भारतमा थप दुई साताका लागि लकडाउन

चौथो चरणको लकडाउनको स्वरुप तय हुन बाँकी
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथानका लागि भन्दै लकडाउनको अवधि ३१ मेसम्म थपेको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई थप १४ दिनका लागि बढाउने निर्णय गरेको हो ।

भारतमा थप दुई साताका लागि लकडाउन

गत ४ मेदेखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि आइतबार (१७ मे) मा पूरा भएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको शुक्रवार भिडियो कन्फरेन्समार्फत् विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग लकडाउन थप्ने वा नथप्ने सम्बन्धमा सम्वाद गरेका थिए । त्यसपछि शनिबार गृहमन्त्री अमित शाहले पनि राज्यका उच्च अधिकारीहरुसँग लकडाउनका विषयमा छलफल गरेका थिए । धेरैजसो मुख्यमन्त्रीहरुले संक्रमणको जोखिम कम नभएको हुँदा आर्थिक गतिविधिलाई क्रमश: सुचारु पार्दै लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव दिएका थिए ।

मुख्यमन्त्रीहरु दिएको तिनै सुझावका आधारमा लकडाउन लम्बाउने निर्णय गरिएको बुझिएको छ । त्यसो त लकडाउन केन्द्र सरकारले निर्णय गर्नुअघि नै कतिपय राज्यहरुले लकडाउन लम्बाउने निर्णय गरिसकेका छन् । महाराष्ट्र, तमिलनाडु, कर्नाटक, ओडिशा, पञ्जाब, बिहार, मिजोरमलगायतका राज्यहरुले यसअघि नै लकडाउनको अवधि बढाउने निर्णय गरिसकेका छन् ।

सोमबारबाट सुरु हुने चौथो चरणको लकडाउनको स्वरुप भने तय हुनै बाँकी छ । आइतबार रातिसम्म त्यसको टुंगो लाग्ने बताइएको छ । भारतले संक्रमणमा चीनलाई समेत उछिनेको छ । शनिवार साँझसम्ममा संक्रमितको संख्याले नब्बे हजार नाघिसकेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अहिलेसम्म पनि संक्रमतिको संख्या करिब ८४ हजार पुगेको छ । भारतमा पहिलो कोरोना भाइरसको संक्रमण चीनमा पहिलो संक्रमण पुष्टि भएको करिब अढाई महिनापछि मात्र जनवरी ३० मा देखिएको थियो ।

चीन कोरोनाविरुद्धको लडाइँमा केही हदसम्म सफल भइरहँदा भारतमा भने विगत केही दिन यता संक्रमणमा उच्च बृद्धि देखिएको छ । भारतमा पछिल्लो चौबीस घन्टामा पाँच हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी पहिचान भएका छन् । भारतमा हालसम्म दुई हजार ८ सय ९७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?