जोलहनपुर्वामा फर्कियो खुसी

२६ जनामा संक्रमण देखिएपछि डर र अफवाहको हावा फैलिएको थियो । छिमेकीले शंकाको नजरले हेर्थे । तर संक्रमित सबै निको भएर फर्किएपछि जोलहनपुर्वा पुरानै लयमा फर्किंदै छ । स्थानीयको अनुहारमा चमक बौरिँदै छ ।

जेष्ठ २७, २०७७

ठाकुरसिंह थारु, जनकराज सापकोटा

बाँके — नेपालगन्जको त्रिभुवन चोकदेखि दुई सय मिटर दक्षिण छिरेर पूर्वतर्फ मोडिएपछि महेन्द्र पार्क आउँछ । यही पार्कसँगै जोडिएको जोलहनपुर्वामा गत वैशाख १९ गते अनौठो सन्नाटा छायो । बाँकेमै पहिलोपल्ट जोलहनपुर्वाको मदरसामा बस्ने ६० वर्षीय व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । त्यसपछि टोलमा मात्रै होइन जिल्लाभरि त्रास फैलियो ।

पहिलो संक्रमित देखिएलगत्तै अरूमा परीक्षण गर्दा यही टोलका ७ जनामा पनि कोभिड–१९ पाइयो । त्यसपछि संक्रमित व्यक्तिको क्षेत्र र उनको बाक्लो आउजाउ रहेको जोलहनपुर्वामा ट्ेरसिङ गरी ५६ जनाको स्वाब संकलन गरियो । त्यसक्रममा जोलहनपुर्वाका ७ वर्षीया बालिकासहित १८ जनामा संक्रमण पुष्टि भयो । यो खबर जोलहनपुर्वामा डढेलोझैं सल्कियो । छिमेकी टोल र सिंगो बाँकेमै जोलहनपुर्वाको चर्चा मात्रै भएन, यस टोल र छिमेकी टोलका मान्छे पनि अरूको शंकाको नजरमा परे ।

जोलहनपुर्वाका २६ जनामा क्रमश: संक्रमण पुष्टि भएपछि स्थानीयको अनुहारमा भयको गाढा रङ टाँसियो । के हुने हो, कसो हुने हो भन्ने डरले र कोभिड–१९ बारे फैलिएका अफवाहले स्थानीय औधि डराएका थिए । तर डरको यस्तो रङ जोलहनपुर्वामा बिस्तारै हराउँदै गएको छ । जेठ ९ गते २१ जना, २३ गते १ र २४ गते ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना त्रासले गतिविधि ठप्प बनेको जोलहनपुर्वामा अहिले पुरानै रौनक देखिन थालेको छ ।

शनिबार मध्याह्न जोलहनपुर्वा पुग्दा ससाना बाबुनानी टोल छेउछाउ खेलिरहेका थिए । केही पिङमा मच्चिरहेका थिए । पाका मान्छे पनि घरका पिँढीमा बसेर गफिइरहेका थिए । जोलहनपुर्वासँगै जोडिएको जसगढ टोलका केही मानिस भने घाँस बिक्री गर्ने तयारीमा जुटिरहेका थिए । घर बाहिर निस्केकाहरू पनि दूरी कायम गरेर आपसमा कुराकानी गरिरहेका थिए । जोलहनपुर्वा–जसगढ टोल भएर सर्वसाधारण बिनाहिचकिचाहट आउजाउ गरिरहेका थिए ।

एकपछि अर्कोमा संक्रमणको पुष्टि भएसँगै दुवै टोललाई सिलबन्दी गरिएको थियो । टोल छिर्ने नाकामा प्रहरी र सेनाको टोली खटिएको थियो । यी दुई टोलका बासिन्दालाई छिमेकी पनि प्रश्नवाचक दृष्टिले हेर्थे । यस्तो लाग्थ्यो, जोलहनपुर्वामा ठूलै केही घटना भइरहेको छ तर यस्तो दिन धेरै समय रहेन । संक्रमित सबै निको भएर टोल फर्किएपछि जोलहनपुर्वा पुरानै लयमा फर्किंदै छ । स्थानीयको अनुहारमा चमक बौरिँदै छ ।

