१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सार्वजनिक स्थलमा मास्क लगाउन डब्लूएचओको सुझाव

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा मास्क लगाउन सुझाव दिएको छ । डब्लूएचओले नयाँ अध्ययनले ‘संक्रमण फैलाउन सक्ने छिटा(ड्रप्लेट)’ लाई रोक्ने देखाएको उल्लेख गर्दै सार्वजनिक स्थलमा मास्क लगाउन सबैलाई सु्झाव दिएको हो ।

सार्वजनिक स्थलमा मास्क लगाउन डब्लूएचओको सुझाव

यसअघि डब्लूएचओले स्वस्थ व्यक्तिले मास्क लगाउनुपर्ने ठोस प्रमाण नरहेको बताएको थियो । डब्लूएचओकी प्राविधिक विभागकी विज्ञ डाक्टर मारिया भान केरखोवले सर्वसाधारणलाई कपडाकै मास्क(फेब्रिक) मास्क भए पनि लगाउन सुझाव दिएको बताइन् ।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा उनले बिरामी र उनीहरुको हेरचाहमा संलग्न व्यक्तिले भने मेडिकल मास्क नै प्रयोग गर्नुपर्ने बताएकी छिन् । उनले सबै देशलाई सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्न पनि डब्लूएचओले सुझाव दिएको बताइन् ।

साथै मास्कले केही मात्रामा संक्रमण रोक्ने काम गर्ने भएकाले ‘मास्कले कोरोना रोक्छ’ भन्दै गलत सूचना प्रवाह नगर्न पनि डब्लूएचओले सुझाव दिएको छ । ‘मास्क मात्रैले तपाईँलाई कोरोना भाइरसबाट जोगाउँदैन,’ डब्लूएचओका महानिर्देशक डाक्टर टड्रोस अडहानोम गेहब्रेयससले भने ।

कहाँ-कहाँ छ मास्क अनिवार्य ?

केही देशले भने यसअघि नै सार्वजनिक स्थल र यातायातमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरेका छन् । बेलायतले जुन १५ तारिखदेखि सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने नियम लागू गर्ने भएको छ ।

सार्वजनिक यातायातका सवारी साधनबाट कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियाले मे २६ बाट ‘नो मास्क, नो राइड’ नियम लागू गरिसकेको छ ।

त्यस्तै सबैभन्दा पहिले मार्च महिनामै भेनेजुएलाले सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो । भियतनामले माचै १६ देखि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो ।

मार्च १८ देखि चेक गणतन्त्रले सुपरमार्केट, फार्मेसी र सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्क लगाउने नियम लागू गरेको थियो । सार्वजनिक स्थलमा मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम लागू गर्ने चेक गणतन्त्र पहिलो युरोपेली मुलुक हो ।

स्लोभाकियाले मार्च २५ देखि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो ।

त्यस्तै मार्च २९ देखि बोस्निया एन्ड हर्जगोभिनाले सर्वसाधारणलाई घरबाहिर निस्कँदा मास्क वा कपडाले मुख र नाक छोप्न अनिवार्य रहेको घोषणा गरेको थियो ।

कतारले अप्रिल २६ देखि सबै सरकारी र गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारी, सुपरमार्केटका कर्मचारी र ग्राहक सबैले मास्क लगाउनुपर्ने नियम लागू गरेको थियो । कतारले मे १७ देखि भने सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गऱ्यो । कतारमा सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई तीन वर्षसम्म जेल सजाय र ५५ हजार अमेरिकी डलरसम्म जरिवाना तिराइने नियम लागू गरिएको छ ।

त्यस्तै कोलम्बिया, युएई, क्युबा, इक्वेडर, अस्ट्रिया, मोरक्को, टर्की, एल साल्भाडोर, चिली, कयामरुन, केन्या, इजरायल, अर्जेन्टिना, जर्मनी, पाकिस्तानलगायतका ५० भन्दा बढी देशले सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?