कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जनतालाई आज बाँच्‍न गाह्रो छ, सरकारले २०९९ मा के गर्ने भन्‍ने नीति ल्यायो : सांसद रिजाल

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सुरक्षा संवेदनशीलता ख्‍याल नगरी सांसदहरूलाई ३ घण्टा थुनेर राखियो

काठमाडौँ — जनताले वर्तमान समयमा भोगिरहेको कोरोनाको कहरलाई नजरअन्दाज गर्दै सरकारले सन् २०९९ मा के गर्ने भन्ने कुराबारे नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन् । 

जनतालाई आज बाँच्‍न गाह्रो छ, सरकारले २०९९ मा के गर्ने भन्‍ने नीति ल्यायो : सांसद रिजाल

सरकारले १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउने भनेपनि अहिले कृषिलाई कसरी अगाडि बढाउने भन्ने योजना नल्याएको, पानीजहाज, रेल, ठूला पूर्वाधारका कुरामा सरकारले जोड दिएको तर वर्तमानमा जनताले भोगिरहेका दुःखबारे केही नबोलेको रिजालको भनाइ थियो । 'नेपाली जनतालाई आज बाँच्न गाह्रो भएको छ, सरकारले २०९९ मा के गर्ने भन्नेबारे नीति तथा कार्यक्रम ल्याएको छ,' रिजालले आइतबारको प्रतिनिधिसभा बैठकमा भने । सरकार यस विषयमा संवेदनहीन बनेको उनको आरोप थियो ।

नीति तथा कार्यक्रममा उच्च आर्थिक वृद्धिदर हुन्छ भन्ने लेखिएकोप्रति आपत्ति जनाउँदै सांसद रिजालले वर्तमान अवस्थाको सही मूल्यांकन गर्न सरकारलाई सुझाव दिएका थिए । उनले भने, 'नीति तथा कार्यक्रममा उच्च आर्थिक वृद्धिदर हुन्छ भन्ने छ । ठूला ठूला डिङ हाँक्न बन्द गर्नुस् । स्वप्न द्रष्टा हुनुस् तर दिउँसै सपना नदेख्नुस् ।'

नीति तथा कार्यक्रम पूर्ण रूपमा पुनर्लेखन गर्न सांसद रिजालले सरकारलाई सुझाव दिएका थिए । नेपालको अर्थतन्त्रबारे संसदबाट संकल्प प्रस्ताव पास गर्नुपर्ने उनले बताए ।

२०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई सम्बोधन गर्ने शैली अनुचित भयो भनेर र २०७६ सालमा सरकारलाई सम्बोधन गर्ने शैली अनुचित भयो भनेर संशोधन प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै सांसद रिजालले अहिले भाषा र शैलीमा सुधार भएपनि नीति तथा कार्यक्रम आत्मबञ्चनाबाट मुक्त हुन नसकेको टिप्पणी गरेका थिए ।

उनले नीति तथा कार्यक्रम मुलुकको स्रोत र साधनले धान्न नसक्ने उच्च आंकाक्षाको दस्तावेज, उपदेशहरू भएको तथा संघीयतासम्मत नभएको टिप्पणी गरेका थिए । उनले कोरोनाले मुलुकमा सबैभन्दा ठूलो आर्थिक संकट उत्पन्न हुन सक्ने आँकलनका साथ अर्थतन्त्र पुनरुत्थानमा नीति तथा कार्यक्रम केन्द्रीत हुन नसकेको टिप्पणी गरे ।

नेपाली कांग्रेसका तर्फबाट सककारको नीति तथा कार्यक्रममाथि दर्ता भएको संशोधन प्रस्तावको प्रस्तावकको रूपमा धारणा राखेका सांसद रिजालले नीति तथा कार्यक्रमको बुँदा १ देखि २ सय ७६ सम्म नै संशोधन गरिनुपर्ने दाबी गरेका थिए । बुँदा नम्बर ११, १९ र २ सय ३१ मा उनले विशेष आपत्ति जनाएका थिए । गत वर्ष र यो वर्ष सरकारका नीति कार्यक्रकम 'केही उस्तै, केही दुरुस्तै' भएको टिप्पणी रिजालको थियो ।

