१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जसले क्वारेन्टाइनमै बुबा गुमाए

भोकभोकै पैदल हिँडेर आएका गाउँवासीको स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राखेको भए वा गुलरिया नगरपालिकाले क्वारेन्टाइनमा निर्देशिकाअनुसार सुविधा व्यवस्था गरेको भए जोद्धीप्रसादको सायदै प्राण जान्थ्यो ।
मृत्युको जिम्मेवार को हो भनेर न गरिबी, अभाव र कमजोर चेतनास्तर भएको समुदायमा हुर्किएकी नन्नकई कसैलाई सोध्न सक्छिन् न बाबुको हात पक्रेर अछाममा पसिना बगाउन गएका प्रल्हाद र विष्णुले नै सोध्न सक्छन् ।

बर्दिया — गुलरिया नगरपालिका-९ को गोडियनपुरमा शुक्रबार बिहान पुग्दा नन्‍कई गुडियाको झुप्रोको छानाबाट बलेसीमा पानी तप्किरहेको थियो । लकडाउनका बेला पनि गुडियाको सडकसँगै जोडिएको झुपडीबाहिर झरीको पर्बाह नगरी केही मानिस ओहोरदोहोर गरिरहेका थिए ।

जसले क्वारेन्टाइनमै बुबा गुमाए

एक आफन्तीले गुलरिया बजारबाट पुरी पकाउन भन्दै २४ सय रुपैयाँको तेल किनेर ल्याए । छिमेकीले नजिकैको गाउँंबाट १५ किलो आलु किनेर ल्याइदिए । सोयाबिन र भिन्डी भने साँझसम्म जम्मा पार्ने योजना बन्दै थियो । कोरोना कहर र जारी लकडाउनले सबैको जीवन बिथोलिएका बेला कम्तीमा ५० जनालाई खुवाउनुपर्ने बाध्यता नन्नकईलाई आइपरेको छ । १० दिनअघि क्वारेन्टाइनमै ५५ वर्षीय श्रीमान् जोद्धीप्रसादको मृत्यु नभएको भए उनलाई यस्तो बाध्यता माथिको बाध्यता आइपर्ने थिएन । भोकले रन्थनिएर मरेका श्रीमान्को मृत्यु संस्कार पूरा गर्नका लागि उनी ऋणधन गरिरहेकी थिइन् ।

जोद्धीप्रसादको मृत्युको कथा जान्नुअघि चैत ६ गतेसम्म पुग्नुपर्छ । त्यही दिन उनी आफ्ना २२ वर्षीय माइलो छोरा प्रल्हाद र २० वर्षीय कान्छो छोरा विष्णु र आफ्ना दुई भाइलाई लिई ट्याक्टर चढेर अछामको साफेबगर पुगे । छिमेकी गाउँ खैरीका पेटी ठेकेदार बदलु कुुछबधियाले उनीसहित गोडियनपुरका १२ र छिमेकी गाउँ खैरीका ४ जनालाई एक महिनाका लागि भन्दै साँफेगरमा सडक पिच गर्न लगेका थिए । तर उनीहरु पुगेकै पाँच दिनपछि लकडाउन सुरु भइहाल्यो ।

बचनको पक्का बनेर दैनिक ६ सय रुपैयाँ ज्यालामा तीन बाबुछोराले बीचका केही दिन खाली बसे पनि पूरापुर एक महिनासम्म काम गरे । एक महिना बितेपछि पनि ठेकेदारले घर पठाउने कुरै गरेनन् । लकडाउन र कोरोना संक्रमणको डर सबैतिर बढेकाले तीनै बाबुछोरालाई नन्नकई र जेठा छोरा शैलेन्द्रले घर आउन भनिरहेका थिए । धानको बीउ राख्ने दिन नजिकिएकाले पनि जोद्धीप्रसाद घर जान हतारिएका थिए । भोलिभोलि भन्दाभन्दै ठेकेदारले भने कहिले ढुंगा फोर्ने त कहिले दाउरा जम्मा पार्ने काममा लगाइरहे ।

जोद्धीप्रसादका कान्छा छोरा विष्णु र माइला छोरा प्रह्लाद तस्बिर : अंगद ढकाल/कान्तिपुर

