कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालगन्जमा समुदायमा संक्रमण

एकै दिन १५ संक्रमित भेटिए, उनीहरूको सम्पर्कमा रहेका ३५ जनाको स्वाब परीक्षण हुँदै

नेपालगन्‍ज, रुपन्देही — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्क (अन्सारी टोल) मा आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका ९० जनाको स्वाब शनिबार संकलन गरी भेरी अस्पतालस्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप व्यक्तिमा संक्रमण भेटिएको हो ।

नेपालगन्जमा समुदायमा संक्रमण

संकलन गरिएकामध्ये आइतबार साँझसम्म ५५ जनाको स्वाब परीक्षण भएको छ, अन्यको परीक्षण जारी छ । यससँगै नेपालगन्जको मध्य बस्तीमा संक्रमितको संख्या १६ पुगेको छ । एक महिनाअघि भारतबाट फर्किएका पहिलो संक्रमित महेन्द्र पार्कस्थित मस्जिदमा नमाज पढ्न र बालबालिकालाई उर्दू भाषा पढाउन तीन जना स्थानीय बासिन्दाको घरैमा जाने गरेका थिए । उनको घरबाट महेन्द्र पार्क पुग्न मिनार मस्जिद रोड, एमपी स्कुल, रानीतलाउ मोड, जोलहनपूर्वा हुँदै जानुपर्छ । नमाज पढ्न उनी दिनमै तीन/चारपटक जान्थे ।

पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् । संक्रमण भेटिएका कुनै व्यक्तिमा पनि कोरोनासम्बन्धी लक्षण देखिएको थिएन । लकडाउनको समयमा पनि उक्त बस्तीका बासिन्दा एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए ।

प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आइतबार १५ जनामा संक्रमण पुष्टि भएको बताए । ‘संख्या अझै बढ्न सक्ने देखिएको छ,’ उनले भने, ‘पहिलो चरणको परीक्षणमा ९ र दोस्रो चरणमा ६ जनामा पुष्टि भएको हो ।’

चिकित्सकले यहाँ कोरोना भाइरस समुदायस्तरमा फैलिएको जनाएका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा मेडिकल विभाग प्रमुख राजन पाण्डेले ‘कम्युनिटी ट्रान्समिसन’ भइसकेकाले तीव्र सतर्कता र कडाइ जरुरी रहेको बताए । ‘नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ उनले भने, ‘अब झन् खतरा भयो ।’ यहाँ भाइरस कुन चरणमा फैलिरहेको हो भन्ने विश्लेषण र पुष्टि गर्ने काम संघीय मन्त्रालयको भएको उनले बताए । संक्रमण पुष्टि भएका एकै घरका तीन जनासम्म छन् । शुक्रबार संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यको कोरोना जाँच हुन अझै बाँकी छ । उनीहरूलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।

नेपालगन्जका पहिलो संक्रमित एक महिनाअघि भारतको नानपाराबाट आएर क्वारेन्टाइनमा नबसी जबर्जस्ती घर गएका थिए । बिहीबार उनको स्वाब संकलन गरी जाँच गरेपछि शुक्रबार पोजिटिभ रिपोर्ट आएको हो । त्यसलगत्तै उनको परिवारका ६ जनासहित उनीहरूको सम्पर्कमा देखिएका ९० जनाको स्वाब संकलन गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले आइतबारको घटनाले महामारीको संकेत गरेको बताए । ‘यो घटना एक व्यक्तिबाट अर्कोमा सरेको देखिन्छ, संक्रमण पुष्टि भएका व्यक्तिले अन्य थुप्रैसँग सम्पर्क गरेका हुन सक्छन्,’ उनले भने, ‘त्यसैले अवस्था निकै जटिल बनेको छ ।’ संक्रमित वृद्धबाट अन्य व्यक्तिमा संक्रमण सरेपछि नेपालगन्जका बासिन्दा त्रसित बनेका छन् । यहाँका अधिकांश बस्ती झुरुप्प छन् । आइतबारका संक्रमितमध्ये एक जना सात वर्षीय बालकसमेत छन् । संक्रमित नेपालगन्जका विभिन्न स्थानमा धेरै जनासँग घुलमिल भएका व्यक्ति हुन् । लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । त्यसले छिमेकी जिल्ला पनि जोखिममा देखिएका छन् ।

‘एक जनालाई कोरोना पुष्टि भएपछि ९० जनालाई कन्ट्याक्ट ट्रेसिङ गरियो, १५ जनामा पुष्टि भएपछि फेरि उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं,’ प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले भने, ‘ट्रेसिङका लागि थप सुरक्षाकर्मी र जनशक्ति परिचालन गरिसकेका छौं ।’ शुक्रबार कोरोना पुष्टि भएका व्यक्ति भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोरोनाको संक्रमण देखिएका व्यक्तिलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने बताए ।

