‘हामीले छोएको पैसा चल्दैन’

नोटबाट कोरोना सर्छ भन्ने भयका कारण स्थानीयहरू क्वारेन्टाइनमा बस्नेसँग कुनै पनि किसिमको कारोबार गर्न मान्दैनन् । यसले पोसिलो खाना खुवाउन नपाउँदा सुत्केरीको बिजोग भएको छ भने अन्यका लागि पनि सकस थपिएको छ ।

जेष्ठ २७, २०७७

ज्योति कटुवाल, कलेन्द्र सेजुवाल

दैलेख — जेठ महिना बित्न लागे पनि गुराँसेको मौसम चिसै छ । टिनको छानो भएको विद्यालयमा सिमेन्टको भुइँमा पातलो ओछ्यान लगाइएको छ । ओछ्यान नजिकै आगो ताप्नका लागि चुलो बनाए पनि आगो बलेको छैन । भारतको गढवालबाट मजदुरी गरेर फर्किएका डुंगेश्वर गाउँपालिका–६ का लालबहादुर खत्री सुत्केरी श्रीमती र शिशुसहित यस्तै अवस्थाको क्वारेन्टाइनमा दिन काटिरहेका छन् ।

उनीसँग तत्कालका लागि आफूलाई चाहिनेजति रुपैयाँ छ । तर, मजदुरी गरेर बचत गरेको रकम दुई दिनकी सुत्केरी श्रीमतीका लागि खर्च गर्न सकेका छैनन् । बच्चा र आमालाई सेक्नका लागि तेलसमेत नपाइएको लालबहादुरले गुनासो गरे । ‘बाहिर गएर दाउरा ल्याउने अवस्था छैन, तेल पनि किन्न पाइएको छैन,’ उनले भने, ‘आमा–छोरालाई चिसोबाट जोगाउन पनि गाह्रो होलाजस्तो छ ।’

परिवार र सन्तानका लागि भनेर कमाएको रकम उनीहरूका लागि नै खर्च गर्न नपाएकोमा उनी चिन्तित छन् । ‘यसो हेर्दाखेरि गाउँमा भाले देखिन्छन्, किनेर खुवाउन त मन लाग्छ,’ गुराँसेस्थित गुराँस आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका उनले भने, ‘तर हामीले छोएको पैसा चल्दैन, कसरी किन्नु ?’

श्रीमती सुत्केरी हुन्थिनन् भने सायद खल्तीको नगदले उनलाई यति पीडा दिन्थेन होला । बरु बचत भएकोमा खुसी नै हुन्थे कि † ‘पैसा चाहिने भनेकै यस्तै बेला हो, अहिले खर्च नगरेर कहिले गर्ने ?,’ उनले भने, ‘मिठो–मसिनो र पोसिलो खुवाउनुपर्ने बेला पैसा भएर पनि खुवाउन नपाउँदा मन अमिलो हुँदोरहेछ ।’

४२ वर्षीय लालबहादुर गढवालमा एसएस नामक एक सेक्युरिटी कम्पनीमा काम गर्थे । श्रीमती गर्भवती भएपछि मंसिरमा उनले आफूसँगै लगेका थिए । तर, कोरोना प्रकोप बढ्दै गएपछि कार्यरत कम्पनीले छुट्टी दियो । त्यसपछि उनी २६ जनाको समूहमा मिसिएर वनबासा हुँदै बिहीबार नेपाल प्रवेश गरे । भारतबाट आइसकेपछि उनी श्रीमतीलाई घर (डुगेश्वर) मै सुत्केरी गराउन चाहन्थे । तर, गाडीले गुराँसेमा ल्याएर झारिदियो । ‘गाउँपालिकाले पनि गर्भवतीलाई गाह्रो हुन्छ भनेर यहीँको क्वारेन्टाइनमा बस्न भन्यो, त्यसपछि घर जाने कुरा भएन,’ उनले भने, ‘यहाँ आएकै दिन सुत्केरी भइन्, छोरा जन्मियो । तर क्वारेन्टाइनमा पाएको दु:खले खुसी हुन दिएको छैन ।’

३५ वर्षीया गंगाको यो चौथो सन्तान हो । गुराँस गाउँपालिकाले आफ्नो मापदण्डअनुुसार उनलाई खानाको व्यवस्था गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक निराजन विष्टले सुत्केरीका लागि मासु भने व्यवस्था नगरिएको बताए । उनका अनुसार आमा र शिशुको अवस्था सामान्य छ । ‘हामीले लामो समय क्वारेन्टाइनमा राख्नुभन्दा घरमै गएर ‘होम क्वारेन्टाइन’ मा बसाल्ने व्यवस्था मिलाउन सम्बन्धित गाउँपालिकालाई सुझाव दिएका छौं,’ उनले भने, ‘घरमा जान पाउनुभयो भने आमा र शिशु दुवैलाई राम्रो होला ।’ सुत्केरी र उनका श्रीमान्को आरडीटी परीक्षण गरेर घरतिर पठाउने तयारी भइरहेको उनले बताए ।