अब ठेकेदारले घर नपठाउने भयो भन्ने निष्कर्षमा पुगेपछि जोद्धीप्रसाद दुई छोरा र अन्य १३ जनासहित वैशाख ९ गते पैदलै घर हिँड्न कस्सिए । बाबुसँगै आएका माइलो छोरा प्रह्लादले गाउँलेसँग सोधेर जंगलै जंगल साढे तीन दिन हिँडेर अत्तरियासम्म आएको बताए । उनका अनुसार करिब ३० घण्टा हिँडाइमा उनीहरुले मुस्किलले तीन छाक खाएका थिए । उनले भने, ‘बाटोका एक जनाले २/२ वटा चाउचाउ र एउटा बिस्कुट दिएका थिए ।’ त्यसबाहेक उनीहरुले बेलाबेलामा सेती नदीको पानी पिए पनि अरू अन्न उनीहरुको मुखमै परेन ।

अत्तरिया आएपछि उनीहरुले गाउँसम्म लैजाने बस भेटिएको तर आफूहरुसँग भाडा नभएको खबर पठाए । १३ गते राति ९ बजेतिर उनीहरु प्रतिव्यक्ति चार सय तिर्ने सर्तमा २ सय किलोमिटर दूरी छिचोलेर गुलरिया आइपुगे । गाउँबाट एक जनाले जम्मा पारेर ल्याएको पैसाले गाडीभाडा बुझाए । कान्छा छोरा विष्णुका अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाअगाडि झरेर तीन घण्टा कुरेपछि उनीहरुलाई नगरपालिकाले टिपरमा चढाएर नजिकैको बबई बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा पुर्‍यायो । प्रह्लादका अनुसार क्वारेन्टाइन पुग्नुभन्दा एक दिन अघिदेखि बाबुले केही खाएका थिएनन् ।

मध्यरातमा क्वारेन्टाइनमा पुर्‍याएपछि पनि उनीहरुलाई सन्चो/बिसन्चो र खाए/नखाएको सोध्ने कोही भएन । प्रह्लादले क्याम्पसको एउटा कोठामा भुइँमा सुत्ने व्यवस्था मिलाइएको र आफूहरुले लगेकै कम्मल ओछ्याएर बीचमा बाबु र दुई छेउमा आफूहरु सुतेको बताए । बाबुको दायाँपट्टि सुतेका विष्णुका अनुसार राति साढे २ बजेतिर बाबुले पानी मागेका थिए । त्यसपछि धाराबाट बोतलमा पानी ल्याएर दिईवरी उनी सुतेका थिए ।

कैयौं घण्टा लगातारको हिँडाइ र भोकले चुर भएका उनी बाबुलाई पानी दिएपछि कतिबेला निदाए पत्तै पाएनन् । प्रह्लादका अनुसार बिहान ६ बजेतिर ब्युँझिँदा उनका बाबु उठीवरी कम्मलको एक छेउमा टुक्रुक्क बसिरहेका थिए । शौचालय गएर आएका प्रह्लादलाई देखेपछि जोद्धीले पेटमा जलन भएको बताउंँदै पानी मागेका थिए । प्रह्लादले धाराबाट पानी ल्याएर दिए । बोतलको पानी ठाडो घाटी लगाएर घटघटी पिएलगत्तै उनी लर्‍याकलुरुक भए । आफ्नै टाउको पनि अड्याउन सकेनन् । प्रह्लाद र विष्णुले बाबुलाई त्यस्तो हालतमा देखेपछि वरिपरिकासँग गुहार मागे । उनले नजिकै रहेका प्रहरीलाई पनि अस्पताल लगिहाल्न गुहारे । तर प्रहरीले पनि तुरुन्तै एम्बुलेन्सको प्रबन्ध गर्न सकेन ।

आधा घण्टापछि एम्बुलेन्स आयो । जोद्धीले सकीनसकी बाबुलाई घिसारेर एम्बुलेन्समा हाले र जिल्ला अस्पताल गुलरिया पुगे । उनलाई एक कर्मचारीले भने, ‘तिमी बाहिरै बस । बाबुको जाँच भित्र हुन्छ ।’ उपचार होला र बाबुको होस फर्किएला भन्ने आशमा बसेका प्रह्लाद त्यतिबेला भावशून्य भए, जतिबेला एक कर्मचारीले उनलाई भित्र बोलाएर बाबुलाई फ्रिजभित्र हाल्न भने । बाबुले संसार छोडिसकेछन् !

