यात्रु चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न निर्देशन  

सुरज कुँवर

काठमाडौँ — विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ ।  

प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएका हुन् ।


सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ । तर, सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो ।

उच्च स्रोतका अनुसार, मन्त्रालयले शनिबारै प्राधिकरणलाई तत्काल कडाई गर्न भनेपछि प्राधिकरणले साँझ सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सूचना पठाएको छ । प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको जनाउँदै टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरेको हो । ‘मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत् चार्टर उडानका लागि अनुमति माग भएमा मात्रै हुनेछ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर, एजेन्ट र एयरलायन्सले यो मौकामा मनपरी भाडा असुल्दै चार्टर गर्न रोक लगाइएको छ ।’

चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्

शनिबारसम्म ३२ जना प्रहरीमा कोरोना संक्रमण

प्रदेश २ मा मात्रै २२ जना, १४ जना संक्रमित निको भए
कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । 

शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो । प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आफ्नो क्षेत्रमा खटिएका प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका छन् । सिंहका अनुसार २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।

‘प्रदेश २ मा क्‍वारेन्टाइन सुरक्षा, प्रदेश सभाका मर्यादापालक र नागरिकसँग दैनिक जोडिने सेवा प्रवाहमा खटिएका प्रहरीमा संक्रमण देखिएको छ,’ सिंहले भने, ‘आफ्नै सहकर्मीमा संक्रमण देखिएपनि कतिपय सुरक्षाकर्मीमा भय र त्रासको वातावरण त सिर्जना भएको छ, तरपनि जोखिमकाबीच सावधानी अपनाएर खटिदै आएका छौं ।’

यसअघि नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका करिव १ दर्जन अधिकृत तथा जवानमा पनि संक्रमण देखिएकोमा उनीहरु उपचारपछि निको भएर होम क्वारेन्टाइनमा छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ २०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×