काठमाडौँ — कोरोना भाइरस(कोभिड-१९) को संक्रमण सुरु भएदेखि नै जनचेतना र पूर्वतयारीमा जुटेको नेपाल स्काउट यतिबेला राहत वितरण, रक्तदान र स्वाब ढुवानीमा खटिएको छ ।
कोरोना भाइरसका कारणले हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै उपत्यकामा उपलब्ध स्काउट लिडरहरुको बैठक बसेर कोभिड-१९ विरुद्ध जनचेतना अभियान चलाउन र पूर्वतयारीका गतिविधि सञ्चालन गर्न देशैभरिका जिल्ला स्काउट कार्यालयहरुलाई नेपाल स्काउटले परिपत्र गरेको थियो ।
नेपाल स्काउटमार्फत भक्तपुर खटिएको समूह सम्भावित संक्रमितको उद्धार र स्वाब संकलनमै खटिएको छ । भक्तपुर स्काउटका राजेश गाइजू, न्हुज किजू, अरुण सैंजू, र दीप थकू भक्तपुर अस्पताल परिसरमै त्रिपाल टाँगेर २४सै घण्टा बस्ने गरेका छन्। भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा उनीहरु कोरोना भाइरसका सम्भावित संक्रमितको सहयोगमा खटिरहेका छन् । सम्भावित व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पुर्याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि उनीहरुको स्वाब प्रयोगशालासम्म पुर्याइदिने काम उनीहरुले गरिरहेका छन् ।
मुलुकका विभिन्न स्थानमा हात धुने स्थान (ह्यान्ड वासिङ स्टेसन) सञ्चालन गरी मानिसहरुलाई साबुनपानीले हात धुने तरिका सिकाउनुका साथै जनचेतनामूलक सामग्री तथा स्यानिटाइजर वितरण गरेको पनि स्काउटले जानकारी दिएको छ । स्काउटले विभिन्न २९ जिल्लामा १२३ वटा यस्ता स्टेसन बनाएको छ ।
त्यस्तै विभिन्न ठाउँमा अलपत्र नागरिकलाइ पनि स्काउटले खाना उपलब्ध गराउँदै आएको छ । काठमाडौँस्थित चारुमती स्काउटको समूहले लकडाउनका कारण अलपत्र परेका र खान नपाएका मानिसहरुलाई दैनिक खाना खुवाउने अभियान चलाइरहेको छ । यस अभियानमा चाबहिल, मित्रपार्क र पशुपति क्षेत्रका करिब ५०० मानिसले खाना खाइरहेको नेपाल स्काउटले जनाएको छ ।
साथै उपत्यकाको चक्रपथ, बालुवाटार, भाटभटेनी, ज्ञानेश्वर, कमलादी, भद्रकाली, हनुमानढोका दरबार क्षेत्र, भक्तपुर, पशुपतिलगायत १०० बढी क्षेत्रका बाँदर, कुकुर, गाई गोरु, माछा र चराचुरुंगी लाई दैनिक रुपमा दाना खुवाउने कार्य गरिरहेको छ ।
त्यस्तै लकडाउनका कारण भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै स्काउटले आपत्कालीन रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । भक्तपुरस्थित पायोनियर ओपन स्काउट समूहले स्थानीय संघसंस्थाको सहयोगमा आपतकालीन रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । रक्तदान कार्यक्रममा अहिलेसम्म १०० भन्दा बढी दाताले रक्तदान गरेको र संकलित रगत भक्तपुर अस्पताललाई हस्तान्तरण गरेको नेपाल स्काउटले जनाएको छ ।