भोलिपल्ट अर्थात् १५ गते पीसीआर परीक्षणमा कोरोना नेगेटिभ भएको रिपोर्ट आएपछि प्रह्लाद र विष्णुले बाबुको शवलाई ट्याक्टर हालेर दाहसंस्कार गर्न गाउँ ल्याए । प्रह्लादले चोरऔंलाले नजिकैको आँप बगैंचा देखाउँदै भने, ‘हो त्यहीनेर हो बाबुलाई मिट्टी दिएको ।’

बाबुको मृत्यु के कारणले भयो र किन भयो भनेर उनीहरुलाई कसैले बताएनन् न उनीहरुले नै कसैसँग सोध्ने हिम्मत गरे । गोडियानपुरका वडाध्यक्ष हरिप्रसाद पासवानले कान्तिपुरसँगको कुराकानीमा जोद्धीको मृत्यु किन भयो भनेर आफूलाई पनि कसैले नभनेको बताए । उनले भने, ‘त्यतिका दिनदेखि लगातार हिँडेर आयो । खान पनि पाएन । अनि त भोकले मरिगयो ।’ वडाध्यक्ष पासवानका अनुसार अत्तरियाबाट आएकै रात केही खान दिन सकेको भए वा भोलिपल्ट बिहान पनि बेहोस हुनेबित्तिकै अस्पताल पुर्‍याउन सकिएको भए जोद्धीलाई बचाउन सकिथ्यो ।

बाबु गुमाएपछि प्रह्लाद र विष्णुले झनै हैरानी खेपे । सुरुमा त गाउँमा जोद्धीको मृत्यु कोरोनाकै कारण भएको हल्ला चल्यो । कोरोना सर्ने डर फैलिएपछि प्रह्लाद र विष्णुले घरछेउैको जंगलमा बसेर किरिया कर्म गरे । जेठा छोरा शालिकराम र नन्काईले भने घरमै बसेर किरिया गरे । नगरपालिकाका कर्मचारीले जोद्धीको मृत्युपछि प्रह्लाद र विष्णुको पनि स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेका थिए । विष्णुले बाबुको मृत्युको १० दिनपछि बिहीबार मात्रै आफूहरुको आरटीडी परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको सुनाए ।

गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरीले जोद्धीको मृत्युलगत्तै क्वारेन्टाइन अनुगमन गरिएको बताइन् । जोद्धी बिमारी रहेकोबारे क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी जानकार भएको तर पीपीई सेटको अभावमा उनलाई छुन डराएको र कसरी अस्पताल लैजाने भन्ने प्रश्न उब्जिएको बताइन् । कान्तिपुरसँग नगरपालिकाका स्वास्थ्य प्रमुख सुनिल पाण्डेले भने, ‘जोद्धीलाई पहिलेदेखि नै अलिअलि दमको समस्या थियो । पीपीई सेट नभएकाले समयमै अस्पताल पुर्‍याउन नसकिएको भने सत्य हो ।’

बाबुको मृत्युको जिम्मेवार को थियो भन्ने गह्रौं प्रश्न गर्न सक्ने अवस्थामा प्रह्लाद र गुडिया दुवै छैनन् । बरु उनीहरुसँग अढाई महिनाभर बाबुसहित तीन जनाले काम गरेको ५४ हजार ज्यालामध्ये बाँकी ४३ हजार ठेकेदारबाट कसरी असुल्ने भन्ने चिन्ताले सताएको छ । जोद्धीसहितलाई काममा लैजाने पेटी ठेकेदार बदलु पछुवनियाले लकडाउनका कारण ठेकेदार पनि समस्यामा रहेको र उनीहरुको बाँकी पैसा नदिने भन्ने आफ्नो मनसाय नरहेको जिकिर कान्तिपुरसँग गरे । जोद्धीसहितका कामदार ठेकेदारको कुरा नसुनेर भोकभोकै हिँडेको उल्लेख गर्दै भने, ‘ठेकेदारले हिजो मात्रै केही पैसा पठाएको छ । लकडाउनले त्यो पैसा पनि उनीहरुलाई दिन पाएको छैन ।’

