‘विदेशबाट कामदारको उद्धारमा रोजगारदातालाई नै जिम्मेवार बनाऔँ’- समाचार - कान्तिपुर समाचार

‘विदेशबाट कामदारको उद्धारमा रोजगारदातालाई नै जिम्मेवार बनाऔँ’

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारको सुरक्षा र सुरक्षित रुपमा स्वदेश फिर्ताको लागि रोजगारदाता र गन्तव्य देशलाई नै जिम्मेवारी बनाउनुपर्ने बताएका छन् ।

‘अलपत्र कामदारलाई उद्धार गर्न रोजगारदाता र गन्तव्य देशलाई नै जिम्मेवारी वनाउनुपर्छ । यदि त्यो नभएमा मात्रै सरकारले देशभित्र ल्याउनुपर्छ,’ प्रतिनिधि सभाको शनिबारको बैठकमा उनले भने,‘यो गम्भीरतालाई ध्यान दिन जरुरी छ ।’

कोरोना भाइरसको संक्रमणका कारण झन्डै १६ लाख नेपाली बेरोजगार बन्ने अवस्था रहेको पनि उनले बताए । ‘एकातिर नयाँ श्रम शक्तिको व्यवस्थापन र अर्कोतिर भइरहेको रोजगारबाट बाहिरिने संकट देखा परिरहेको छ । यसको व्यवस्थापन ज्यादै चुनौती भएकोले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेछ,’ उनले भने,‘रोजगारी सिर्जनाका लागि देशको आन्तरिक उत्पादनलाई संरक्षण गर्नुपर्छ ।’

सबैभन्दा धेरै घण्टा काम गर्ने ३८ प्रतिशत कामदार नै सबैभन्दा धेरै गरिब रहनु पनि दु:खद रहेको उनले बताए । ‘यस्तो विडम्बनापूर्ण अवस्थालाई सुल्टो बनाउनका लागि सामाजिक न्यायमूलक कार्यक्रम ल्याउन जरुरी छ,’ उनले भने ।

त्यस्तै काग्रेसकी छाया श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिला संग्रौलाले गरिब, असहाय व्यक्ति तथा श्रमिकहरु लकडाउनले गर्दा रोगले भन्दा भोकभोकै मर्ने परिस्थिति आएकाले भत्ता रकममा कटौती गर्न माग गरेकी छिन् ।

उनले ‘आफ्नो गाउँ, आफै बनाऔं’ र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले वास्तविक श्रमिकको हित गर्नुको सट्टा आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको आरोप लगाइन् । ‘यसले न त उत्पादन नै बढ्छ न त वास्तविक श्रमिकहरुले आत्मनिर्भर भई स्वरोजगारको बाटो अँगाल्न सक्दछन् । यसले अनियमितता बढाउनुका साथै काम गर्ने संस्कृतिलाई पनि निरुत्साहित गर्दछ,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

जनतालाई राहत दिन छोडेर सरकार कार्पेट फेर्दैछ : रिजाल 

'अर्थमन्त्रीको क्षमतामात्र होइन इमान्दारीमा पनि प्रश्न उठ्यो'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले जनताको अपेक्षाविपरीत सरकार चलेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले सरकारको काम कोरोना पीडित जनतालाई राहत दिनेमा भन्दा पनि विलाशितामा लागेको बताएका हुन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद रिजालले भने, 'अहिले जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा चिन्तित छ । मुलुक बाहिर बसेका नेपालीहरू कसरी देशमा पुग्ने भन्ने चिन्तामा हुनुहुन्छ । सरकारमा बसेकाहरू कसरी कार्पेटको व्यवस्था गर्ने हो भनी मस्त छन् ।'

कोरोना महामारीका बीच राष्ट्रपति कार्यालयमा कार्पेटलगायतका सामग्री खरिद प्रक्रिया अगाडि बढेको कुरा सार्वजनिक भएतर्फ संकेत गर्दै सांसद रिजालले थपे, 'कार्पेटको व्यवस्था गर्दैछ सरकार, अनि सत्तारुढ दलका अरु मानिसहरू सत्ताको बाँसुरी र सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्रोसँग बज्दछ भनि प्रयत्न गरिरहेका छन्।'

यो सबै सरकारमा रहेकाहरूमा इमानदारिता र क्षमता नभएकाले भइरहेको रिजालको भनाइ थियो । उनले बजेट आउनु पहिला विद्युतबाट चल्ने सवारी साधनलाई भन्सारबाट छोड्न दिएको घटनाले अर्थमन्त्री युवराज खतिवडाको क्षमता मात्रै नभई इमानदारितामा पनि प्रश्न उठेको बताए । 'सरकारमा इमान्दारिता छैन भन्ने प्रमाण सरकारले बिजुलीबाट चल्ने गाडीहरुलाई एकदिन अगाडि जसरी भन्सार नउठाई छाड्यो र कमाउने बाटोमा लाग्यो त्यसबाट पनि सरकारको इमान्दारितामा प्रश्न उठेको छ,' उनले थपे, 'क्षमताको मात्रै कुरा होइन इमान्दारिताको पनि कुरा हो ।'

मुलुकको अर्थतन्त्र सरकारले भनेझैं शिथिलमात्र होइन संकुचित भइरहेको भन्दै रिजालले यो वर्ष आर्थिक वृद्धिदर नकरात्मक हुने बताए । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्समा २० प्रतिशतले कमी आउने, खर्चयोग्य आम्दानी पाँच प्रतिशतभन्दा बढीले घट्ने भन्ने चिन्ता रहेको उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २४, २०७७ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×