३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

हामीलाई कोरोनाले झुक्यायो : डाक्टर थापा

काठमाडौँ — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्क (अन्सारी टोल) मा आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 

हामीलाई कोरोनाले झुक्यायो : डाक्टर थापा

नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका ९० जनाको स्वाब शनिबार संकलन गरी भेरी अस्पतालस्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप व्यक्तिमा संक्रमण भेटिएको हो । यसै सन्दर्भमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापासँग मधु शाहीले गरेको कुराकानी :

कोरोना समुदायमा फैलिएको हो ?

हामीलाई कोरोना भाइरस (कोभिड–१९) ले झुक्यायो । हामीले लक्षण देखिएपछि मात्रै जाँच गर्ने तरिका अपनाएका थियौं तर अहिले जति पनि संक्रमित भेटिएका छन्, तिनमा कोरोनासम्बन्धी कुनै पनि लक्षण छैनन् । लक्षण नदेखिएकाले भाइरस समुदायमै फैलियो । अब यसको न्यूनीकरणका लागि हाम्रो ढाँचा परिवर्तन गर्न आवश्यक छ ।

अब कस्तो ढाँचा अपनाउँदै हुनुहुन्छ ?

हिजोसम्म हामीले आशंकित व्यक्तिलाई जाँच गरेका थियौं । अब पूरै समुदायलाई नै ‘क्लोज टेस्टिङ’ गर्नुपर्छ । यसरी परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अझै बढ्दै जाने पक्का छ । अहिले सबै एउटै टोलका संक्रमित छन् । त्यसैले संक्रमितको संख्या बढ्ने देखिएको छ । समुदायमा फैलिएको हुँदा तुलनात्मक रूपमा आजसम्मको नतिजा सामान्य नै हो ।

बाँकेलाई ‘डेन्जर जोन’ भन्नुभएको हो ?

हो, यो भुसको आगोजस्तो बन्यो । हामीले पत्तो नपाउँदै समुदायमा फैलिसकेको छ । यस हिसाबले बाँके जिल्ला उच्च जोखिममा छ । त्यसअनुसार नै संक्रमण रोकथामका रणनीति बनाउनुपर्छ । यसैलाई ध्यानमा राखेर पूर्वतयारीसहित स्वास्थ्यकर्मीले संक्रमित क्षेत्रमा खटिने मनसाय बनाएका छौं ।

अब कस्तो रणनीति हुन्छ ?

समुदायमा गएर सघन रूपमा ‘ट्रेसिङ’ गर्नुबाहेक अरू उपाय छैन । संक्रमितको सम्पर्कमा को–को आएका थिए, ती व्यक्तिको खोजी गर्दै स्वाब परीक्षण गरिनेछ । संक्रमितको उपचारमा ध्यान दिनेछौं ।

स्वास्थ्यकर्मीलाई कत्तिको जोखिम छ ?

अहिलेसम्म व्यक्तिगत सुरक्षा सामग्रीको अभाव छैन । मन्त्रालयबाट सोमबार थप आवश्यक सामान मगाएका छौं । पीपीई पनि उपलब्ध छन् तर संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्यकर्मीले मनोबल बढाएर काम सुरु गर्न थालेका छौं । त्यहीअनुरूप हामी तयार छौं । अब स्थानीय सबैको स्वाब परीक्षण गर्नुबाहेक उपाय छैन ।

सम्बन्धित समाचार

नेपालगन्जमा समुदायमा संक्रमण

प्रकाशित : वैशाख २२, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?