लालबहादुर पनि सक्दो छिटो सुत्केरी श्रीमतीलाई घरमा पुर्‍याउन चाहन्छन् । त्यहाँ गयो भने पैसा नचले पनि पोसिलो खानेकुराको अभाव नहुने उनको भनाइ छ । ‘गाउँका मान्छेले हाम्रो पैसा लिन नमाने पनि भाले त खान देलान् नि,’ उनले भने, ‘आफ्नो गाउँघरजस्तो बाहिर कहाँ हुन्छ ?’ भारतमा दुई पटक स्वाब र आरडीटी परीक्षण गराएर आएकाले आफूमा कोरोना संक्रमण नभएकामा उनी विश्वस्त छन् । तर, नेपालमा आइसकेपछि परीक्षण नभएकाले आफूहरूमाथि शंका गर्ने गरिएको उनको भनाइ छ ।

नाम ‘कोभिड’

गुराँसेका स्वास्थ्यकर्मी र कर्मचारीले गंगा क्वारेन्टाइनमै सुत्केरी हुने निश्चित भएपछि शिशुको नाम के राख्ने भन्ने सल्लाह गरेका थिए । इन्जिनियर सरोज दाहालका अनुसार छोरा जन्मिए ‘कोभिड’ र छोरी जन्मिए ‘कोरोना’ नाम राख्ने सल्लाह भएको थियो । ‘आफ्नो सन्तानको नाम राख्ने अधिकार त उहाँहरूमै छ, भोलि जे नाम पनि राख्न सक्नुहुन्छ,’ उनले भने, ‘तर हामीले अहिलेको अवस्थालाई स्मरणीय बनाउन यस्तो नाम राखिदिएका छौं ।’

नगद नचल्दाको सकस

भारतबाट आएकाहरूको पैसा नचल्दा सुत्केरीमात्र होइन, अन्यलाई पनि निकै सकस हुने गरेको छ । दैलेखका अधिकांश क्वारेन्टाइनका वरिपरि पसलहरू छन् । त्यहाँका पसलेहरूले नोटबाट कोरोना सर्ने डरले व्यापार गर्न मान्दैनन् ।

क्वारेन्टाइनमा मापदण्डअनुसार दिनमा दुईपटक खाना र दुईपटक खाजा दिइन्छ । तर, त्यत्तिले उनीहरूको भोक मेटिँदैन । त्यसमाथि अम्मलीहरूलाई सुर्ती, चुरोट, गुट्खादेखि रिचार्ज कार्ड आवश्यक परिरहन्छ । ‘हामीले डबल पैसा दिन्छौं भन्दा पनि सामान दिन मान्दैनन्,’ सरस्वती माविको क्वारेन्टाइनमा रहेका एक संक्रमितले भने, ‘नोटबाट कोरोना सर्छ कि सर्दैन भन्ने त थाहा छैन, तर यस्तो ‘अछूत’ व्यवहार हुँदा दु:ख लाग्दोरहेछ ।’ पसलबाट किन्न नपाइने भएपछि कतिपयले घरका मान्छेमार्फत सामान किन्ने गरे पनि टाढा घर हुनेहरू समस्यामा पर्ने गरेका उनले बताए ।

समुदायबाट यस्तो व्यवहार संक्रमण पुष्टि नभएकाहरूले पनि व्यहोरिइरहेका छन् । केही दिनअघि नारायण क्याम्पसको क्वारेन्टाइनमा पानी पुर्‍याउन गएकी लायन्स क्लबकी क्षेत्रीय प्रमुख बासना थापाले भारतबाट आएकाहरूको नगद नचल्दाको सकसपूर्ण अवस्था देखेकी थिइन् । ‘मैले पानीको बोतल दिँदा कतिपयले पानी चाहिँदैन, बरु सुर्ती र गुट्खा दिनुहोस् भनेर अनुनय गरे,’ उनले भनिन्, ‘त्यो चिजको सेवन त राम्रो होइन, तर अम्मलीलाई खान नपाउँदा कस्तो भयो होला भनेर मेरो मनमै सकस भयो ।’

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का नोटबाट कोरोना सर्ने सम्भावना भए पनि सावधानी अपनाएर चलाउन सकिने बताउँछन् । ‘पैसासँग डराएर कारोबार नै बन्द गर्नु त भएन, एक–दुई घण्टासम्म नोट घाममा सुकायो भने भाइरस निर्मूलीकरण हुन सक्छ,’ उनले भने, ‘त्यसैले पैसासँग धेरै डराउन आवश्यक पनि छैन ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

कलेन्द्र

Link copied successfully