जोद्धीप्रसादकी श्रीमती नन्कई र जेठा छोरा शालिकराम तस्बिर : अंगद ढकाल/कान्तिपुर

ठेकेदारले सबै ज्याला मात्रै भुक्तान गरेको भए पनि नन्काईलाई श्रीमान्को काजकिरिया उम्काउन सजिलो हुने थियो । किरियाकर्म उम्काउने ११ औं दिनमा उनीहरुको संस्कारअनुसार आफन्ती सबैलाई बोलाएर खुवाउनै पर्छ । घरमै मान्छे बोलाएर छोराहरुको कपाल खौरिनुपर्छ । प्रह्लादका अनुसार कपाल काट्ने, विधि पूरा गर्ने पण्डित र भोज सबै गरेर ५० हजार जति खर्च हुने अनुमान गरिएको छ । नन्काईका कमजोर आर्थिक अवस्था देखेर छिमेकीहरुले केही सरसहयोग गरे पनि त्यतिकै भरमा उनीहरुले भोक र सुलभ उपचारको अभावमा मरेका बाबुको किरियाकर्म उम्काउन सक्ने देखिन्न ।

जोद्धीको मृत्युमा को जिम्मेवार ?

जोद्धीको मृत्युमा प्रशासन, स्थानीय जनप्रतिनिधि, ठेकेदार वा पेटी ठेकेदार को जिम्मेवार होलान् ? कान्तिपुरले जोद्धा मृत्यु प्रकरणको पहेली बुझ्न् सुरुमा गुलरियाका पेटी ठेकेदार बबलु कुछबधियालाई सम्पर्क गर्‍यो । बबलुका अनुसार अछामको चौखुट्टेबाट साँफेबगरबीचको सडकमा खाल्डाखुल्डी पुर्न गत मंसिरमा सेविका कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङले करिब १७ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

मंसिरमा ठेक्का पाए पनि सेविकाले फागुन पहिलो साता मात्रै काम सुरु गर्‍यो । कन्स्ट्रक्सनका अध्यक्ष युवराज उपाध्यायले पुस र माघमा चिसो भएकाले काम सुरु गर्न नसकिएको र फागुनमा सामान जम्मा पारेर चैतमा काम थालेको बताए । कम्पनीले लक डाउनको मुखमा मात्रै काम सुरु गर्दा फन्दामा जोद्धीजस्ता कामदार परे ।

सेविका कन्स्ट्रक्सनका सहायक इन्चार्ज भरत शाहले उक्त सडक निर्माणका निम्ति कामदार खोज्ने जिम्मा बबलुलाई दिएका थिए । उनले कामदार खोज्ने बेला नै बबलुलाई सुरुमा १ लाख, पछि ५० हजार र एकचोटि २५ हजार पेस्की दिएको दाबी गरे । प्रह्लाद र विष्णु भने दुईचोटि गरेर आफूहरुले ११ हजार मात्रै पाएको बताउँछन् ।

भरतले सुरुमा लकडाउन खुलिहाल्ला भनेर कामदारलाई राखिएको तर पछि बारम्बार लकडाउन थपिएकाले कामदार साँफेबगरमै रोकिएको बताए । सेविका कन्स्ट्रक्सनका अध्यक्ष उपाध्यायले सुरुमा काम रोकिए पनि बीचमा प्रशासनबाट पास निकालेर ११ दिन काम गराएको बताए । लकडाउन लम्बिँदै गएपछि आफूले कामदार पठाउन जिल्ला प्रशासन कार्यलयसँग चार चोटिसम्म पास माग्न गए पनि नपाएको सुनाए । सहायक इन्चार्ज शाहले भने जिल्ला प्रशासनसँग पास मागेका बेला बर्दियास्थित जिल्ला प्रशासनबाट अनुमति नलिई पास दिन नमिल्ने बताएकाले कामदार पठाउन नसकिएको बताए । ‘मैले बर्दिया जिल्ला प्रशासनबाट पनि ती कामदार ल्याउने पास निकाल्ने खोजेको थिए । तर हाम्रो पहुँच नै पुगेन,’ उनले भने ।

