सरकारसँग जनताको पीडा बुझ्‍न सक्ने हृदय छैन : देउवा

जयसिंह महरा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् । उनले संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकार नीति तथा कार्यक्रममार्फत कोरोनाले पारेको क्षति र दुःखको सम्बोधन गर्न असफल भएको बताए । 

सरकारसँग जनताको पीडा बुझ्‍न सक्ने हृदय छैन : देउवा

सरकारको नीति तथा कार्यक्रमलाई कोरा कल्पनाको संज्ञा दिएका देउवाले नीति तथा कार्यक्रमले तीत सन्देश दिएको बताए । देउवाका अनुसार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका तीन सन्देशहरू यस्ता छन्, 'पहिलो सन्देश- सरकारलाई कोभिड १९ ले गरेको र गर्ने क्षतिबारे ज्ञान छैन, दोस्रो- सरकारलाई जनताको दुःखप्रति कुनै समवेदना छैन । जनताको पीडा बुझ्नसक्ने सरकारसँग हृदय छैन र तेस्रो- सरकारसँग अप्ठ्यारो बेलामा भविष्यका लागि जनता आश्वस्त बनाउने कुनै योजना छैन ।'

जनताले अहिलेको जटिल परिस्थितिमा सरकारबाट यस्तो नीति तथा कार्यक्रमको आशा नगरेको देउवाको भनाइ थियो । सरकारले ल्याउने नीतिले किसान, वैदेशिक रोजगारी गुमाएका, क्वारेन्टाइनमा अलपत्र, साँझ बिहान छाक टार्न मुस्किल परेका, मजदुर, विद्यार्थीको समस्या सम्बोधन गर्ने अपेक्षा राखेकोमा त्यसो हुन नसकेको उनले बताए । कोरोनाले प्रभावित भएका उद्योगीले सरकारबाट विशेष प्याकेज खोजेकोमा सम्बोधन हुन नसकेको देउवाले बताए । स्वास्थ्य क्षेत्रमा सामग्रीको अभाव अन्त्य गर्ने समुचित व्यवस्था गर्ने आश राखेकोमा त्यसो गर्न नसकेको देउको भनाइ थियो ।

सीमा बाहिर बिचल्लीमा रहेका र देशभित्र घरबाहिरको क्षेत्रमा बिचल्लीमा रहेका नागरिकलाई ससम्मान घर पुर्‍याउन नसकेको देउवाको भनाइ थियो । कोरोनाविरुद्ध लड्न सरकारले कुनै पनि तयारी नगरेको उनले बताए । नीति तथा कार्यक्रममा तिनका बारेमा ठोस योजनाको अभाव रहेको उनको धारणा छ ।

एकवर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर कोरा कल्पना देखिन्छ । एकवर्षे नीति तथा कार्उयक्रममा १० वर्षे योजना जस्तो देखिन्छ। जनतामा आश विश्वास जगाउन पूर्ण असफल देखिन्छ । पहिलो संक्रमित भेटिएको ४ महिना बितिसक्दा पनि सुरक्षित र विश्सनीय परीक्षण किटको व्यवस्था गर्न नसकेको, स्वास्थ्यकर्मीलाई पीपीई लगायतका सामग्री उपलब्ध गराउन नसकेको देउवाको भनाइ छ ।

सरकारले नीति तथा कार्यक्रममा आत्मप्रशंसा गरेको भन्दै देउवाले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत २ वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गर्दछु । सरकारका दुई वर्षका नीति तथा कार्यक्रम हेरेर लज्जित बन्नुपर्ने स्थिति छ ।'

वर्तमान सरकारले गत वर्षहरूमा ल्याएका नीति तथा कार्यक्रमका योजना पूरा नहुँदै तुहिएको देउवाको भनाइ छ । पुँजीगत खर्च न्यून भएका घटनाले सरकारले दाबी गरेको विकासको गति तीव्र भएको भन्ने कुरालाई गिज्याइरहेको उनले आरोप लगाए ।

गुरुयोजना नबनाइ कार्यक्रम ल्याएको भन्दै देउवाले भने, 'पुराना योजना पनि दोहोर्‍याउने र कोरोना महामारीविरुद्ध लड्न बजेट छुट्याउने हो भने कसरी स्रोत व्यवस्थापन गर्ने हो ?'

सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटना सार्वजनिक भएको अवस्थामा सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने जग हँसाउनु भएको देउवाको भनाइ थियो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको प्रधानमन्त्रीले नै ढाकछोप गरेको उनले आरोप लगाए ।

सरकारको नीति तथा कार्यक्रम समस्या समाधानउन्मुख नरहेको देउवाको टिप्पणी छ । देशमा धराशयी भएका उद्योग उकास्ने र विदेशमा रोजगारी गुमाएका नेपालीको समस्या समाधान गर्न नीति तथा कार्यक्रम असफल भएको, संघीयता कार्यान्वयनमा सरकार चुकेको पनि उनको भनाइ छ । त्यसरी धराशयी भएका उद्योगमा रोजगारी गुमाउनेलाई कसरी अर्को रोजगारी दिने भन्ने र उद्योगीहरूलाई कसरी राहत दिने भन्ने विषयमा नीति तथा कार्यक्रम नबोलेको देउवाको भनाइ छ ।

'नीति तथा कार्यक्रममा सबैभन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा केही पुराना योजनाको पुनरावृत्ति बाहेक नवीनतम योजना छैनन्,' देउवाले भने ।

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा राख्नु सकरात्मक भएपनि अपुरो भएको देउवाको भनाइ छ । त्यसमा चीनसँग वार्ता गर्ने योजना नरहेको देउवाको भनाइ थियो । 'चीनसँग पनि उच्चस्तरमा परीणाममुखी वार्ता गर्नुपर्छ,' देउवाले भने ।

एमसीसी जारी अधिवेशनमा पेश गर्न र पारित गर्न देउवाले माग गरेका छन् ।

वर्तमान नीति तथा कार्यक्रमले मुलुकलाई अग्रगामी दिशामा लैजानेमा देउवाले आशंका व्‍यक्त गरेका छन् । बजेट व्यवस्थापनमा ध्यान दिन उनले सुझाव दिएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?