कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'भुइँका जहाजले फेरि आकाश छुनेछन्' 

काठमाडौँ — कारोना भाइरसको महामारीपछि विश्वभर पहिलो असर हजारौं वायुसेवा कम्पनीहरुमा पर्‍यो । यसले विश्वका सयौं ठूला, उत्कृष्ट, बलिया, पुराना सबैखाले वायुसेवा कम्पनीलाई धक्का पुर्‍यायो । सयौं विमान अहिले पनि स्वदेशमा पार्किङ गर्ने स्थान नहुँदा अपरेटरले मरुभूमिमा बनाइएका भाडाका पार्किङस्थलमा जहाज छाडेर आएका छन् । 

'भुइँका जहाजले फेरि आकाश छुनेछन्' 

नेपालमा पनि लकडाउन घोषणा हुने बित्तिकै आन्तरिक वायुसेवा कम्पनीले चैत ११ को बिहानदेखि आफ्ना उडिरहेका दर्जनौं वायुयानलाई भुइँमा झारे । अर्बौ रुपैयाँ आम्दानी गर्ने सिजनकै मुखमा नेपालमा दर्ता भएका ९० बढी साना जहाज, हेलिकप्टर र अन्तर्राष्ट्रिय उडान भर्ने जेट विमान काठमाडौंको साँघुरो विमानस्थलको पार्किङ हबमा ग्राउन्डेड गर्नुपर्‍यो । नाकाबन्दीमा पनि एयरलिफ्ट गरेर ल्याइएको इन्धनबाट हवाइ सेवा रोकिएन । तर, माहामारीकै कारण लकडाउनमा नेपाली आकाशमा सन्नाटा छायो ।

सय वर्ष पुरानो उड्डयन उद्योगका लागि यो महामारी निकै दुखदायी र पहिलो अनुभव हो । अहिलेसम्म विभिन्न एयरलायन्सले संसारभर लाखौं पाइलट, एयरहोस्टेस, प्राविधिकलगायतका कर्मचारीलाई ‘फायर’ गरि नै रहेका समाचार आइरहेका छन् ।

हाम्रो ध्वजाबहाकसँगै स्थापना भएको थाई एयर, अष्ट्रेलियाको भर्जिन, साउथ अफ्रिकन एयरलायन्स, युरोविङ्सलगायतले आफ्ना सरकारसमक्ष आर्थिक रुपमा टाट पल्टेको घोषणा गरेका छन् । लुफ्थान्सा, ब्रिटीस एयरवेज लगायतका थुप्रै कम्पनीले सयौं विमानलाई ग्राउन्डेड गरेका छन् । त्यस्तै जेट विमान निर्माता कम्पनीहरु बोइङ र एयरबससँग खरिद सम्झौता गरिएका सयौं विमानका अर्डर रद्द भइरहेका छन् ।

कर्मचारीलाई घर पठाउने, बिदामा राख्ने, आंशिक तलब दिने उपायबाहेक कतिपयले अवकास पठाउने उमेर नै संसोधन गर्दै सयौं कर्मचारीलाई केही वर्षअघि नै विदा गरिरहेका छन् ।

यी त भए नेपाल बाहिरका स्थापित एयरलायन्सले कोराना भाइरसको महामारीपछि खर्च कटौती गर्न तथा थप घाटा नब्यहोर्न अपनाएका जुक्तिहरु ।

हिमाल, पहाड र तराईलाई केही मिनेटको हवाई यात्राबाट जोड्ने नेपाली हवाई उद्योगको अवस्था के भइरहेको होला ? धेरैको चासो हाम्रो सानो विमान क्षेत्रतिर पनि तेर्सिएको छ । आन्तरिक उडानमा ६० प्रतिशत हाराहारी बजार पकड भएको बुद्ध एयरले के गरिरहेको छ भनेर अझ धेरै चासो हुन सक्ला । आन्तरिक उडानमा १७ अर्ब हाराहारीको कूल कारोबार रहेको नेपाली बजारमा बुद्ध एयरले मात्रै गत वर्ष ७ अर्बको कारोबार गरेको थियो । २३ वर्षको इतिहासमा हामीले हालसम्म १ करोड २० लाख यात्रुलाई सेवा दिइसकेका छौ भने १७ वर्षयता कम्पनी नाफामा छ । गत वर्ष हामीले १५ लाख बढी यात्रुलाई सेवा दियौं ।

नेपालमा चैतबाट सुरु भएको लकडाउनले दुई महिना पार गरिसकेको छ । । हामीले यो संकट असोज महिनासम्मै रहने प्रक्षेपण गरेका छौं । यो अवधिमा हाम्रा १३ वटा जहाज भूईंमा बसेका छन् । जहाज उड्दा दैनिक १ करोड ९० लाख रुपैयाँसम्म पुग्ने आम्दानी अहिले करीब करीब शून्य छ ।

