लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन समितिको सिफारिस, मन्त्रिपरिषद्‍ले निर्णय गर्ने

'लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको छ, थप कडाइ गर्नुपर्छ ।'

जेष्ठ ४, २०७७

बिनु सुवेदी

काठमाडौँ — कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।

कार्यदलले मन्त्रिषरिषद्‍मा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई समितिले पारित गरेको समितिका सदस्य एक मन्त्रीले बताए । 

देशका विभिन्न स्थानमा कोरोना स‌ंक्रमण देखिइरहेको र संक्रमितको मृत्युसमेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको उनले बताए । केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले लकडाउनबारे निर्णय गर्नेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउनको कुनै विकल्प नभएको निष्कर्ष निकालिएको बताए । 'लकडाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको छ । यसैले यसको विकल्प छैन । लकडाउनलाई थप कडा बनाउन सिफारिस गरिएको छ,' बिडारीले भने । उनका अनुसार परीक्षणको दायरा र स्वास्थ्यकर्मीको मनोबल बढाउने निर्णय पनि समितिले गरेको छ । 

चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ । 

बिनु

Link copied successfully