १ मा भने अहिले दैनिक एक हजार पाँच सय सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले उत्पादन क्षमता बढाएर अक्सिजन उत्पादन गर्दै आएका छन् । सेनाले गत बुधबारदेखि अक्सिजन सिलिन्डर राजधानीलगायत अन्य क्षेत्रमा पुर्‍याउन थालेको हो ।

पहिलो पटक संखुवासभाबाट संकलन गरिएका १ सय ५० थान अक्सिजन सिलिन्डर सुनसरीको हिमाल, मारुती र दुर्गा अक्सिजन प्लान्टमा भरेर ट्रकमा काठमाडौं पठाइएको थियो । त्यसैगरी, गत बिहीबार सेनाको जहाजले ६० वटा खाली सिलिन्डर ल्याएको थियो ।

विनायक अक्सिजन प्लान्टमा ती सिलिन्डर भरेर भैरव गण मोरङले राजधानी पठाएको थियो । शुक्रबार कृष्णदल गणले जहाजबाट आएका ६० वटा सिलिन्डर सुनसरीको पाथीभरा अक्सिजन प्लान्टमा भर्न लगाएर पठाएको थियो ।

त्यस्तै शनिबार ६० वटा सिलिन्डर सेनाको जहाजमार्फत भैरहवा लगिएको सैनिक स्रोतले बताएको छ । बाहिरबाट आएका खाली सिलिन्डरमात्र भरेर अक्सिजन पठाउने गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । प्रदेशको मागअनुसारको अक्सिजन मौज्दात राखेर मात्र बाहिर पठाउने गरिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?