‘हामी तयारी अवस्थामा छौं,’ उनले भने, ‘५० जनालाई आइसोलेसनमा राख्न सक्ने अवस्था छ ।’ सात बेड आईसीयू छन् । स्वास्थ्य निर्देशक गिरीले संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना देखिएकाले थप जनशक्ति परिचालन गर्न लागिएको बताए । संक्रमित भेटिएपछि नेपालगन्जका चार स्थान शुक्रबारबाटै सिल गरिएको छ । नेपालगन्ज–५, डीएसपी रोड, वडा ८ महेन्द्र पार्क, धम्बोझी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘संक्रमितको संख्या थपिएसँगै थप कडाइ र सतर्कता बढाएका छौं,’ उनले भने, ‘परीक्षण किट र उपकरण पनि सरकारसँग माग गर्ने निर्णय भएको छ ।’

हामीलाई कोरोनाले झुक्यायो : डाक्टर थापा

संक्रमित बढेपछि नेपालगन्जका अधिकांश एम्बुलेन्स चालक सम्पर्कविहीन भएका छन् । आइतबार संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा पुर्‍याउनसमेत समस्या भएपछि प्रहरी र नेपाली सेनाका चालक प्रयोग गरिएको मन्त्री सुदर्शन बरालले बताए । ‘आजै आइसोलेसनमा पुर्‍याउँछौं,’ उनले भने, ‘समस्या समाधान र थप व्यवस्थापनका लागि हामी सोमबार बिहानै नेपालगन्ज जाँदै छौं ।’ संक्रमण थप बढ्ने संकेत देखिएकाले संघीय सरकारसँग मन्त्रालयले पनि आवश्यक उपकरण र परीक्षण किट माग गरेको उनले जानकारी दिए ।

स्थानीयद्वारा तगारो

नेपालगन्जमा एउटै टोलका १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले आफंै सतर्कता अपनाउन थालेका छन् । नगरका टोल–टोलमा उनीहरूले बाटोमा तगारो लगाएर आवतजावत बन्द गराएका छन् । यसअघि बिहान र साँझ अत्यावश्यक वस्तु किनमेल गर्न निस्किने सर्वसाधारण अहिले घरभित्रै छन् ।

मध्यसहरमा बसोबास रहेका व्यक्तिमा संक्रमण देखिएपछि यहाँ लकडाउन थप कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी खड्काले स्थानीय मस्जिदमा सुरक्षा कडा पारिएको बताए । यहाँ औषधि पसलबाहेकका सबै पसल बन्द गरिएको छ । शुक्रबार बिहान १० बजेबाट खाद्यान्न पसलसमेत बन्द गराइएको छ । शनिबारदेखि अन्सारी टोललाई नै क्वारेन्टाइनमा परिणत गरिएको थियो । सुरक्षाकर्मीले चारैतिरबाट पहरा दिएका छन् । टोलभित्र कसैलाई प्रवेश गर्न र टोलबाट बाहिरी सम्पर्कमा जान रोक लगाइएको छ ।

परिवारको रिपोर्ट नेगेटिभ

यसैगरी कोभिड–१९ पोजिटिभ देखिएका रूपन्देहीको कोटहीमाई गाउँपालिका–१, सिपवाका २५ वर्षीय युवाको परिवारका सबैको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ती व्यक्तिमा संक्रमण पुष्टि भएपछि उनलाई क्वारेन्टाइनमा पुर्‍याउने उनका दाजु, परिवार र उनको सम्पर्कमा रहेका तीन जना गरी १० जनाको शनिबार स्वाब संकलन गरिएको थियो । उनी भारतको दिल्लीबाट वैशाख ५ गते गाउँ आएका थिए । घर पुग्न नपाउँदै बाटोबाट दाजुले गाउँपालिकाको मझगवास्थित क्वारेन्टाइनमा पुर्‍याएका थिए । उनको सम्पर्कमा रहेका १० जनाको समेत स्वाब संकलन गरेर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनीसँगै क्वारेन्टाइनमा बसेका अन्य १३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबारबाट कोरोना परीक्षण रोकिएको छ । परीक्षणका लागि आवश्यक सामग्री अभाव भएपछि रोकिएको प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘उपलब्ध १० वटा किटले रूपन्देहीकै १० जनाको पीसीआर परीक्षण गरियो,’ उनले भने, ‘त्रासको सिर्जना भएपछि आइसोलेसनमा आउने बिरामीका लागि स्टक किट पनि यतै प्रयोग ग×र्‍यौं ।’ किट सकिएपछि परीक्षणका लागि स्वाब लिन बन्द गरिएको डा. गिरीले बताए । किट अभावले संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वास्थ्य परीक्षण हुन सकेको छैन । थ्रोट स्वाब संकलन गरेर काठमाडौं पठाइने र किट आएलगत्तै पुन: परीक्षण सुरु गर्ने डा. गिरीले जानकारी दिए । प्रयोगशालामा अहिलेसम्म ३ सय ३४ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित : वैशाख २२, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?