कोरोना संक्रमणका सुरुवाती दिनमा जस्तो शंकाको डढेलो अहिले जोलहनपुर्वामा छैन । डर र अफवाहको हावा पनि टोलबाट बाहिरिइसकेको छ । बरु संक्रमण देखापरेपछिको घटनाक्रमले टोलवासीमा भौतिक दूरी कायम गरेर बस्ने, बाहिर हिँड्दा मास्क लगाउने र भीड जम्मा नगर्ने बानी विकास गराएको छ । पहिलेजस्तै हिजोआज अन्य टोलबाट पनि जोलहनपुर्वामा नातेदार भेट्न आउँछन् ।

कोरोना जितेर फर्किसकेका जोलहनपुर्वाकै फैयाद अली अन्सारीले संक्रमणको सुरुवाती दिनमा आफूहरूप्रति छिमेकीको नजर फेरिए पनि संक्रमणमुक्त भएपछि सबैसँग पुरानै सम्बन्ध भएको सुनाए । उनले भने, ‘सबकुछ ठीकठाक है । टोलपरोसी लोग मिल्ने आते हैं ।’ अन्सारीका श्रीमती र एक वर्षीय छोरा पनि संक्रमित भएका थिए । उनीहरू सबै घर फर्किसके । उनीहरूसँगै गाउँलेको पुरानो विश्वास र स्नेह पनि फर्कियो ।

भारतको बाबागन्जबाट फर्किएका पहिलो संक्रमित नेपालगन्जस्थित महेन्द्र बहुमुखीको क्वारेन्टाइनमा बस्न नसक्ने भन्दै घर फर्किएका थिए । त्यसपछि उनी मदरसा आउजाउ गर्थे र जसगढ टोल तथा जोलहनपुर्वाका घरघरमै गएर उर्दू भाषा पढाउँथे । उनी आउजाउ गरेका क्षेत्र र उर्दू भाषा पढाउने बालबालिका र घरका व्यक्तिहरूमा कोभिड–१९ संक्रमण देखिएपछि दुवै टोल अशान्त बनेका थिए । टोलवासी डरले घरमै बसे । अवस्था यस्तोसम्म भयो कि संक्रमित व्यक्तिहरूसँग मानिस बोल्नसमेत डराए । केही स्थानीय त संक्रमितको ट्ेरसिङले आफूहरूलाई पनि समस्यामा पारेको भन्दै रिसाए । संक्रमितहरूको पहिलो ट्ेरसिङमा पान पसल, टाँगा स्टेसनका किराना पसल सञ्चालक, आउजाउ गरेको त्रिभुवन चोक, जसगढ टोलका बासिन्दा परेपछि उनीहरू आक्रोशित बनेका थिए । उनीहरूको आक्रोश थियो, ‘कोरोना संक्रमितहरूले हामीलाई फसाए ।’

कोरोनाकै कारण टोलमा लागेको अविश्वास र शंकाको तुवाँलो त्यतिबेला हट्यो जब टोलका २६ जानै संक्रमित निको भएर घर फर्किए ।

७ वर्षीया छोरी र श्रीमतीसहित आइसोलेसन बसाइपछि कोभिड–१९ लाई जितेर घर फर्किएका जोलहनपुर्वाकै इस्राइल अन्सारीको खुसीको सीमा छैन । संक्रमित भएको खबर गाउँमा फैलिएका बखत उनीसँग मात्रै होइन, परिवारकै अन्य सदस्यसँग पनि छिमेकी बोल्न डराएका थिए । त्यतिबेला आफू विभेदमा परेको महसुस उनले गरेका थिए । तर अहिले उनी त्यो समय सम्झेर मन दु:खी पार्न चाहँदैनन् । संक्रमणमुक्त भएर फर्किएपछि सबै स्थानीयले उनलाई खुलेरै स्वागत गरे । अनि त उनको मनको चिन्ता सबै दूरदूर भयो । उनले आफ्नै भाषामा भने, ‘कोरोना रोग लगा है सुनकर अप्ने लोग हमारे घर आने छोडदिया । आजकल मुलाकात कर्ने आते हैं,’ ।