तर, विपतको यो समयदेखि हामी डराएका छैनौं । अहिलेको खर्च भनेको तलब भार हो । अर्थात् घरमा बसिरहेका कर्मचारीलाई दिनुपर्ने मासिक भुक्तानी । जहाज बीमामा खासै ठूलो आर्थिक दायित्व अहिले छैन । सबै जहाज संचालन भएका बेला करीब १० करोड रुपैयाँ पुग्ने मासिक तलब खर्च अहिले सालाखाला ५ करोड हाराहारीमा झरेको छ । यसमा हामी डराएका छैनौं । किनकी हाम्रा ११ सय कर्मचारीलाई असोजसम्म तलब दिन कम्पनी सक्षम छ । कम्पनी यो स्थितिबाट डगमगाएको छैन । बुद्ध एयर भोलीका दिनमा फेरि पखेटा फिजाउँदै उड्न सक्षम छ । नियमसम्मत कम्पनी संचालन गर्नु, ठूलो ऋण नहुनु, समयमै ऋण भुक्तानी गर्नु, दोहोरो ब्यालेन्स–सीट वा दोहोरो लेखा जोखा प्रणाली नअपनाउनु, अर्बौं रुपैयाँ बराबरको तरल संचालन पूँजी हुनु हाम्रो सबल पक्ष हो । नयाँ उद्यममा आएका वा भविष्यमा आउन चाहने युवापुस्तालाई सफलताका लागि मेरो एउटै मन्त्र सुनाउँछु । त्यो हो, ‘बाई–द–बुक्स’ कम्पनी संचालन गर्ने । अर्थात कडाईका साथ कम्पनी चलाएमा कुनै गन्दा खेल खेल्नै पर्दैन ।

हामीले कम्पनी किन र कसका लागि चलाएका छौं ? यो अर्को महत्वपूर्ण सवाल हो । हामीले कम्पनी पैसाको आकार बढाउनमात्रै चलाएका छैनौं । हामीसँग भएका कर्मचारीका लागि पनि कम्पनी सञ्चालन गरिरहेका छौं । हाम्रोमा काम गरिरहेका ९० प्रतिशत कर्मचारी बर्षौंदेखि हामीसँगै छन् । अर्थात हाम्रोमा ड्रप–आउट दर १० प्रतिशत हाराहारी होला । ती नवप्रवेशी युवा हुन् । आउँछन्, केही सिक्छन् र भविष्यको यात्राका लागि नेपाल बाहिर जान्छन् । अधिकांश कर्मचारीले आफ्नै कम्पनी ठानेर किन कम्पनीलाई माया गरिरहेका छन् भने – हामी उनीहरुका सपना पनि साथसाथै पूरा गर्छौं । कम्पनीलाई मात्र नभई कर्मचारीलाई पनि समृद्ध बनाउने कुरा हाम्रो प्राथमिकतामा पर्छ । हामी कर्मचारीलाई समान व्यवहार गर्छौं । त्यसैले म बुद्ध एयर कर्मचारीले संचालन गरेको कम्पनी हो भन्ने गर्छु । अहिलेको संकटमा हामीले कर्मचारीको चुल्हो निभ्न दिनुहुँदैन । दिदैनौं पनि । र, एक जनालाई निकाला पनि गर्दनौं ।

२३ वर्षको व्यवसायीक यात्रामा दुई दर्जन पर्यटनमन्त्री फेरिए । दुईचार वटालाई मात्रैलाई भेटे हुँला । मन्त्री आउँछन्, जान्छन् । मैले प्रधानमन्त्रीलाई पनि भेटेको छैन । नाजायज माग राखेर किन भेट्ने ? नियमसंगत कम्पनी सञ्चालन गरेमा विभिन्न मन्त्रीकहाँ डेलिगेसन गइरहनु पर्दैन ।

अहिलेको अवस्थामा पर्यटकलाई सेवा दिने हेलिकप्टर र दुर्गम उड्ने साना जहाजलाई समस्या पर्न सक्छ । किनकि उनीहरुको आम्दानीको ७० प्रतिशत भार विदेशी डलरमै थियो । तर, सुगम रुटमा उड्ने वायुसेवालाई समस्या हुँदैन । हामी फेरि सजिलै आकाशको बाटो समात्न सक्छौं ।

तर, एउटा विषय भने राज्यले सच्चाउनै पर्छ । त्यो हो, हवाई इन्धनमा आयल निगमले लिइरहेको अत्याधिक नाफा । नेपालमा आयल निगमले प्रति लिटर ५ रुपैयाँ, १० रुपैयाँ होइन प्रति लिटर ३३ रुपैयाँ नाफा उठाइरहेको छ । यो सच्याउनै पर्छ । लिटरमा ५० प्रतिशत पनि कतै नाफा हुन्छ ? हामी वायुसेवा कम्पनीहरुका लागि राज्यले यति सच्चाइदिए पुग्छ । ६५ रुपैयाँमा बिक्री भइरहेको हवाई इन्धनलाई ४५ रुपैयाँसम्ममा झार्नुपर्छ ।

यो सुधार हुने बित्तिकै हवाई सेवामा मध्यम वर्गको पहुँच सजिलै हुनेछ । कतिपय सेक्टरमा ‘लक्जरी–बस–भाडा’ कै हाराहारीमा ‘एयर–फेयर’ आउने छ । यसो हुँदा यात्रुको संख्या बढ्छ । ४ घन्टामात्रै उडिरहेका जहाज दैनिक ७ घन्टासम्म संचालनमा आउने छन् । यसले हामीलाई फाइदा त हुन्छ नै राज्यलाई पनि प्रत्यक्ष कर, दस्तुरबाट राजश्व बढाउन मद्दत पुग्ने छ भने अप्रत्यक्ष फाइदाको सूची लामै हुनेछ ।

त्यसैले लकडाउनले हामीलाई निराश बनाएको छैन । देश अवश्य रिस्टार्ट हुनेछ, भोलीका दिनलाई हामी विविधतापूर्वक चलायमान बनाउने उपाय हेरिरहेका छौं । हामी सुनौला दिन देखिरहेका छौं ।

(बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतसँग ईकान्तिपुरका लागि सुरज कुँवरले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित : जेष्ठ २४, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?