अस्पतालबाट डिस्चार्ज भएकै दिन कोरोना संक्रमण पुष्टि

जेष्ठ २५, २०७७

कान्तिपुर संवाददाता

भक्तपुर — शनिबार ३१ वर्षीया सुत्केरी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । दोलखा घर भई भक्तपुर नगरपालिका–९ कमलविनायक चोफल बस्ने ती महिलाको बुधबार मध्यपुर अस्पताल नयाँथिमिमा अप्रेसन गरेर सुत्केरी गराइएको थियो ।

शनिबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट साँझ सार्वजनिक भएको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

चाँगुनारायण नगरको एक सामुदायिक विद्यालयकी शिक्षिकासमेत रहेकी ती महिला लकडाउनकै चरणमा गृहजिल्ला दोलखा पुगेकी थिइन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा जेठ १८ मा एम्बुलेन्समार्फत भक्तपुर आएको र १९ गते केएमसी अस्पताल सिनामंगलमा नियमित स्वास्थ्य परीक्षणको लागि पुगेकी थिइन् । केएमसी अस्पतालमै कोरोनाको पीसीआर परिक्षणको लागि ‘नोजल स्वाब’ को नमुना संकलन गरेको जनाएको छ । केएसी अस्पतालमा कार्यरत चिकित्सकलगायतमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द भयो । 

केएमसी अस्पताल बन्द भएकाले शनिबार कोरोना संक्रमण पुष्टि भएकी महिलालाई सुत्केरी गराउन जेठ २१ मा मध्यपुर अस्पतालमा भर्ना गरेको र सोही दिन अप्रेसन गरेर सुत्केरी गराइएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएकै दिन शनिबार कोरोना संक्रमण पुष्टि भएकी सुत्केरी महिला कोटेश्वरस्थित आफन्तको कोठामा बसेको नगरप्रमुख श्रेष्ठले बताए । उनको अवस्था सामान्य छ ।

मध्यपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा.रेबिना प्रधानाङ्गका अनुसार अस्पतालबाट डिस्चार्ज भएकी सुत्केरी महिलामा कोरोना पोजिटिभ भएपछि अस्पतालका ६ जना चिकित्सक, १२ नर्सिङ स्टाफ, ११ हेल्पर र एक जना ल्याब स्टाफलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालको प्रसूति कक्ष र फार्मेसीमा सिल गरेको जनाएको छ । अस्पतालले कोरोना संक्रमण न्यूनीकरणका लागि नियमित निर्मलीकरण गर्ने गरेकोले ओपीडी सेवा, इमर्जेन्सी सेवा तथा आईसीयू सेवा सुचारु गरेको उनले बताइन् ।

कोरोना संक्रमण पुष्टि भएकी महिला बस्ने कमलविनायक चोफलमा भने महानगरीय प्रहरी वृत्त जगातीले सिल गरेको छ ।

कान्तिपुर

Link copied successfully