कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

क्वारेन्टाइनबाट परीक्षणबिनै घर पठाउने ?

लक्षण देखिएका संक्रमितलाई १४ दिन राख्‍ने, थप ३ दिनमा समस्या नआए घर पठाइने
लक्षण नभएकालाई १४ दिन राख्‍ने , तर परीक्षण नगरिने
अतुल मिश्र

काठमाडौँ — क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी घर पठाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने भएको छ ।

क्वारेन्टाइनबाट परीक्षणबिनै घर पठाउने ?

लक्षण नभएकालाई भने १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने गाइडलाइनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ ।’

सरकारले उपयुक्त मात्रामा पीसीआर परीक्षणको व्यवस्था नगरेपछि आफूअनुकूल गाइडलाइन बनाएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले दाबी गरे । ‘सरकारले आफ्नो अक्षमता लुकाउन आफ्नोअनुकूल गाइडलाइन बनाएको हो,’ उनले भने ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले यस्तो नीतिले संक्रमण झन् विस्तार हुन सक्ने चेतावनी दिए । ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने भनिरहेका छन्,’ उनले भने, ‘कुनै परीक्षण नगरी घर पठाउने वा हाललाई आरडीटी मात्रै गर्ने सरकारी निर्णयले संक्रमण अझ विस्तार हुनेछ ।’

स्वास्थ्य मन्त्रालयको दैनिक कोभिड अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले अधिकांश नयाँ संक्रमित क्वारेन्टाइनमा बसेको बताउँदै आएका छन् । ‘सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुष भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेपछि आरडीटी परीक्षणमा नेगेटिभ आउँदा घर फर्केका हुन्,’ डा. देवकोटाले शुक्रबारको अपडेटमा भने, ‘घर जाँदा मृत्यु भयो, पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकाले हाल मृत्यु हुनेको संख्या ११ पुगेको छ ।’ क्वारेन्टाइनमा आरडीटी गरेर नेगेटिभ रिपोर्ट देखिए घर पठाउने अवस्था कति जोखिमपूर्ण छ भन्ने यही घटनाले देखाउँछ । क्वारेन्टाइनमा गरिएको आरडीटी रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएको दोस्रो दिनमा ती पुरुषको मृत्यु भएको थियो ।

त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डा. विनोद यादवले अविश्वसनीय आरडीटी उपयोगले झन् समस्या आउने बताए । ‘सुर्खेतका ती व्यक्तिको एक्कासि श्वासप्रश्वासमा समस्या देखिएर मृत्यु भयो । पछि घाँटीको नमुना लिएर पीसीआर परीक्षण गर्दा कोरोना देखिएको हो,’ उनले भने । क्वारेन्टाइनमा रहेकाहरूलाई घर पठाउँदा कम्तीमा पीसीआर परीक्षण गरेर सक्रिय कोभिड नरहेको सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्रालयले हाल क्वारेन्टाइनमा रहेकाहरूको तत्काल आरडीटी परीक्षण गर्नेबारे जेठ १८ गते एउटा परिपत्रसमेत गरेको चिकित्सकहरू बताउँछन् । क्वारेन्टाइनमा रहेकाहरूको आरडीटी गर्दा नेगेटिभ आए घर पठाउने र पोजिटिभ आएमात्र पीसीआर परीक्षण गर्नेजस्तो दोहोरो परिपत्र गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । ‘क्वारेन्टाइनमा बस्नेहरूलाई पीसीआर नगरी छोड्नु नै भएन, त्यसमा पनि आरडीटीबाट परीक्षण गर्नु त झन् अवैज्ञानिक भयो,’ डा.उपाध्यायले भने, ‘क्वारेन्टाइनमा भएकाहरूलाई छाड्ने बेला म आफ्नो जिल्लामा पीसीआर परीक्षण नै गर्छु ।’

प्रदेश २ को सप्तरीमा समेत लकडाउनबीच भारतबाट आएकाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । त्यहाँका चिकित्सकहरू क्वारेन्टाइनमा बसेकालाई आरडीटी परीक्षण गरी घर पठाउन सहमत छैनन् । ‘सरकारको परिपत्र आए पनि क्वारेन्टाइनमा रहेकालाई आरडीटी गर्नु उपयुक्त मान्दैनौं,’ गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास भन्छन्, ‘ढिलो भए पनि भारतबाट आएका सबैलाई पीसीआर गरेर मात्र घर पठाउँछौं ।’ आरडीटी अविश्वसनीय भएकाले सीसीएमसीको बैठकमा समेत पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको उनको भनाइ छ ।

पश्चिममा भने क्वारेन्टाइनमा भएकाहरूका लागि आरडीटी परीक्षण गर्ने अवस्थासमेत छैन । स्थानीय स्वास्थ्यकर्मीहरूले टेलिफोनमा बताएअनुसार त्यहाँ हाल आरडीटीसमेत नगरी क्वारेन्टाइनबाट घर फर्काइएको छ । ‘पीसीआर परीक्षण गरेर घर फर्काउनु राम्रो भए पनि हाल आरडीटी परीक्षणसमेत नभइरहेको अवस्था छ,’ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘सुदूरपश्चिमको ९ जिल्लाका लागि एउटा पीसीआर मेसिनबाट एक दिनमा करिब २२० नमुना मात्र परीक्षण हुन्छ ।’

हाल १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका अधिकांश भारतसहित विदेशबाट आएका सम्भावित कोरोना संक्रमित भएकाले उनीहरूलाई घर पठाउँदा पीसीआर विधिबाट परीक्षण गरेर पठाउन विशेषज्ञहरूले सुझाव दिएका छन् ।

मृतकको संख्या ११ पुग्यो

शुक्रबार कोरोना भाइरसका २ सय ७८ जना नयाँ संक्रमित पुष्टि भएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । बिहीबार सुर्खेतमा २८ वर्षे युवकको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुने ११ जना पुगेका छन् । शुक्रबार पीसीआर विधिबाट ४ हजार २ सय ३२ नमुनाको परीक्षण भएको छ । हालसम्म ८८ हजार ३ सय ६६ नमुनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै आरडीटीबाट शुक्रबार ७ हजार ४ सय २ नमुनाको परीक्षण गरिएको छ । हालसम्म आरडीटीबाट परीक्षण गराउनेको संख्या १ लाख ३२ हजार ९ सय ६६ पुगेको छ ।

हाल ६८ जिल्लाका व्यक्तिमा कोरोना देखिएको छ भने ३ सय ३३ जना निको भएर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?