मास्क, पीपीई र पन्जाको गुणस्तर मापदण्ड बनाइँदै

पहिलो चरणमा मास्क, पीपीई र पन्जा गरी तीन उत्पादनको गुणस्तर निर्धारण गरिने
गुणस्तरअनुसारको उत्पादन गर्ने उद्योगलाई एनएस चिह्न
नुमा थाम्सुहाङ

काठमाडौँ — नेपाल गुणस्तर तथा नापतौल विभागले मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को गुणस्तर मापदण्ड निर्धारण गर्ने भएको छ । यसका लागि विभागले आइतबार गुणस्तर परिषद्मा मास्क र पीपीईको गुणस्तर मापदण्ड प्रस्तुत गर्दै छ । परिषद्बाट स्वीकृत भएपछि गुणस्तर निर्धारण हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

मास्क, पीपीई र पन्जाको गुणस्तर मापदण्ड बनाइँदै

‘हामीले यसका अन्तिम शीर्षकहरू पनि तयार गरिसकेका छौं । आइतबार परिषद्मा राख्छौं,’ पुडासैनीले भने, ‘त्यहाँबाट स्वीकृत भयो भने मास्क, पीपीई, पन्जालगायतसँग सम्बद्ध २५ वटा स्ट्यान्डर्ड फाइनल गर्छाैं ।’ विभागले पहिलो चरणका लागि मास्क र पीपीई दुई किसिमका र ५–६ प्रकारका पन्जाको गुणस्तर निर्धारण गर्ने महानिर्देशक पुडासैनीले बताए । ‘अहिले मास्क, पीपीई र पन्जा गरी तीन उत्पादनको मापदण्ड निर्धारण गर्न लागेका हौं,’ उनले भने, ‘तिनीहरूको परीक्षण पद्धति भिन्न प्रकारका र भिन्न आवश्यकताका छन् । यो चरणमा यहीसँग सम्बन्धित मात्र हुन् ।’

कोभिड–१९ संक्रमणको प्रकोप बढेसँगै मास्क, पीपीई, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीको गुणस्तरबारे सवाल उठेका छन् । सेनिटाइजरको गुणस्तर भने औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्पादन गर्नुपर्ने व्यवस्था गरिसकेको छ । मास्क, पीपीई र पन्जाको गुणस्तर भने नापतौल विभागले निर्धारण गर्ने तयारी गरेको छ ।

स्वदेशी उद्योगहरूले गुणस्तरअनुसारका मास्क, पीपीई र पन्जा उत्पादन गरे विभागले ‘नेपाल गुणस्तर प्रमाण चिह्न’ प्राप्त गर्नेछ । यसका लागि गुणस्तर स्वीकृतिपछि तयारी गर्ने विभागले जानकारी दिएको छ । मास्क उत्पादन गर्ने उद्योगहरूका लागि राम्रो कदम भएको उद्योगी सरोज खड्का बताउँछन् । मास्कको मेटेरियल्स भिन्न किसिमको ननओभन खालको भएकाले गुणस्तर मापदण्ड निर्धारण हुनुपर्ने उनले बताए ।

‘अहिले भारतले मास्कको कच्चा पदार्थ यहाँ नै पुग्दैन भनेर आयात रोकेको छ । चीनबाट ल्याउँदा मूल्य महँगो पर्छ,’ उनले भने, ‘हामीले यही गुणस्तरमा नेपालमा त्यो सामान पाउँछौं भने मास्कको मेटेरियल्स र मूल्य घट्छ ।’

प्रकाशित : जेष्ठ २५, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?