नेपालगन्ज ४ सल्यानी बंगलाकी नाजमा खातुन सल्मानी र इस्राइलकी श्रीमती साथी हुन् । संक्रमणमुक्त भएपछि साथीको परिवारलाई भेट्न नाजमा फलफूल लिएर गइन् र संक्रमण जितेर आएको भन्दै बधाई दिइन् । नाजमाले भनिन्, ‘साथीलाई कोरोना लागेको सुनेपछि निकै दु:ख लागेको थियो । उनले कोरोनाको लडाइँ जितेकी छन् । त्यसैले खुसी साटेकी हुँ ।’

कोभिड–१९ जितेर घर फर्किएकालाई जोलहनपुर्वाका बासिन्दाले ढोल, बाजा बजाएर भव्य स्वागत गरेका थिए । स्थानीय अगुवाले संक्रमित र परिवारलाई विभेद नगर्न सन्देश पनि दिए । टोलवासीको स्वागतले कोभिड–१९ को त्रासले मानसिक रूपमा गलेका उनीहरूलाई राहत मिलेको छ ।

जोलहनपुर्वाकै बासिन्दा तथा नेपालगन्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख सम्सुद्दिन सिद्दिकीले जोलहनपुर्वामा कोभिड–१९ को त्रास घटेको बताए । ‘कोरोनाबारे अनेक भ्रम छ । एक जनालाई कोरोना रोग देखिँदा पूरा परिवारप्रति दृष्टिकोण फरक पर्‍यो,’ उनले भने, ‘तर उनीहरू ठीक भएर आएपछि डर कम भएको छ । उनीहरूको घरमा आउजाउ पनि हुन थालेको छ ।’

यी दुवै टोल रहेको वडाका अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले संक्रमण देखिएका सुरुवाती दिनमा नगरभरि नै त्रास फैलिएको बताए । आफूलाई पनि डर लागेको उनले सुनाए । ‘हाम्रो टोलमै नजानू भनेर हल्ला फैलाइएको थियो,’ उनले भने, ‘अहिले टोल पुरानै अवस्थामा फर्किसकेको छ ।’

फेरियो दिनचर्या

शनिबार मध्याह्न भेट्दा जोलहनपुर्वाका जगदीश तमौली मास्क लगाएर टोलछेउमा निस्किएका थिए । कोरोना भाइरस हाच्छिउँ र खोकीबाट सर्ने भएकाले आफूले मास्क लगाएको उनले बताए । त्यसो त सुरुवाती चरणमै ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि जलहनपुर्वाका धेरैले आफ्नो बानी बदलेका छन् । संक्रमणबाट जोगिन मास्क लगाउन र समय समयमा मिचिमिची हात धुन र सरसफाइ अति आवश्यक छ भन्ने बुझेका छन् ।

हिजोआज तमौलीमात्रै होइन, जोलहनपुर्वाका सर्वसाधारण दूरी कायम गरेरमात्रै कुराकानी गर्छन् । अरूलाई पनि त्यसरी नै व्यवहार गर्न सुझाएका छन् । तमौलीले भने, ‘कोरोना ने बहुतकुछ सिखाया है । दिन मे तीन/चार बार साबुन से हाँत धोते हैं । मास्क भि लगाते हैं ।’

नेपालगन्ज उपमहानगरपालिकाकी पूर्वउपप्रमुख सिद्दिकीले यहाँका बासिन्दाले एकले अर्कालाई भेट्दा भौतिक दूरी कायम गर्ने बानी बसाउन थालेको बताए । संक्रमण फैलिन्छ कि भनेर मुस्लिम बाहुल्य रहेको टोलवासी अगुवाले टोलमै रहेको मदरसामा पढाइ बन्द गरेका छन् । सामूहिक रूपमा नमाज पढ्न स्थगित गरेका छन् । सिद्दिकीले भने, ‘कोरोनाको महामारीले स्थानीयमा धेरै चेतना ल्याएको छ ।’

ठाकुरसिंह

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully