१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारको नीतिले संघीयता धरापमा पर्‍यो : यादव

काठमाडौँ — समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै यादवले सरकारका नीतिले संघीयता धरापमा पर्ने जोखिम रहेको बताएका हुन् ।

सरकारको नीतिले संघीयता धरापमा पर्‍यो : यादव

‘प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, वन जंगल, उद्योग र गुठी लगायतका कुराहरू संघीय सरकारले आफैं सञ्चालन गर्ने हो भने संघीयता धरापमा पार्ने षडयन्त्र भएको स्पष्ट देखिन्,’ यादवले भने ।

ठूलो बलिदानबाट प्राप्त भएको संघीयता धरापमा पार्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै यादवले संघीयता धरापमा पार्ने षडयन्त्र भए मुलुक संकटमा पर्न सक्ने चेतावनीसमेत दिएका थिए । मुलुकको विकास गर्नका लागि सबै भूगोललाई सन्तुलित र न्यायोचित रुपले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

पूर्व-पश्चिम राजमार्गभन्दा दक्षिणतिर पनि नेपाली नागरिकहरूको बसोबास भएको उल्लेख गर्दै यादवले ती ठाउँहरूमा विकास निर्माणका काम अन्त्यन्त न्यून मात्रामा भएको र कहिले पनि प्राथकितामा नपरेको बताए ।

नेपाललाई अल्पविकसित देशको सूचीबाट उकास्न तराई क्षेत्रमा कृषिको आधुनिकीकरण र हिमाली तथा पहाडी क्षेत्रमा सन्तुलित विकास नगरी सम्भव नुहने भएपनि नीति कार्यक्रममा यी कुनै पनि विषय नसमेटिएको उनको टिप्पणी थियो ।

सरकारको असफल कुटनीति र अकर्मण्यताका कारण लिपुलेक, सुस्ता लगायतका नेपाली भूमि भारतीय अतिक्रणमा परेको यादवको भनाइ थियो । कुटनीति पहलबाट वार्ता गरी सीमा समस्या समाधान गर्न पनि उनले सरकारलाई सुझाव दिएका थिए ।

जनस्तरमा राहत पुग्नेगरी स्वास्थ्य, शिक्षा, कृषि र उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने भएपनि सरकरले आफ्नो पार्टीका कार्यकर्ता र आसेपासेलाई पालनपोषणमा अल्मल्याउने गरी नीति तथा कार्यक्रम ल्याएको यादवले बताए । अध्यक्ष यादवले नीति तथा कार्यक्रममा पुर्नविचार गरेर परिमार्जन गर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ४, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?