संकटले अवसर पनि ल्याउने भन्दै उनले स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए । अरुलाई दोष पन्छाएर सरकार उम्कन नमिल्ने भन्दै जिम्मेवारी वहन गर्न सुझाव दिए ।

सांसद रिजालले भने, 'घूसका लागि मोलमोलाई गर्नेलाई पन्छाउन नपाउँदै स्वास्थ्य उपकरणमा अनियमितता गर्नेलाई व्यहोर्नुपर्छ यो सरकारले । देशको सीमाबारे जानकारी नहुनेले अन्तरवार्तामा हैरानीमा पर्नुपर्छ यो सरकार । अनि सीमा अतिक्रमण गरेर सडक बनाउन थालेको जानकारी नदिने व्यहोर्नुपर्छ ।'

कोरोनाको जोखिममा रहेका तथा लकडाउनले जनजीवन प्रभावित बन्दै जाँदा भोकै बस्न बाध्य भएकामा प्राण भर्ने आधार बनाउन सांसद रिजालले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । उनले भने, 'प्रधानमन्त्री ज्ञानी बन्नुहोस् । प्रधानमन्त्री नेपाली जनताका लागि ज्ञानी बन्नुहोस् । ज्ञानी बन्नुहुन्छ भन्ने आधारले तपाईंलाई जनताले मत दिएर यो ठाउँमा पुर्याएको हो । जनताको विवेकको अपमान नगर्नुहोस् ।'

लोकतन्त्रका अगाडि कुनै पनि विशेषण नराखी लोकतन्त्रको बाटोमा अघि बढ्न सरकारलाई रिजालको सुझाव थियो । सरकारले मुलुकमा राजनीतिक स्थायित्वका लागि पत्रकार र सञ्चार माध्यमलाई मर्यादित बनाउने भनेको उल्लेख गर्दै उनले सरकार स्वंयमलाई मर्यादित बन्न उनको आग्रह थियो । 'पत्रकार र सञ्चारजगतलाई मर्यादित र अनुशासित सरकारले बनाउनुपर्दैन । सरकार अनुशासित होस् । सरकार मर्यादित होस् । सरकारले पत्रकार र सञ्चार जगतको चिन्ता गर्नुपर्दैन,' उनकोफ भनाइ थियो ।

सीमा अतिक्रमणका बारेमा पनि सरकार गम्भीर र संवेदनशील हुन नसकेको आरोप रिजाको थियो । उनले भने, हाम्रो सीमा अतिक्रमण भएको छ । सरकारको नीति कार्यक्रम हेर्दा लाग्छ कि अब कागजको नक्सामा मात्रै सरकारले सीमा फर्काउँछ । साच्चै चाहीँ फर्काउन सक्दैन । त्यहीँ बहानाको लागि नीति कार्यक्रमको पुछारमा सीमा अतिक्रमणको विषयमा लेखिएको छ ।'

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सुरक्षा संवेदनशीलता ख्‍याल नगरी सांसदहरूलाई ३ घण्टा थुनेर राखियो

सांसद रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा शुक्रबार सरकार सांसदहरूको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन नसकेको आरोप लगाएका थिए ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत सावधानी अपनाउनुपर्नेमा सांसदहरूलाई ३ घण्टासम्म संसद भवनको बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएकोप्रति रिजालले आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०७७-०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा सांसद रिजालले सरकार संसद र सांसदप्रति जिम्मेवार नरहेको आरोप लगाएका हुन् ।

'झण्डै ३ घण्टा लगाएर सरकारको नीति र कार्यक्रम वाचन भयो । संवेदनशीलताको पराकाष्टा हो । संसदको सुरक्षा एउटा व्यक्तिको सुरक्षा होइन । मेरो व्यक्तिगत वा अर्को व्यक्तिको सुरक्षा होइन । एउटा मौरीमा फैलियो भने पुरै घारमा कोरोना फैलिन्छ,' रिजालले भने, 'यो संसद क्वारेन्टीनमा जानुपर्ने हुन्छ । संसद जनतालाई जनताप्रतिको जिम्मेवारी पुरा गर्ने ठाउँ हो । अनि यो ठाउँमा तीन घण्टा भन्दाबढी समयसम्म एकै ठाउँमा बन्द गरेर राख्ने ? यो भन्दा सरकारको संवेदनहीनता केही पनि हुन सक्दैन ।'

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ ४, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?