प्रदर्शनमाथि पानीको फोहोरा

जेष्ठ २७, २०७७

मातृका दाहाल

काठमाडौँ — मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ ।

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘संक्रामक रोग नियन्त्रण ऐन २०२०’ का प्रावधान उल्लंघन गरेका कारण सामान्य बल प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताए । 

तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

लकडाउनका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि हुलहुज्जत र प्रदर्शनमा उत्रिएका कारण नियन्त्रणमा लिनुपरेको डीआईजी पोख्रेलले बताए ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully