२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तरकारी बिक्री नभएपछि चौपायालाई आहारा र मल

लकडाउन अवधिमा १ अर्ब २८ करोड रुपैयाँका तरकारी र फलफूल आयात

रूपन्देही,कपिलवस्तु — बिक्रीका लागि बजार अभाव र उचित मूल्य नपाएपछि रूपन्देहीका तरकारी उत्पादकले चौपायालाई खुवाउन र खेतमै जोत्न थालेका छन् । मौसमअनुसारका तरकारी भएकाले अहिलेसम्म बिक्री भइसक्नुपर्थ्यो । टिपेर थन्क्याउन नमिल्ने र बारीमा राख्दा कुहिने समस्या छ ।

तरकारी बिक्री नभएपछि चौपायालाई आहारा र मल

खेतमै लामो समय राख्दा धान खेतीमा ढिलाइ हुने भएकाले जोत्न थालेको गैडहवा गाउँपालिकाका सन्दीप गुप्ताले बताए । ‘३५ कट्ठामा तरकारी लगाएको छु,’ उनले भने,

‘अहिले बिक्री नभएपछि बेकार खेती गरे जस्तो लागेको छ ।’ वर्षा सुरु भएकाले बचेको तरकारी कुहिने उनले जानकारी दिए । प्रत्येक दिन बिहान साइकल र मोटरसाइकलमा तरकारी ल्याएर बिक्री गर्न बुटवलसम्म आउँछन् । सधैं यसरी ओसार्न झन्झटिलो भएको उनले बताए । ‘प्रदेश सरकारले कृषि एम्बुलेन्स चलाएको प्रचार गरेको थियो,’ उनले भने,

‘धेरै पटक आग्रह गर्दा पनि एम्बुलेन्स सुविधा पाइएन ।’ बारीमा रहेको बन्दागोभी जोतेर मल बनाएको, करेला र लौका चौपायालाई खुवाउने गरेको उनले बताए ।

उक्त गाउँपालिकामा ३२ टोल छन् । त्यसमध्ये ३० टोलका बासिन्दाले ४० हेक्टर जमिनमा तरकारी खेती गरेका छन् । ‘सबै किसानको अवस्था दयनीय बन्दै गएको छ,’ उनले भने । सिँचाइ सुविधा नभएकाले ट्यांकरमा पानी ओसारेर खेती गरेको उनले बताए । बजारमा भिन्डी प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको छ । किसानले प्रतिकिलो पाँच रुपैयाँमा बेचिरहेका छन् । किसानसित खरिद गर्नेले सस्तोमा पाइरहेका छन् । बिचौलियाले खरिद गरी ल्याएको तरकारी महँगो हुन्छ । ‘पहिले लौका प्रतिकिलो ३५ रुपैयाँमा बिक्थ्यो,’ किसान गुप्ताले भने, ‘अहिले १० रुपैयाँ पर्दैन ।’ करेला प्रतिकिलो १५ रुपैयाँ छ । पाल्पा र दाङबाट टमाटर आपूर्ति हुने भए पनि बजारमा भारतीय उत्पादन बिकिरहेको उनले बताए ।

कतैबाट राहत नभए पनि जेठ २ मा शुद्धोधन गाउँपालिकाका किसानले तीन लाख मूल्य बराबरको तरकारी नष्ट गरे । उत्पादन बजार र गाउँमा बिक्री गर्न नपाएपछि सडकमा फालेर आक्रोश पोखेका थिए । शुद्धोधन–१, बेलवा गाउँ तरकारी पकेट क्षेत्र हो । त्यहाँ उत्पादित तरकारी बुटवल ल्याएर बेच्न नपाउँदा मिहिनेत खेर गएको स्थानीय किसान गणेश पासीको भनाइ छ । ‘२० क्विन्टल तरकारी सडकमा फ्याँकेर विरोध गर्दासमेत कसैले पीडा देखेनन्,’ उनले भने, ‘लकडाउनले किसान र गरिब मार्‍यो ।’ स्थानीय तहले अन्य गाउँ/नगरपालिकासँग समन्वय गरी तरकारी बजारसम्म लैजाने व्यवस्था मिलाउनुको साटो संक्रमण फैलिने भन्दै तरकारी ओसार्न अवरोध पुर्‍याएको उनले बताए ।

तिलोत्तमाले नगर क्षेत्रबाहिरबाट तरकारी ल्याउन नपाउने नियम लागू गरेको छ । स्थानीय उत्पादन मात्र बेच्न पाउने नियम बनाएको छ । नगरपालिकाले तरकारी व्यवस्थापनका लागि रामलीला तरकारी उत्पादक कृषक समूह नामको संकलन केन्द्र बनाएको छ । त्यसैमार्फत बिक्री भइरहेको छ । तिलोत्तमा–१४ मा स्थापना गरिएको संकलन केन्द्रका संयोजक कृष्णप्रसाद पन्थीले नगरपालिकाको यस्तो निर्णयले किसानलाई थोरै भए पनि राहत मिलेको बताए । ‘१४ नम्बर वडा स्मार्ट कृषि गाउँ पनि हो,’ उनले भने, ‘नगरका लागि पर्याप्त छ ।’ तर नगरबाहिर लगेर बिक्री गर्न नपाउँदा तरकारी खेर जाने समस्या पनि रहेको उनको भनाइ छ । ठूला बजार रहेका सैनामैना र देवदह नगरपालिकाका किसानले स्थानीय बजारमा बिक्री गरे पनि लगानी नउठेर घाटा बेहोरिरहेको बताएका छन् ।

बारीमै कुहिन थाल्यो

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, झलवाका कृषक मेघनाथ केवटको १० क्विन्टलभन्दा बढी काँक्रो बारीमै कुहियो । ‘अझै १० क्विन्टल तयार हुँदै छ,’ उनले भने, ‘यस वर्ष किसानलाई शुभ रहेनछ ।’ उनले ६ बिघामा तरकारी लगाएका थिए । ‘छिटफुट बेचें,’ उनले भने, ‘खर्च पनि उठेन । सबै बारीमा पहेंलिएका छन् । बारीतिर हेर्न पनि मन लग्दैन ।’ पछिल्लो समय उनी बारीमा जानै छाडेका छन् । उनको जस्तै झलवाका शुक्रराज केवटको बारीमा करेला कुहिएको छ । ‘यसो दुई क्विन्टल के बेचेको थिएँ,’ उनले भने, ‘त्यसपछि बारीमा जानै परेन । बजार छैन् । कहाँ बेच्ने ? खेतमा कुहिन्छ । मन पोलेको छ । केही गर्न सक्ने अवस्था छैन ।’

जिल्लामा कोरोना भाइरस संक्रमण उच्च छ । यसको मारमा किसान परेका छन् । तरकारी बेच्न नपाएपछि खेतबारीमै कुहिएको छ । अहिले हिँडडुल गर्ने अवस्था छैन । गाडी चल्दैनन् । साइकल र टाउकोमा धेरै बोक्न सकिन्न । ‘बिहान २ घण्टा बजार डुल्छु,’ स्थानीय बालजी केवटले भने, ‘कसैले किन्दैनन् ।’ तरकारी अहिले सस्तो छ । धेरै फलेको छ । बजार छैन । जुनसुकै तरकारी १० देखि २० रुपैयाँ प्रतिकिलोमा फालाफाल छ । बुद्धभूमि नगरपालिका–१० देवपुरा, झलवा, मोतीनगर, लौहरौला र शिवपुरलगायत तरकारी पकेट क्षेत्र हुन् । त्यहाँबाट अर्घाखाँची, पोखरा, बुटवल, पाल्पा र नेपालगन्जसम्म पुग्छ । तरकारी बेचेर वार्षिक १० देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान यहाँ धेरै छन् । संक्रमण बढ्दै गएपछि सबैभन्दा बढी मारमा किसान परेका हुन् । तर उनीहरूलाई राहतको कुरा गरेका छैनन् । यहाँ बोडी, करेला, लौका, झिन्डी, भान्टा र काँक्रो प्रशस्त फलेका छन् । खुर्सानी, फर्सी, कटहर र साग प्रशस्त छ । अर्को सिजन तरकारी खेती नगर्ने सत्यभामा केवटले बताइन् । ‘लगानी उठ्दैन,’ उनले भनिन्, ‘त्यसैले जाँगर चल्नै छोड्यो ।’

१ अर्ब २८ करोडको आयात

लकडाउनयता जेठ १९ सम्म भैरहवा–सुनौली नाका हँुदै भारतबाट १ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यका तरकारी र फलफूल आयात भएको छ । भैरहवा भन्सारका अनुसार चैत ११ गतेदेखि गत सोमबारसम्म ४९ हजार ८ सय ५९ मेट्रिक टन फलफूल तथा तरकारी भित्रिएको हो । त्यसबाट १३ करोड २४ लाख रुपैयाँ राजस्व प्राप्त भएको भन्सार अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए ।

उक्त अवधिमा प्याज ४३ करोड ४८ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको १२ हजार १२ मेट्रिक टन र आलु २५ करोड २३ लाख ८१ हजार मूल्यको १० हजार १ सय २७ मेट्रिक टन नेपाल आयात भएको छ । काँचो केरा २२ करोड ३४ लाख २७ हजार रुपैयाँ मूल्यको ७ हजार ५ सय ३४ मेट्रिक टन आएको छ ।

लकडाउन अवधिमा हरियो तरकारी र सागसब्जी ४५ लाख ३७ हजार रुपैयाँ मूल्यको ४ सय ३४ मेट्रिक टन र २ करोड ४३ लाख ३७ हजार रुपैयाँ मूल्यको २ हजार ३ सय २६ मेट्रिक टन गोलभेंडा आयात भएको छ । ३ करोड ७३ लाख ७३ हजार रुपैयाँ मूल्यको ४ सय ९४ मेट्रिक टन चना आयात भएको छ । १ करोड ४९ लाख रुपैयाँ मूल्यको आँप, ८ करोड ७५ लाख १३ हजार रुपैयाँ मूल्यको कागती, ५ करोड ३२ लाख १९ हजार मूल्यको मेवा, ७ करोड २० लाख १९ हजार मूल्यको तरबुजा र खरबुजा, १ करोड ४२ लाख ७६ हजार मूल्यको अनार, कटहर र ४७ लाख ३१ हजार रुपैयाँ मूल्यको स्याउ आयात भएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?