धानको बीउ राख्ने बेला भइसकेको र लकडाउन लम्बिँदै जाँदा संक्रमणको डर बढेकाले कामदारहरु घर फर्किन आत्तिइरहेका थिए । जिल्ला प्रशासनले अड्को थापेर समयमै पास नदिएपछि कामदारहरु भागेको कन्स्ट्रक्सनका अध्यक्ष उपाध्यायले बताए । उनले भने, ‘कामदार भागेपछि मैले प्रहरीमा पनि जानकारी गराएँ ।’ पैदल नै भागेका कामदारलाई प्रहरीले किन समातेन त ? जवाफमा उनले भने, ‘त्यही त किन समातेन ? उनीहरु जंगलै जंगलको अप्ठ्यारो बाटो भएर गएजस्तो छ ।’

अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जोद्धाको मृत्युमा अछाम जिल्ला प्रशासन कार्यालय जिम्मेवार छ कि छैन भन्ने विषयमा प्रतिक्रिया दिन इन्कार गरे । उनले यति मात्रै भने, ‘यो प्रतिक्रिया दिने विषय नै होइन ।’

पेटी ठेकेदार बबलुले उनीहरुले जम्मा ३० दिन काम गरेको र प्रति दिन ६ सयका दरले जनही १८ हजार पाउनुपर्ने बताए । कान्तिपुरसँग सम्पर्कमा आएका कामदारहरुले भने आफूहरुमध्ये १ जनाले ७ हजार, १ जनाले ५ हजार र अरूले जनही ४ हजार मात्रै पाएको बताए ।

कन्स्ट्रक्सनका अध्यक्ष उपाध्यायले कामदारलाई ज्याला दिने जिम्मा पेटी ठेकेदारको भएको बताए । उनले काम सकिए पनि सडक डिभिजन कार्यालयबाट पूरै पैसा नपाएको उल्लेख गर्दै कामदारको पूरै ज्याला नदिइएको स्विकारे । उनले भने, ‘काठमाडौंमा रहेका सडक डिभिजन प्रमुख लकडाउनका कारण आउन नसकेरै पैसा नपाएको हो । निकासा हुनेबित्तिकै रकम दिइहाल्छौं ।’ उनले कामदारको मृत्यु भएको सुनेपछि आफूले केही दिनअघि मृतकको परिवारका नाममा ५० हजार रुपैयाँ पठाएको बताए । तर शुक्रबारसम्म परिवारले पैसा पाएका थिएन । बबलुले भने लकडाउनका कारण बिहीबार मात्र पैसा निकालेको जनाउँदै गाउँमा गएर बाँड्न नसकेको बताए । ‘कामदारको पैसा ठेकेदारबाट लिएर दिइहाल्छु । नदिने त कुरै हुँदैन,’ उनले भने ।

अछामस्थित जिल्ला प्रशासनले कामदारहरुलाई घर फर्किन सहजीकरण गरिदिएको भए वा ठेकेदारले त्यसका निम्ति बलियो पहल गरेको भए सायद जोद्धाको ज्यान जाने थिएन । भोकभोकै पैदल हिँडेर आएका गाउँवासीको स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राखेको भए वा गुलरिया नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन निर्देशिकाअनुसार सुविधा व्यवस्था गरेको भए पनि जोद्धाको सायदै प्राण जान्थ्यो । तर यी प्रश्न न गरिबी, अभाव र कमजोर चेतनास्तर भएको समुदायमा हुर्किएकी नन्नकई कसैलाई सोध्न सक्छिन् न त ५ कक्षाको पढाइ छाडेर भारतको राजकोटमा केही वर्ष काम गरी फर्केपछि बाबुको हात पक्रेर अछाममा पसिना बगाउन गएका प्रह्लाद र विष्णुले नै सोध्न सक्छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?