लक्षण नभएका संक्रमित घरकै आइसोलेसनमा बस्न पाउने

घरमा छुट्टै सावधानीसाथ बस्न गाह्रो हुनेहरुका लागि सरकारले तोकेको अस्पताल वा आइसोलेसन सेन्टरमा बस्न सक्ने व्यवस्था

जेष्ठ २५, २०७७

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को लक्षण नदेखिएका वा मधुरो लक्षण भएका संक्रमितहरुले विशेष सावधानी अपनाउँदै घरमै बस्न पाउने भएका छन् । सरकारले कोरोनाका बिरामीको आइसोलेसन व्यवस्थापनसम्बन्धी जारी गरेको निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो ।

तर घरमा छुट्टै सावधानीसाथ बस्न गाह्रो हुनेहरुका लागि सरकारले तोकेको अस्पताल वा आइसोलेसन सेन्टरमा बस्न सक्ने निर्देशिकामा उल्लेख छ । ‘अब हाम्रो रणनीति लक्षण नभएका वा मधुरो भएका कोरोना संक्रमितलाई घर पठाउने र लक्षण भएकाहरुलाई उपचारका लागि अस्पतालमा राख्ने हो,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने । संक्रमितको संख्या बढेकाले यस्तो नीति लिइएको उनले बताए । संक्रमण भई घरमा ँस्दा भने अन्य व्यक्तिसँग हिमचिम नहुने गरी स्वास्थ्यकर्मीले भनेअनुसार बस्नुपर्ने उनको भनाइ छ । यो प्रावधानअनुसार शंकास्पद कोभिड बिरामीको पीसीआर परीक्षण नतिजा पोजिटिभ आए चिकित्सकसँग नियमित सम्पर्कमा रहनुपर्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार मुलुकमा करिब ८० प्रतिशतभन्दा बढी कोरोना संक्रमितलाई कुनै लक्षण देखिएको छैन । ‘अधिकांश संक्रमितमा अस्पतालमा खासै उपचार गराउने आवश्यकता नपर्ने मधुरो लक्षण देखिएको छ,’ उनले भने । लक्षण नभएका (एसिम्प्टोम्याटिक) र मधुरो लक्षण देखिएका (माइल्ड), मडरेट (मध्यम), सिभियर (गम्भीर), क्रिटिकल (गम्भीर तथा खतरनाक) लक्षण छ/छैनबारे स्वास्थ्यकर्मीले यकिन गर्नेछन् । लक्षण नभएका एवं मधुरो लक्षण भएका संक्रमितको उपचार गर्न आवश्यक परेमा सबै अस्पतालले छुट्टै आइसोलेसन वार्ड बनाउनुपर्नेसमेत निर्देशिकामा भनिएको छ । यस्तो आइसोलेसन वार्डमा सुरक्षाकर्मीसहित प्रवेश र बाहिर निस्किने द्वार हुनुपर्छ ।

घरमा छुट्टै कोठामा आइसोलेसनमा राखेर संक्रमितको व्यवस्थापन गर्दा भने केही खास मापदण्ड तोकिएको छ । यसअन्तर्गत संक्रमित बस्ने कोठामा हावा राम्ररी ओहोरदोहोर हुनुका साथै प्रकाश आउने व्यवस्था मिलाउनुपर्छ । संक्रमितको स्याहार गर्ने वा प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र बिरामी दुवै जनाले अनिवार्य रूपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्छ । खानपानमा समेत विशेष ध्यान दिनुपर्छ । पर्याप्त मात्रामा पानी सेवनसँगै स्वस्थकर, झोलिलो र पोषिलो खाना खान दिनुपर्छ । संक्रमितले प्रयोग गरेका भाँडा सफा गर्नुको साथै राम्रोसँग सुकेपछि मात्र पुन: प्रयोग गर्नुपर्छ ।

‘संक्रमितले उपयोग गर्ने स्नानघर शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्छ,’ डा. पाण्डेले भने, ‘यदि एउटै शौचालय छ भने सामूहिक रूपमा प्रयोग गर्दा प्रत्येक पटक उपयोग गरेपछि संक्रमणमुक्त गर्ने रसायन (डिस्इन्फेक्टेन्ट) ले सफाइ गरेपछि मात्र स्वस्थ व्यक्तिले प्रयोग गर्नुपर्छ ।’ उनका अनुसार हाल मुलुकमा भएका विभिन्न क्वारेन्टाइनमा शौचालय सुविधा अभाव र दूरी कायम गर्न नसक्ने अवस्थाले हुने जोखिम कम गर्न घरमै सुविधा भएकाहरुका छुट्टै कोठामा बस्ने व्यवस्था गरिएको हो ।

संक्रमितको घरमा दीर्घरोगी, ६० वर्षमाथिका गर्भवती, सुत्केरीलगायत छन् भने उनीहरुलाई संक्रमितको सम्पर्कवाट टाढा राख्न निर्देशिकामा उल्लेख छ । ज्वरो कम्तीमा ३ पटक जाँचेर यसको विवरण राख्दै सम्बन्धित स्वास्थ्यकर्मीलाई दिनहुँ जानकारी गराउनसमेत निर्देशिका भनिएको छ । घरमै रहँदाको अवस्थामा श्वासप्रश्वासमा समस्या, छाती दुखे, भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिए, होस हराए वा अन्य कुनै जटिल अवस्था देखिएमा तुरुन्त सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्छ ।

डा.पाण्डेका अनुसार संक्रमितहरु होम आइसोलेसनमा बसेको १४ दिनमा चिकित्सक वा स्वास्थ्यकर्मीले कोरोना नभएको प्रमाणीकरण गरेपछि निको भएको मानिनेछ ।

सामान्य लक्षण भएको संक्रमित न्यूनतम १४ दिनपछि पूर्ण निको भएर आइसोलेसनबाट निस्कन सक्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार होटलमा आइसोलेसन बस्नका लागि समेत यही विधि र मापदण्ड पालना गर्नुपर्छ ।

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully